देउवा पक्षको बहसपछि चिया ब्रेक, ओली पदमुक्त भइसकेको शम्भु थापाको जिकिर
काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक शेरबहादुर देउवा पक्षका दुई वरिष्ठ अधिवक्ताको बहसपछि चिया ब्रेक भएको छ ।
वरिष्ठ अधिवक्ता शम्भु थापा र महादेव यादवले बहस गरिसकेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा छन् । चिया ब्रेकपछि थप छलफल हुने इजलासबाटै न्यायाधीश ईश्वर खतिवडाले बताए ।
यसअघि बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता थापाले अन्तरिम आदेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नु पर्ने जिकिर गरेका थिए ।
थापाले राष्ट्रपतिले बनिसकेको सरकारको हत्या गरेको भन्दै धारा ७६ (४) बमोजिम विश्वासको मत नलिएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली स्वतः पदमुक्त भएको जिकिर गरे ।
थापाले भने, ‘३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा छ । विश्वासको मत पाउन सक्दिन भनिसकेकोले केपी ओलीजी पदमुक्त भइसक्नुभयो । ओलीजी विश्वासको मत नपाएकोले पदमुक्त अवस्थामा हो । संसदीय प्रजातन्त्र हाम्रो संविधानले रक्षा गरेको छ । धारा ७६ को व्यवस्थाले संसदीय व्यवस्थासंग जोडिएको छ । यो कार्यान्वयन नहुदा संविधान नै फेल हुन्छ ।’