ज्ञानेन्द्र शाहीको बयानः मकैबारीमा लुकेर ज्यान जोगाएँ
काठमाडौं । युवा अभियन्ता ज्ञानेन्द्र शाहीले आफूमाथि सुर्खेतमा हिजो सुनियोजित आक्रमण भएको दावी गरेका छन् । प्रहरीले दुई समूहबीच झडप भएको बताए पनि शाहीले त्यसलाई अस्वीकार गरे ।
नेपाल प्रेससँगको कुराकानीमा उनले आफूलाई नै लक्ष्यित गरी आक्रमण गरिएको बताए । आक्रमणकारी कसैलाई पनि नचिनेको उनको भनाइ छ ।
‘उनीहरु सबैले मदिरा सेवन गरेका थिएँ,’ शाहीले भने, ‘हामीले कुनै प्रतिकार गर्नसक्ने अवस्था थिएन । ढुंगा र बाँसको भाटाले हामीमाथि प्रहार गरे ।’
घटना विवरण शाहीकै शब्दमाः
हामी सुर्खेतमा निशुल्क स्वास्थ्य सामग्री वितरणका लागि गएका थियौं । शुक्रबार हामी वीरेन्द्रनगर नगरपालिका १३ मा थियौं ।
राति खाना खानका लागि हामी त्यहाँबाट केही टाढा गडगडे भन्ने ठाउँमा एक अभियन्ताको घरमा गयौं । त्यहाँ खाना खाइवरी फर्किने क्रममा बाटोमा हामीमाथि आक्रमण भयो ।
हामी दुईवटा गाडी र एउटा मोटरसाइकलमा थियौं । म चाहिँ गाडीमा थिएँ । राति १० बजेतिर बाटोमा आउँदै गर्दा बाटोमा अवरोध खडा गरिएको रहेछ । युद्धकालमा माओवादीले जसरी रुख ढालेर बाटो अवरोध गरेजस्तै बाटोमा ठूला ढुंगा थुपारेर अवरोध गरिएको थियो ।
हामी रोकिनासाथ १०/१२ जनाको समूह हामीमाथि जाइलाग्यो । सुरुमा मोटरसाइकलमा रहका साथीहरुलाई थुतेर फालियो । अनि हामी सबैलाई गाडीबाट निकालेर ढुंगा, भाटाले प्रहार हुन थाले ।
आक्रमण सुरु हुनासाथ म अलिकति छलिएर जिल्ला प्रहरी कार्यालयका एसपीसाब राजेन्द्र भट्ट र सुर्खेतका सिडिओ फणिन्द्रमणि पोखरेललाई फोन लगाएर जानकारी दिएँ । उहाँहरुले प्रहरी पठाउँछु भन्नुभयो । त्यसपछि लगत्तै इन्सपेक्टर कनक शाहीसँग कुरा भयो । शाहीले मलाई नजिकै रहेको मकैबारीमा लुक्न सुझाव दिनुभयो ।
उहाँले भनेजस्तै म भागेर मकैबारीमा लुकेँ । हलचल नगरी बसेँ । आक्रमणकारीहरु मोबाइलमा फोटो हेर्दै मर्लाइ खोजिरहेका थिए । मेरो नम्बरमा धेरैपटक फोन पनि गरेछन् । तर, संयोगले त्यसबेला मेरो मोबाइल एकजना सहयोगीसँग साटिएको थियो ।
घटना भएको ४५ मिनेटपछि मात्रै प्रहरीको टोली आयो । जबकि जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा आउन मोटरसाइकलमा १० मिनेटजति मात्रै लाग्छ । एक घन्टापछि अर्को टोली पनि आयो ।
प्रहरीले हामीलाई तत्काल उद्दार गरेर अस्पताल लैजानुको साटो सोधपुछ गर्न थाल्यो । सोधपुछ सकिएपछि हामी आफ्नै गाडीमा अस्पताल गयौं । म गाडी हाँक्न सक्ने अवस्थामा पनि थिइनँ । मेरो चश्मा फुटेकाले आँखा राम्ररी देखेको पनि थिइनँ । तर अरु उपाय नभएपछि एकजना बहिनीलाई साइडको सिटमा राखेर बाटो देखाउन लगाएँ र मैल स्टेयरिङ घुमाएँ ।
आक्रमणकारी कोही पनि मैले चिनेको छैन । प्रहरीले ५ जनालाई पक्राउ गरेको छ, तर मुख्य आक्रमणकारी अझै पक्राउ परेका छैनन् । यो घटना पूर्णरुपमा सुनियोजित देखिन्छ । उनीहरु सबैले मदिरासेवन गरेका थिए । हाम्रो समुहले पनि मदिरा सेवन गरेको भनेर आइरहेको कुरा नितान्त गलत हो । अस्पतालमा हामी सबैको परीक्षण नेगेटिभ आएको छ ।
घटनालाई दोहोरो झडप भनेर प्रहरीले गलत प्रचार गरिरहेको छ । हामीले प्रतिकार गर्न सक्ने अवस्था नै थिएन । उनीहरुले घेरेपछि मैले त हात जोडेर हामीलाई छोडिदेओ भनेर रोइकराइ गरिरहेको थिएँ ।
त्यही दिन मात्रै हामीले निशुल्क वितरणका लागि भनेर ल्याएका सामग्री एयरपोर्टमा रोकिएपछि एक मन्त्रीसँग मेरो विवाद भएको थियो । मलाई लाग्छ हामीलाई आक्रमण गर्न राज्य संयन्त्रकै हात छ । प्रहरी एक घन्टा ढिला आउनु र हामीलाई तत्काल उद्दार नगर्नुले पनि उनीहरुको मिलेमतो देखिन्छ । तर, फिल्डमा खटिएका प्रहरीको दोष छैन । उनीहरुर्लाइ आदेश नै त्यस्तो थियो ।
म जिल्ला प्रशासन कार्यलयमा आक्रमणकारीमाथि ज्यानमुद्दा दायर गर्ने तयारीमा छु । आक्रमणकारी कोही पनि नचिनेकाले किटानी जाहेरी दिने अवस्था छैन । मेरा ६ जना अभियन्ता साथीहरु घाइते भएका छन् । म आफैंलाई चाहिँ धेरै चोट लागेन । मकैबारीमा लुकेर बाचेँ ।