रुपन्देहीमा पहिलो लिक्विड अक्सिजन प्लान्ट बन्दै, प्रधानमन्त्रीले गरे भर्चुअल शिलान्यास – Nepal Press

रुपन्देहीमा पहिलो लिक्विड अक्सिजन प्लान्ट बन्दै, प्रधानमन्त्रीले गरे भर्चुअल शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरेका छन् । उनले भर्चुअलरूपमा अक्सिजन प्लान्टको शिलान्यास गरेका हुन् ।

रुपन्देहीको सिमरहवामा स्थापना हुने यो प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन उत्पादन हुन्छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ । उद्योगी शंकर अग्रवालको लगानीमा प्लान्ट बनाउन लागिएको हो ।

शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उनले कोभिड १९ महामारीको दोस्रो लहर सुरू भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताए ।

‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, प्रधानमन्त्रीले भने ।

सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको प्रधानमन्त्रीले उल्लेख गरे ।

अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

अक्सिजन प्लान्को स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउन समेत सहज हुने प्रधानमन्त्रीको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर