भारतले लिपुलेक-मानसरोबर सडक विस्तार गर्दा नेपालतर्फको बाटो अवरुद्ध – Nepal Press

भारतले लिपुलेक-मानसरोबर सडक विस्तार गर्दा नेपालतर्फको बाटो अवरुद्ध

दार्चुला । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ ।

मंगलबार दिउँसो व्यास गाउँपालिका-२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा विस्फोट गराउँदा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको स्थानीयवासी मुकेश बुढाथोकीले जानकारी दिए । प्रहरी चौकी दुम्लीङबाट करिब २ सय मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ । भारतको सडक निर्माणका क्रममा आएको पहिरो नेपालतिर पुगेको हो । स्थानीय र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको घोरेटो बाटो पूर्णरूपमा भत्किएको छ । घोरेटो बाटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको बुढाथोकीले बताउनुभयो ।

भारतले धार्चुला लिपुलेक मानसरोवर सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ । भारतले सडक निर्माणका क्रममा अत्यधिक जिलेटिनको प्रयोग गर्ने भएकाले बेलाबेलामा नेपालतर्फको बाटो अवरुद्ध हुने गरेको छ ।

दुम्लीङदेखि बुदीसम्म भारतले सडक विस्तार र निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेर नेपालतिर क्षति पुर्‍याएको छ । ढुङ्गाहरु ठाउँठाउँमा नदीमा मिसिएर थुनिएका छन् । ठाउँठाउँमा भारतबाट आएका ढुंगा महाकाली नदीमा गएर नदीको धार परिवर्तन गरेको छ । अहिले मात्र नभई विगतदेखि नै भारतले सडक निर्माणका क्रममा नेपालतिरको भूगोलमा क्षति पुर्‍याउने गरेको छ । भारत सरकारले महाकाली नदी किनारै किनार भएर सडक निर्माण गरेको छ । यसबाट अधिकांश ढुङ्गाले नदी थुनिने र नेपालतिर क्षति पुर्‍याउने गरेको छ ।

भारतीयले सडक निर्माणका क्रममा ढुंगा आएर अवरुद्ध भएको छाङरु जोड्ने नेपालतिरको घोरेटो बाटो प्रहरी र स्थानीयवासीको सक्रियतामा निर्माण शुरु गरिएको छ । अवरुद्ध भएको १ सय ५० मिटर बाटो प्रहरी चौकी दुम्लीङका प्रहरी सहायक निरीक्षक जनकबहादुर सिंह तथा स्थानीयवासीको सक्रियतामा निर्माण शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिए । उनले भने, ‘हाम्रो सक्रियताले मात्रै पूर्णरूपमा सञ्चालन हुने अवस्था छैन तर पनि अस्थायीरूपमा मान्छे हिँड्डुल गर्न मिल्ने गरी काम हुँदैछ ।’ कल्जु तम्बाकु क्षेत्रमा घोरेटो बाटो अवरुद्ध हुँदा व्यासको छांगरु र तिंकर आवतजावतसमेत बन्द भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *