किसानका उत्पादन कुहिए खेतबारीमा, भारतीय तरकारी पुगे घरघरमा – Nepal Press

किसानका उत्पादन कुहिए खेतबारीमा, भारतीय तरकारी पुगे घरघरमा

रुपन्देही । कोरोना महामारी भएपनि हरेक परिवारका लागि दिनहुँ चाहिने अत्यावश्यक वस्तु हो तरकारी । तर यस्तो समयमा पनि किसानका उत्पादन बजारमा लैजान नदिएर स्थानीय सरकारले किसानका उत्पादनलाई बारीमै कुहाउन बाध्य पारेका छन् ।

कृषिमार्फत किसानलाई राहत दिन रुपन्देहीका धेरै स्थानीय सरकारले शुरु गरेका यस्ता योजनामा सहभागी भएका स्थानीय किसान आफ्नो उत्पादनले बजार नपाउँदा निरास भएका छन् ।

‘बजारमा रहेका आफ्ना आफन्तहरुले तरकारीको मूल्य सुनाउदा अचम्म परेको छु, मेरो बारीमा उत्पादन भएको तरकारी यसै खेर गएको छ, ३ किलोमिटरमा रहेको बुटवलको मुख्य बजारमा पुराउन पाइएको छैन’बुटवल उपमहानगरपालिका-१५ का किसान अमृत शर्मा बताउँछन् ।

‘विचौलियाका कारण हामी उत्पादन गर्नेले लागत मूल्य पाएका छैनौ, उता उपभोक्ताले तीनदोब्बर मूल्यमा खरिद गर्नुपरेको अवस्था छ, त्यसमाथि अहिलेको बन्दले त तयार भएका उत्पादन कतै पठाउनसमेत पाइएको छैन, सरकार अरु सबै छाडेर किसानको उत्पादनको बजारीकरणलाई ध्यान देऊ’ किसान अमृतले सुझाए ।

देवदह नगरपालिकाका किसान तिलोचन दाहालले पनि उस्तै पीडा सुनाउँछन् । ‘महामारीले किसानका उत्पादन खेतबारीमै सडाउनुपरेको छ, विचौलियाले यहाँको उत्पादन छाडेर भारतबाट अनेक बहानामा ल्याएर बजारमा पुराएका छन्, कोरोना किसानका उत्पादन बजारमा पठाउँदा लाग्दैन सबै स्थानीय सरकारले किसानको उत्पादनका बजारीकरणलाई तत्काल ध्यान दिन आवश्यक छ’ दाहालले भने ।

शुद्धोधन ३ का कृषक रामशरण लोध आफ्नो खेतमा उत्पादन भएको तरकारी सबै गाईवस्तुलाई खुवाउनुपरेको पीडा सुनाउछन् । भन्छन्,‘के गर्ने हामीहरुको आवाज कसैले सुन्दैन, यति धेरै मेहनत गरेर तयार गरेको तरकारी बजारमा लैजान पाइएको छैन, महामारीले त हामीलाई डुबाउने भयो ।’

शुद्धोधन १ राजन मल्लाहले तयार गरेका उत्पादन बजारमा लान प्रहरीले रोक्ने गरेको गुनासो गरे । ‘अहिले गाउँक्षेत्रमा रहेका तरकारी बजार लैजान प्रहरीले रोकेको छ, तर बजार क्षेत्रमा भारतबाट आएका तरकारी गाडीमा घरघरमा पुग्ने गरेको सुनेका छौं यो त अन्याय भयो’ मल्लाहले भने ।

भारतबाट ल्याएर बेच्न दिने तर यहाँको उत्पादनलाई रोक्ने कामले महामारी रोकेर दुख नदिन किसान रामनाथ लोध बताउँछन् ।
रुपन्देहीका धेरै क्षेत्र हरियो तरकारी उत्पादनमा आत्मनिर्भरजस्तै बनेका छन् ।

बिगतका वर्षमा प्रदेश तथा स्थानीय सरकारले कृषि एम्बुलेन्स संचालन गरेकाले केही सहज भएको थियो । तर यो पटक धेरै समस्या भएको बेलाह कृषि सहकारीका अध्यक्ष सुनिल हरिजन बताउँछन् ।

कृषिमार्फत किसानलाई राहत दिन कोरोना उद्धार परियोजनाअन्तर्गत रूपन्देहीको सैनामैनामा सञ्चालन गरिएको परियोजना बजारकै व्यवस्थापन नगरी सुरु गरिएको कार्यक्रमले नोक्सानी बेहोरेको छ ।

४० लाखको लगानी रहेको कार्यक्रमबाट जम्मा ५० हजार आम्दानी देखिएको छ । सैनामैना नगरपालिका, सेतो गुराँस बाल विकास सेवा रूपन्देही तथा सयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना पहिलो वर्षमा असफल देखिएको हो ।

सैनामैना नगरपालिका -७ मा सञ्चालित उक्त परियोजनामा १५ जना कृषकहरूले मिलेर सामूहिक रूपमा तरकारीदेखि फलफूल खेती गर्दै आएका छन् ।

यद्यपि ९ महिनादेखि निरन्तर रूपमा खटिएका कृषकहरू उत्पादनले बजार पाउनेबेला कुहिएका बन्दागोपी र लौका हेरेर चित्त बुझाउन बाध्य भएका छन् । बहुतले वृक्षारोपण कार्यक्रमलाई सैनामैना नगरपालिकाले २५ लाख र युएनडीपीले झन्डै १५ लाख लगानी गरेर सञ्चालनमा ल्याएको हो । समूहका अध्यक्ष एवम् कृषक लक्ष्मण पौड्यालले सुरुमा जस्तो जोश जागर हराउँदै गएको हो कि भन्ने भान भएको बताउँछन् ।

‘अब आम्दानी लिनेबेला गोपी जति कुहिएर मल बनायौं,’ पौडेलले भने,‘भनेजस्तो बजार पनि पाइएन । केही सामान्य तरकारी बेचेको भए पनि अरू बारीमै थन्किए । कोभिडमै उद्धारका लागि सञ्चालन गरिएको परियोजना कोभिडकै कारण मर्कामा परेको छ । बजारमा लगेर बेच्न पनि पाइएको छैन ।’

उनले लौका, बोडी, टमाटर, ठुलो कागती, लिची जस्ता तरकारी र फलफूल गरेर साढे ५ बिगाहामा उत्पादन सुरु गरेको दैनिक लुम्बिनीलाई जानकारी दिए । यतिका समयमा गरेको मेहेनतले जम्माजम्मि ५० हजार मात्र रकम समूहमा जम्मा भएको दुखेसो गर्छन् ।

‘मेहेनतका हिसाबले त हामी अहिलेलाई घाटामा छाैं,’ कृषकमध्येका एक सदस्यले भने,‘लामो समयसम्म रहने प्रोजेक्ट भएका कारण पछिलाई राम्रो होला भनेर धैर्य गरेर बसेका छाैं।’ उनले कृषकहरू पूर्ण व्यवसायिक नहुँदासम्म यसले प्रतीफल नदिने स्वीकारे ।

यता परियोजनाका प्रमुख दिनेश क्षेत्रीले वर्षौंदेखि खाली रहेको जमिनलाई खेतीमा परिणत गर्दै नेपालकै नमूना फर्म बनाउने लक्ष्यका साथ अगाडि बढेको बताउँछन् । रिसर्च सेन्टरका रूपमा परिणत गरेर कृषकहरूलाई धेरैभन्दा धेरै लाभ लिने वातावरण बनाइने क्षेत्रीले दाबी गरे ।

‘यो वर्षमात्रै १० लाख बराबरको तरकारी र फलफूल बेच्ने योजना थियो । तर सम्भव नभएकै हो, क्षेत्रीले आगामी योजनाबारे थप्दै गए – १ बिगाहामा फूलखेती समेत गरेर वार्षिक रूपमा ४० लाखको उत्पादन गर्नेगरी अगाडि बढ्ने छाै‍ं । तर त्यसका लागि १५ जना कृषकहरूले पनी विशेष चासोका साथ योजनालाई मूर्तरूप दिनेगरी लाग्नुपर्‍यो ।’उनले भने ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पहिलो वर्ष सोचेजस्तो सफल नहुनुमा कृषकहरू पनि दोषी रहेको बताए । ‘हामीले भरपुर सहयोग गरेका छौं,’ कार्की भन्छन्– ‘उत्पादन भएका तरकारीहरू घरघरमा पुगेर कृषकहरू आफैले बेच्नुपर्‍यो नी ! त्यसका लागि सबैभन्दा पहिला व्यवसायिक चेतना हुन जरूरी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर