‘सिनो फाल्ने अभियान’ पछि फेरिएको रामटोल : हरुवा चरुवाका झुपडीमा बल्दैछ शिक्षाको ज्योति
पुरुषभन्दा महिलामा शैक्षिक चेतना र जागरण बढी
लहान । सिरहाको लहान नगरपालिका-१ मटियर्वाकी ६० वर्षीया सन्तोलिया रामका लागि आफ्नो परिवारका कोही सदस्य अध्ययनका लागि विद्यालय जाने कुरा कल्पना बाहिरको थियो । सन्तोलियालाई मात्रै होइन, २० वर्षअघिसम्म चमार (राम) समुदायका लागि विद्यालय पहुँच बाहिर थियो ।
तर अहिले सन्तोलियाकी नातिनी ज्योतीराम १२ कक्षा पास गरेर कम्प्युटर कक्षा लिइरहेकी छिन् । ज्योतिका भाइ लहानकै ज्वालाप्रसाद सेवोइदेवी मुरारका बहुमुखी क्याम्पसमा विज्ञान बिषयमा १२ कक्षा पढ्दै छन् । अहिले उनीहरुको घर गाउँभर ‘पढ्नेको घर’मा कहलिएको छ । नाति-नातिनाको प्रगतिप्रति सन्तोलिया सन्तुष्ट छिन् । उनलाई यो सब सपना जस्तो लागिरहेको छ ।
‘हाम्रो पालामा छोरी जवान भइ कि सानै छ भनेर डण्डीले नाप्थे, हजुरबुवा, बुवाहरुले त्यसै नापको आधारमा विवाह गर्ने उमेर पुगे नपुगेको छुट्याउँथे’, सन्तोलियादेवी आफूले भोगेको कुरुप विगत सम्झिन्छिन्, ‘उमेर पुगेको लाग्यो कि बिहे गरिदिन्थे, पढ्ने कुरा त धेरै परको भयो । सन्तोलियाको नौ वर्षको उमेरमा विवाह भएको थियो ।
अत्यन्त गरिबीबीच हुर्के बढेकी सन्तोलियाले गहभरी आँशु पार्दै भनिन्, ‘हामीलाई साँझ-बिहान आघौजी खान पनि पुग्दैनथ्यो । आधा पेट खाएर काम गरियो । अहिले नातिनातिनाको पढेलेखेको देख्दा औधी खुसी लागेको छ ।’
‘मलाई स्टाफनर्स पढ्ने रहर छ, बावुले अगाडि पढाउन नसक्दा १२ कक्षा पास गरेर घरमै बसेकी छु’ उनले भनिन् ‘हातमा १२ कक्षाको ट्रान्सकिप्ट लिएर विराटनगरबाट आउँदा थप पढाउनुपर्ने कुराले बाआमा झन् चिन्तित हुनुभयो । मेरो खुसी एकैचोटि आकाशबाट भुइँमा झर्यो ।’
१५ वर्ष अघिसम्म चमार समुदायका पुरुषहरुले साहू महाजनको खेत जोत्ने ‘हरुवा’ र गाईबस्तु चराउने ‘चरुवा’को काम गर्दथे । चमार महिलाले सुडेनीको काम गर्नु पर्दथ्यो । यसबाट मालिकले आफ्नो इच्छाले दिएको अन्नले वर्षदिनको खर्च टार्नु पर्दथ्यो ।
चमारले साहुमहाजनको जनावरको सिनो फाल्नुपर्ने नियम नै थियो । बालबालिकाहरु विद्यालयको साटो आमाबावुसंगै गाई, भैसीको गोठालो जान्थे । तर अहिले समय फेरिएको छ । मटिअर्वाका राम समुदायको ८० घरधुरीका अधिकांश बालबालिका विद्यालय जाने गरेका छन् ।
मटिअर्वाकै भूमिका राम पशुपति आदर्श उच्च माध्यमिक विद्यालय लहानमा कक्षा ९ मा पढ्दैछिन् । विद्यालय छुट्टी भएर फर्किने बित्तिकै सरसफाई सकेर काकाकी छोरी रञ्जना र कल्पनासँगै टोलभरका भाइबहिनी जम्मा गरेर पढ्छिन्, पढाउँछिन्, भूमिका । अहिले उक्त टोलको वातावरण नै पढाइमय भएको छ । भूमिकाको फुपू रञ्जु रामले पनि १२ कक्षा पास गरेकी छन् । उनलाई रञ्जू जस्तै धेरै पढ्ने रहर छ । भूमिका भन्छिन्, ‘पढेर राम्रो मान्छे बन्नु पर्छ भन्ने लाग्छ ।’
अहिले रामटोलका ५ किशोरी १२ कक्षामा पढिरहेका छन् भने १० किशोरीले एसईई पास गरिसकेका छन् । जहाँका एकजना किशोर १२ कक्षामा पढ्दैछन् । किशोरहरु सानैदेखि काम गर्न जाने भएकाले उनीहरुको पढाई एसईईसम्म पुग्नै पाउँदैन । भूमिकाका दाजु १० कक्षासम्म पढेर अहिले फलफुलको गोदाममा ज्यामी काम गरिरहेका छन् । भूमिकाले भनिन्, ‘आमा रोगी हुनुहुन्छ, बुवाले सिटी रिक्सा चलाउनु हुन्छ । एक जनाको कमाईले परिवार चलाउन पुग्दैन । त्यसैले दाजु काम गर्न जानु हुन्छ ।’
भूमिकाको घरमा जस्तै अन्य राम परिवारमा किशोरहरु काम गर्न सक्ने भएपछि कामतिरै आकर्षित हुने गरेका छन् । दैेनिक ज्यालादारी गरेर रोजीरोटी चलाउनेहरुलाई ‘विद्यालय गए कमाई छुट्ने, कमाई गर्न गए स्कूल छुट्ने’ चिन्ता हुन्छ । यहाँका कतिपय युवा कुलतमा फसेका कारण पनि विद्यालय जाँदैनन् ।
मटियर्वाका सबै बालबालिकाले पढ्ने अवसर पाएका छैनन् । तर यहाँका बालबालिका र अभिभाबक अन्य ठाँउका भन्दा शिक्षाप्रति जागरुक छन् । सिनो फाल्ने विरुद्धको आन्दोलनका अभियन्ता अर्जुन थपलियाका अनुसार यहाँका बालबालिकामा शिक्षाको पहुँच बढेको छ ।
मटियर्वा टोलका चमार समुदायसँग अहिले पनि बस्ने छाप्रोबाहेक सम्पत्तिका नाममा अरु केही छैन । शिक्षाको पहुँच बढे पनि कतिले अहिले पनि पढ्न पाएका छैनन् । १९ वर्षीया सञ्जु रामले स्कुल नै देख्नै पाएकी छैनन् । घरको अवस्था कमजोर भएकाले उनले किताब समाउने उमेरमा होटलका जुठा भाडा समाउनु परेको थियो ।
सञ्जु भन्छिन्, ‘होटलमा सानै उमेरदेखि काम गरेँ, पाँच जनाको परिवार चलाउन आमाको एक्लो कमाईले पुगेन । बुवाले धेरै खर्च गर्ने भएकोले म पनि आमासँगै काम गर्न गएँ । पढ्न पाएको भए सुख पाउँथें कि, दुखैमा जीवन बित्ने भो ।’
आफूले पढ्न नपाए पनि गाँउका दिदी बहिनीले पढेकोमा खुसी लागेको सञ्जु बताउँछिन् । ‘मैले पढ्न नसके पनि बहिनीहरुले पढे, नाम राखे, यसैमा खुसी छु’, उनले भनिन् ।
पढ्न पाएकाहरुको पनि आफ्नै व्यथा छ । १२ कक्षा पास गरेर घरमै बसेकी मञ्जु राम भन्छिन्, ‘आर्थिक अवस्था कमजोर भएपछि चाहेअनुसार अघि पढ्न पाइएन ।’ ज्योतिको पीडा पनि उस्तै छ । ‘मलाई स्टाफनर्स पढ्ने रहर छ, बावुले अगाडि पढाउन नसक्दा १२ कक्षा पास गरेर घरमै बसेकी छु’ उनले भनिन् ‘हातमा १२ कक्षाको ट्रान्सकिप्ट लिएर विराटनगरबाट आउँदा थप पढाउनुपर्ने कुराले बाआमा झन् चिन्तित हुनुभयो । मेरो खुसी एकैचोटि आकाशबाट भुइँमा झर्यो ।’
ज्योतीकी आमा अनिता राम फलफूल पसल गर्छिन्, बुवा सिटी रिक्सा चलाउँछन् । उनी अहिले सुगर रोगबाट ग्रस्त छन् । अनिता भन्छिन्, ‘श्रीमान्ले रिक्सा चलाउन सक्नु हुन्न, मेरो एक्लो कमाईले छोरा र छोरीको पढाइ खर्च धान्न सक्ने आँट गर्न सकिनँ ।’ छोरीलाई ब्याचलर गराउने ठूलो रहर छ, उनको । छोरीको पढाईको कुरा आउने बित्तिकै उनको भकानो फुट्छ । गाँउलेहरु अनितालाई छोरीको विवाह गर्न सल्लाह दिन्छन् । अनिता भन्छिन्, ‘छोरीको विवाहबारे त अहिले सोचेकै छैन, छोरीलाई आफ्नो खुट्टामा उभ्याएरमात्र विवाह गरिदिने सोच छ, तर पढाउने उपाय छैन ।’
मञ्जुको पनि स्थिति उस्तै छ । मञ्जु पाँच बर्षकी हुँदा आमाबुवा बिते । दाजुभाउजूसँग बसेकी मञ्जुले बालखैदेखि अर्काको घर सफा गर्ने, भाडा माझ्ने काम गरेर खर्चको जोहो गर्दै १२ कक्षासम्म पढिन् । दुई वर्षअघि उनका दाइको पनि मृत्यु भयो । त्यसपछि उनको पढाइ रोकिएको छ । उनी भन्छिन्, ‘सरकारले दलितलाई पढाइका लागि छात्रवृत्ति दिन्छ भन्ने सुनिन्छ, तर त्यो कहाँ आउँछ, कहाँ जान्छ ? हामीलाई पत्तो नै छैन ।’
नेपाल सरकारले १० कक्षासम्म निःशुल्क शिक्षा र दलित विद्यार्थीलाई वार्षिक पोशाक भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपालको संविधानको धारा ४३ को उपधारा ३ मा दलित बालबालिकाका लागि उच्च शिक्षासम्म निःशुल्क शिक्षाको ब्यवस्था गरेको उल्लेख छ । शिक्षा नियमावलीमा समेत यो व्यवस्था छ ।
तर, नेपालको सघीय संरचनाअनुसार माध्यमिक शिक्षा सथानीय तहको मताहतमा आएकोले स्थानीय तहको प्राथमिकतामा नपर्दा उक्त व्यवस्था कार्यान्वयनमा आउन नसकेको दलित अभियानकर्ता भोला पासवान बताउँछन् ।
मटियर्वाका सबै बालबालिकाले पढ्ने अवसर पाएका छैनन् । तर यहाँका बालबालिका र अभिभाबक अन्य ठाँउका भन्दा शिक्षाप्रति जागरुक छन् । सिनो फाल्ने विरुद्धको आन्दोलनका अभियन्ता अर्जुन थपलियाका अनुसार यहाँका बालबालिकामा शिक्षाको पहुँच बढेको छ ।
‘२० वर्षअघिको अवस्थालाई हेर्दा यो ठूलो छलाङ हो’, थपलिया भन्छन्, ‘मटियर्वा टोलका चमार समुदायमा शिक्षामा यो परिवर्तन त्यसै आएको होइन, उनीहरुहरुले आफूमाथि भएको अन्याय र छुवाछुतविरुद्ध चलाएको ‘सिनो फाल्ने अभियान’ले सम्भव भएको हो ।’
सिनो फाल्ने अभियानको अन्तर्य
यहाँका चमार समुदाय चरम गरिबीबीच गुज्रिरहेका थिए । उनीहरु श्रम अनुसारको मूल्य नलिइ बधुवा मजदुरको रुपमा काम गर्न वाध्य थिए । अरु काममा बढी पैसा पाए पनि उनीहरु जमिन्दारको काम छोडेर जान पाउँदैनथे ।
पहिला चमार समुदायमा ‘गाउँ कमाउने’ प्रचलन अथवा एउटा गाँउमा एक परिवारले मात्रै काम गर्न पाउँथे । जमिन्दारको खेतीपाती उतार्नेदेखि गाईबस्तु रेखदेख गर्ने काम पुरुषले र महिलाले घरमा हुने सुडेनी (सुत्केरी र बच्चाको तेल मालिस गर्ने) काम गर्थे । यसरी काम गरेको पुरुषले २ किलो धान र महिलाले आधा किलो चामल पाउँथे ।
यसरी चरम शोषण र छुवाछुतमा परेका चमार समुदायले गाउँका कथित् साहु महाजनको घरमा पालेका पशु चौपाया मरे, फाल्न पथ्र्यो । त्यही सिनो फालेकै कारण ‘अछुत’ भनेर उनीहरुलाई ‘छिःछि’ गर्थे ।
यसरी पिल्सिएको चमार समुदायमा समानताको चेतना र जागरण ल्याउन एक्सन एड नेपालले भूमिका निर्माण गर्यो । सन् १९९० को दशमा गरिबी निवारणका लागि उक्त संस्थाले सिरहा र सप्तरीका केही गाउँ छनोट गर्यो । सप्तरीका कुशाहा, दौलतपुर, पिप्रा पश्चिम, हर्दिया र मधुपट्टीमा दलित समुदायलाई संगठित गर्दै एक्सन एडले सारक्षरता अभियान चलायो, जहाँ संविधान, कानुनसँगै अन्याय, शोषण, दमनविरुद्ध चेतना दिइन्थो । त्यहीं सचेतना कक्षमा चमार समुदायले ‘सिनो फाल्ने’ गरेको कुरा उठाए ।
त्यहींबीच सप्तरी दौलतपुरका किसुनलाल कलवारको गाई मर्यो । चमारहरुले संगठित भएर सिनो नफाल्ने निर्णय लिए । कथित उच्च जातिले चमारलाई सामाजिक रुपमा बहिष्कार गर्न नाकावन्दी नै लगाए । यो आन्दोलन सप्तरीबाट बढ्दै सिरहा आयो । मटियर्वाका चमार समुदायले समेत सिनो नफाल्ने भए । त्यसपछि चमारमाथि उच्चजाति भनिनेले नाकाबन्दी लगाए ।
पसलमा किनी खान दिएनन् । कल, धारा, ईनार, पोखरी सबैमा जान बन्देज लगाए । आन्दोलनले व्यापक रुप लिन थालेपछि स्थानीय प्रशासनको रोहवरमा सहमति भयो र चमारले सिनो फाल्नु नपर्ने भयो । विस्तारै बँधुवा मजदुरहरुले जमिन्दारवाट मुक्ति पाए । त्यो आन्दोलन अहिले लहानको चमार आन्दोलनको नामले चर्चित छ ।
आन्दोलनले चमारहरुलाई सामाजिक स्वतन्त्रता दिएको छ । काम गर्ने खुल्ला बजार पाएका छन् । उनीहरु स्वतन्त्र भएपछि आफूलाई उपयुक्त हुने पेसा रोज्न पाएका छन् । मटियर्वाका चमारटोलका महिलाहरुले हिजोआज लहान बजारमा फलफुल पसल गर्छन् । पुरुषहरु कोही भारत र कोही विदेश रोजगारका लागि जाने गरेका छन् ।
मटियर्वाकी परमिला राम भन्छिन्, ‘अहिले हाम्रो जीवनमा धेरै परिवर्तन आएको छ’, रामले भनिन्, ‘साहु महाजनको घरमा काम गर्दा फुसको छाप्रोमा बस्नु पर्दथ्यो, न घाम छेल्थ्यो, न त पानी ! शीतलहरले सुतेको ठाउँमै कठ्याङ्ग्रिएर मर्नुपर्थ्यो ।’
विगतको तुलनामा चमार समुदायको स्थितिमा केही सुधार भए पनि शैक्षिक विकासका लागि विद्यार्थीलाई विद्यालयमा टिकाउनै मुस्किल हुने गरेको बताउँछिन्, अधिकारको क्षेत्रमा काम गरिरहेकी रेणु कर्ण । कमजोर आर्थिक स्थितिका कारण समस्या भएको कर्णको बुझाइ छ ।
Harwa charwa are comong together now for their rights to land, income, education and dignity. They sre working for to stop the generational kind of modern salavery.