धारा ७६(५) निर्दलीय व्यवस्था होइन, एमालेका सांसद देखाएर देउवाको दावी पुग्दैन
संसद विघटनको विषय पहिले पनि संवैधानिक इजलासले नै निरुपण गरेको हुनाले कसले हेर्ने भन्नेमा अहिले धेरै ठूलो विवाद भएन । अघिल्लोपल्ट वृहत इजलासमा लैजाने कि संवैधानिक इजलासमा लैजाने भन्नेमा निकै लामो विवाद भएको थियो । यसपटक संवैधानिक इजलासको गठनमा विवाद भए पनि अरु कुरा भएन ।
शेरबहादुर देउवासहितले दायर गरेको रिटमा माधव नेपालहरुलाई कारवाही गर्न आँटे भन्दै कारवाही नगर्न माग गरेका थिए । तर, यस्तै विषयमा पहिले पनि रिट दायर भएको थियो। माधव नेपालहरुले केपी ओलीको विरुद्धमा मलाई कारवाही गर्न आँट्यो, त्यसलाई रोकिपाउँ भनेर रिट हालिएको थियो । त्यो मुद्दामा अन्तरिम आदेश भएन । न्यायाधीश प्रकाश ढुंगानाको इजलासबाट लिखित जवाफ पेस गर्न आदेश दिँदै अग्राधिकार दिइएको थियो । त्यसमा अन्तरिम आदेश जारी भएको छैन् भने त्यही विषय यो रिटबाट हेर्ने कुरा भएन । त्यसैले यो विषयमा अन्तरिम आदेशको कुनै सम्भावना रहेन ।
अबको फैसलाबाट धारा ७६ को थप व्याख्या हुने त छँदै छ । त्यससँगै नेपालको संविधान बमोजिम राष्ट्रपतिको अधिकार कति हो ? यसमा पनि परिभाषित गर्नुपर्ने अवस्था आयो । धारा ७६ को उपधाराहरु १, २, ३ र ५ को प्रयोग जुन छ, त्यो प्रयोग राष्ट्रपतिको स्वविवेकीय अधिकार हो कि या कुनै निकायको सिफारिसमा गर्नुपर्छ ? यसबारे पनि व्याख्या गनुपर्ने भयो ।
७६ (५)को अहिले जुन प्रश्न आएको छ, त्यसमा उपधाराहरु १, २ र ३ बमोजिम सरकार गठन हुन नसकेमा ७६ (२) बमोजिमको कुनै सदस्यले सरकार बनाउन सक्छु भनेर राष्ट्रपतिसमक्ष विश्वासिलो आधार प्रस्तुत गरेमा भनेको छ । यसले त्यो विश्वासिलो आधार भनेको के हो त्यो पनि व्याख्या हुने भयो ।
विश्वासिलो आधार पेस गरेमा भनिएको छ, त्यो आधार भनेको के ? जस्तै अहिले दुईटा कुरा पेस भए । एउटा कुरा, देउवाजीले सांसदहरुको हस्ताक्षर लिएर पेस गर्नुभयो । हस्ताक्षरमा पनि विवाद भयो । केही सांसदले मेरो त्यो हस्ताक्षर नै होइन भनेर विज्ञप्ति निकाले, राष्ट्रपति समक्ष निवदेन नै हाले । राष्ट्रपतिसमक्ष पठाइएका सांसदहरुको हस्ताक्षरसहित अदालतमा पनि निवेदन पेस भयो । देउवाले अहिले पनि बहुमत मेरो छ भन्नुहोला । तर, अहिले निवेदन दिँदा किन संख्या घट्यो ?
यता केपी शर्मा ओलीले दलीय सर्मथन पेस गर्नुभयो । संसदीय राजनीतिमा दलीय सर्मथन विश्वासिलो आधार हुन्छ कि संख्या त्यो पनि नेपाली कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदहरुको हस्ताक्षर । यो मान्य हुने किन नहुने भन्ने प्रश्न छ ।
कतिपयले धारा ७६ (५) मा सांसदहरुले स्वविवेकीय अधिकार प्रयोग गर्न सक्ने भनेका छन् । मेरो विचारमा यसमा उम्मेदवार चाहिँ निर्दलीय हुन्छ, तर सांसदहरुलाई दलको ह्वीप लाग्छ । एमालेका सांसद देखाएर दलको निर्णयबिना कुनै व्यक्तिले आफू प्रधानमन्त्री बन्ने दावी गर्न सक्दैन । संविधानको कुनै एउटा धाराले निर्दलीय व्यवस्था परिकल्पना गर्न सक्दैन ।
यहाँनिर एउटा तर्क भोट हालिसकेपछि दलीय ह्वीप लाग्छ भन्ने कुरा आयो । तर, यहाँ भोट हाल्नु भन्दा पहिले नै अन्य दलको उम्मेदवारलाई सर्मथन गर्नेलाई कारवाही गर्छाैं भनिसक्यो । निवेदन दिइसकेका थिए ।
राष्ट्रपतिले दुईटै दावी मिलेन भन्नुभयो । त्यो ‘जजमेन्ट’ नै भयो। उहाँ आफैले कोर्टको काम गर्नु भयो, आफैंले न्यायाधीशको काम गर्नुभयो । न्यायाधीश उहाँ हुनपाउनुहुन्न । उहाँले गरेको काम मिलेन भन्ने अर्को तर्क छ ।
यदि ७६ (५)को कुरा राष्ट्रपतिमा अन्तरनिहीत अधिकार हो भन्ने मान्छौं भने यसमा अदालतले हस्तक्षेप गर्नै पाउँदैन । त्यहाँ प्रवेश नै गर्न पाउँदैन । किनभने हाम्रो संविधानले राष्ट्रपतिले गरेका काम उपर कुनै पनि अदालतमा मुद्दा नचलाउने व्यवस्था गरेको छ ।
यदि यो कसैको सिफारिसमा गरेको हो भन्ने हो भने र अदालतले पनि त्यही व्याख्या गर्यो भने मुद्दा लाग्ने भयो । हेर्न सक्ने भयो । हैन, त्यो राष्ट्रपतिको अन्तरनिहीत अधिकार हो । त्यो कुनै पनि निकाय वा पदाधिकारीको सिफारिसमा गर्ने होइन, त्यो राष्ट्रपति आफैले गर्ने हो भन्न हो भने त्यहाँ मुद्दा लाग्न सक्ने अवस्था नै भएन । त्यो स्वतः खारेज हुन्छ ।
पहिले राजाकाजविरुद्ध मुद्दा लाग्दैन्थ्यो- संवैधानिक राजतन्त्रमा । त्यो विश्वव्यापी प्रचलन नै थियो । २०४८मा कल्याणविक्रम अधिकारीलाई फ्रान्सका लागि राजदूत नियुक्त गरियो । त्यो चाहिँ मन्त्रिपरिषद्को सिफारिस बेगर राजाले गरेका थिए । अहिलेका राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले त्यसविरुद्ध मुद्दा दायर गर्नु भएको थियो । कि हाम्रो सिफारिस वेगर भएको छ भनेर मन्त्रिपरिषद्ले फिर्ता बोलाउनुपर्यो होइन भने राजाविरुद्ध मुद्दा लाग्दैन भन्ने फैसला त्यतिबेला भएको थियो ।
नेपालको पहिलो राष्ट्रपति रामवरण यादवले रुक्मांगत कटुवाललाई थमौतीविरुद्ध मुद्दा पर्यो । त्यतिबेला सर्वोच्चले राष्ट्रपतिले गरेका काममाथि मुद्दा लाग्दैन, तर राष्ट्रपति कार्यालय उपरचाहिँ लाग्छ भनेर फैसला गरेको छ । त्यसपछि राष्ट्रपति कार्यालयलाई विपक्षी बनाउन थालियो ।
चार वटा रिटलाई छोडेर अरु सबै रिटमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेशको माग गरिएको छ। अदालतले प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने कुनै सम्भावना नै छैन । त्यस्तो अदालतले गर्नै सक्दैन ।
अदालतले निवेदको हकमै गर्नुपने भयो भने पनि यो विषयमा जे-जे बुझ्नुपर्ने छ बुझी पुनः निर्णय गर्नू भन्न सक्छ । अदालतले त्यस्तो फैसला गरेमा फेरि संसद पुनर्स्थापना हुन्छ । अनि राष्ट्रपतिका काँधामा अर्को दायित्व आउँछ ।
तर, दलीय व्यवस्थामा सांसदहरुले पार्टी र संसदीय दलको निर्णय भन्दा बाहिर गएर निर्णय गर्न पाउँदैनन् । ह्वीप उल्लघंन गर्ने बित्तिकै सांसद पद पनि जान्छ ।
धारा ७६(५) अनुसार सबै सांसदको व्यक्तिगत अधिकार हुन्छ, जसले जे गर्न पनि पाउँछन् भन्ने हो भने दलीय व्यवस्था नै समाप्त हुन्छ ।
समग्रमा हेर्दा, यसपालि जे फैसला आएपनि एकातिर राष्ट्रपतिको अधिकारबारे व्याख्या हुने भयो भने धारा ७६ को पनि थप व्याख्या हुने भयो।
(नेपाल बार एशोसियसिनका कोषाध्यक्ष अधिवक्ता पोखरेलसँग गरिएको कुराकानीमा आधारित)
Very well said