जी-सेभेन मुलुकले गरिब राष्ट्रहरुलाई १ अर्ब डोज खोप उपलब्ध गराउने
लन्डन । धनी सात राष्ट्रहरुको समूह जी-सेभेनको बैठक इङ्ल्यान्डको कर्नवालमा आइतबार सम्पन्न भएको छ ।
सम्मेलनपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले विपन्न मुलुकहरुलाई जी-सेभेन बैठकले कोभ्याक्समार्फत १ अर्ब मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए ।
विश्वलाई खोप लगाउन यो महत्वपूर्ण कदम भएको उनले बताएका छन् । उक्त खोप सहायताअन्तर्गत बेलायतले १०० मिलियन र अमेरिकाले थप २०० मिलियन डोज कोभ्याक्सलाई सीधै उपलब्ध गराउने जोन्सनको भनाई छ ।
आयोजित पत्रकार सम्मेलनमा जोन्सनले बेलायती खोप अस्ट्राजेनेकाको प्रशंसा समेत गरे । भविष्यमा आइपर्ने महामारीको चुनौति सामना गर्न र कोभिड महामारीलाई हराउनको लागि जी–सेभेन बैठकले खोप वितरणको प्रतिबद्धता जनाएको बताइएको छ ।
आर्थिक पुनर्उत्थान र रोजगारी सिर्जना, स्वतन्त्र र निश्पक्ष व्यापार, जलवायु तथा वातावरण, लैंगिक समानता, विश्वव्यापी उत्तरदायित्व र अन्तर्राष्ट्रिय तदारुकताबारे समेत सहमति जुटेको जी–सेभेनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।