स्तरोन्नतिको १६ वर्षपछि ‘अस्फाल्ट ओभरले’ प्रविधिबाट कालोपत्रे हुँदै बन्देउ–चौतारा सडक – Nepal Press

स्तरोन्नतिको १६ वर्षपछि ‘अस्फाल्ट ओभरले’ प्रविधिबाट कालोपत्रे हुँदै बन्देउ–चौतारा सडक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सदरमुकाम चौतारा जोड्ने सडक स्तोरन्नति भएको १६ वर्षपछि ‘अस्फाल्ट ओभरले’ प्रविधिबाट कालोपत्रे गर्न थालिएको छ । अरनिको राजमार्गको बन्देउदेखि चौतारासम्मको १७ किलोमिटर सडकमा उच्च स्तरीय कालोपत्रे गरेर सडक सफा र चिटिक्क बनाउन सुरु गरिएको सडक डिभिजन कार्यालय दोलखाका प्रमुख विजयकुमार महतोले बताए ।

२६ किलोमिटर सडकमध्ये पाँच किलोमिटर यसअघि नै यहीं प्रविधिबाट कालोपत्रे गरिएको थियो । दुई किलोमिटर सडक भने मध्यपहाडी राजमार्ग निर्माण कम्पनीले फराकिलो बनाउने प्रमुख महतोले जानकारी दिए ।

बन्देउ–चौतारा सडक कालोपत्रे सकिएपछि जेब्रा क्रसिङ, मार्किङलगायतका काम पनि यही वर्ष हुने उनले बताए । ‘सबै काम सम्पन्न भएपछि सडक निकै आकर्षक देखिन्छ’, महतोले भने ।

जीर्ण सडक सुधार भएसँगै यात्रुहरुले सफा सडकमा यात्रा गर्न पाउने भएका छन् भने सडककै कारण हुने दुर्घटनामा समेत कमी आउने जिल्ला ट्राफिक प्रहरी कार्यालयको विश्वास छ ।

१० करोड ७६ लाख ८८ हजार रुपैयाँमा बन्धन भगवती निर्माण कम्पनीले कालोपत्रे सुरु गरेको र असारसम्म सबै काम सक्ने गरेर काम भइरहेको महतोको भनाइ छ ।

निषेधाज्ञाकै बीच स्वास्थ्य सावधानी अपनाएर सडक कालोपत्रे भइरहेको उनले बताए । उक्त सडकखण्डमा नेपालमै पहिलोपटक परीक्षणको रुपमा ओटासिल प्रविधिमार्फत कालोपत्रे गरिएको थियो । कालोपत्रे केही वर्ष टिके पनि मर्मत नहुँदा सडक जीर्ण भएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले बताए ।

‘सुधारका लागि हामीले पनि पटक पटक भनेपछि अहिले सडक डिभिजन कार्यालयले कालोपत्रे सुरु गरेको छ’, मेयर तामाङले भने, ‘अब सफा सडकमा सबै ले यात्रा गर्न पाउने छन् ।

एक लेन मात्रै रहेको उक्त सडक १६ वर्षअघि ६ मिटर चौडाइको बनाएर कलोपत्रे गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *