कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सील – Nepal Press

कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सील

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका-७ खलङ्गा बजारसँग जोडिएको मिचागाउँमा कोरोना संक्रमित बढेपछि सील गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णय अनुसार शुक्रबार बेलुका देखि सील गरेको हो ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार मिचागाउँमा १९ जना संक्रमित छन् । त्यस्तै महत गाउँमा ६ जना संक्रमित रहेका छन् । सबैलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह गरेपनि नमानेपछि होम आइसोलेसनमा सुरक्षित बस्न आग्रह गरिएको र स्वास्थ्य सुरक्षा सामग्री घरमै पुर्‍याएको महतले बताए ।

स्थानीय विजय रावलका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुका साथै संक्रमित व्यक्तिहरूको निगरानी गर्दै सुरक्षा मापदण्ड अपनाउन सुझाइएको छ । यस्तै यसअघि तातोपानी गाउँपालिका -१ राकागाउँ र सोही गाउँपालिकाको-६ रावतवाडा गाउँ पनि सील गरी कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरिएको थियो ।

संक्रमितहरूको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ नहुञ्जेलसम्म गाउँ नै सील गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । वैशाखदेखि यता जुम्लामा कोरोना सङ्क्रमितको संख्या ५ सय ८९ पुगेको छ ।

यस्तै संक्रमणमुक्त भएको संख्या ३ सय ३२ रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने २९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन कक्षामा उपचाररत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर