सेतो सारीमाथि हिलो छ्याप्नेहरू सुन !
मानिसको जीवनमा प्रयोग हुने रंगको पनि आफ्नै अर्थ हुन्छ । कतिपय रंगको अर्थ दर्शनले निर्धारित गरेको हुन्छ भने कतिपय समाज र समुदायकेन्द्रित परम्पराले । कतिपय प्रसंगमा रंगले मानिसलाई उत्साहित बनाउँछ भने कतिपयले निराश, निरुत्साहित र विभेदित ।
सेतो रंगलाई आमरूपमा शुद्धताको रूपमा लिइन्छ । तर, यही सेतो रंग अर्थात सेतो वस्त्र, अझ भनौं सेतो सारीलाई आर्य समुदायका महिलाको सन्दर्भमा विधवाको बिम्ब वा अशुद्धताको प्रतिकका रूपमा लिइन्छ । अनि त्यही बिम्बको आधारमा उनको वैवाहिक अवस्थाको पहिचान र विभेदित व्यवहार गरिन्छ । यो कुरा नेपालको संविधान २०७२ को समानताको हकले वर्जित गरेको छ । तर अलि गहिरिएर हेर्ने हो भने विधवा महिलाको बिम्ब बनेको त्यही सेतो रंग अर्थात सेतो सारी नेपाली समाज रूपान्तरणको स्तम्भ बनेको छ ।
नेपालको लोकतन्त्र प्राप्तीको सामाजिक राजनीतिक अभियान र सेतो सारी बीच अन्योन्याश्रित सम्बन्ध पाइन्छ । नेपालको आर्य समाजमा सेतो सारी विधवा महिलाविरुद्ध विभेदको प्रतिक थियो । विधवालाई देख्दा साइत विग्रन्छ भन्ने मान्यता स्थापित गरियो । सत्कर्ममा विधवाको सहभागिताको त कुरो छाडौं, अगाडि जान वा देखिनसमेत नहुने तहको विभेद थियो । उनीहरूलाई ‘श्रीमान-टोकुवा’ देखि ‘बोक्सी’, ‘डायन’ लगायत अनगिन्ती लान्छना, आरोप र आपराधिक तहको दुर्व्यवहारको भागीदार बनाइन्थे । घर-परिवार राम्रो हुँदा माया गर्ने माइती पनि छोरीचेली विधवा भएपछि आफ्ना हुँदैन थिए । त्यो अपमान, अन्याय, दुर्व्यवहार र लान्छनायुक्त अत्याचारको तोड तिनै महिलाले मात्र अनुभूत गर्न सक्दछन्, जसले जीवनमा कुनै न कुनै रूपमा यो विभेद भोगेका छन् । यी सबै हर्कत पनि वर्गीय र जातीय थिए । गरिव र दलित परिवारका विधवा महिलाले अरुले भन्दा बढी लान्छना र हैरानी खेप्नुपर्थ्यो ।
विधवा महिलामाथि समाजको त्यस किसिमको हर्कतकै कारण सायद योगमाया न्यौपानेमा विद्रोह जाग्यो । एउटा बालविधवाको रूपमा योगमाया न्यौपाने परिवार र समाजले दिएको त्यो प्रताडनाको शिकार हुन नपरेको वा त्यो पीडा र अपमानलाई विद्रोहमा नबदलेको भए, सायद अरु केही सय महिलाहरूले सतीका नाममा जिउँदै पोलिनपर्ने थियो । जहानियाँ राणाशासनको आयु केही वर्ष लम्बिन सक्थ्यो । नागरिक जागरणको अभियान अलि ढिलामात्र शुरू हुने थियो । तर, समाजले विधवा महिलामाथि गरेको अपमानविरुद्ध भौतारिँदै जाने क्रममा खाएका कैयौं हन्डर र ठक्करबाट प्राप्त ज्ञान र अनुभवलाई विवेकमा रूपान्तरण गर्दै आफ्नै समाजमा फर्किएर सामाजिक सुधारको अभियान चलाउने सोच आयो । विद्रोहको ज्वालालाई विवेकको शीतलतामा सेकाउँदै समाज सुधारको अभियानको थालनीका रूपमा धर्मराज्यको मागको नाममा सामाजिक न्याय प्राप्तिको अभियान शुरू भयो । इतिहासले नयाँ मोड लियो । यसले नागरिक अभियानको जग बसालिदियो । धर्मराज्यको माग गर्दै शुरू भएको नागरिक अभियान राणा शासकविरुद्ध सामूहिक जलसमाधीमा रूपान्तरण भयो ।
राणाशासनविरुद्ध जेलनेल भोगेकी सहाना प्रधानमाथि पञ्चायतविरुद्ध क्रियाशील युवापुस्ताले गरेका टिप्पणी र बहुदलकालमा आन्दोलनमा जोडिएको पुस्ताले विद्या भण्डारीमाथि लगाएका लाञ्छना उस्तै-उस्तै हुन् । यो अघिल्लो पुस्ताको योगदानलाई गहिराइमा नियाल्नुभन्दा आफू हिँडेको बाटोमात्र क्रान्तिकारी र आफूले खर्चेको समय र श्रम अनि बगाएको पसिना र रगतमात्र मुल्यवान देख्ने प्रवृत्तिको उपज हो ।
त्यसपछिका दिनमा पनि शासक र समाजको विधवा महिलाप्रतिको हेपाहा सोच र व्यवहारविरुद्ध राजनीतिक आन्दोलनमा साहसको ईंट्टा थप्ने क्रम जारी रह्यो । यसको एउटा प्रतिकको रूपमा दिव्या कोइरालालाई लिन सकिन्छ । जेलमा भोक हड्ताल बसेको छोरा विपी कोइरालालाई भेट्न आउँदा श्री ३ राणा प्रधानमन्त्रीले छोरालाई बचाउने हो भने भोक-हड्ताल तोड्न लगाउन आग्रह गरे । तर, हरेक अप्ठेरो मोडमा राजनीतिको गतिशील साक्षी बन्दै आउनुभएकी दिव्या कोइरालाले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गर्दै भन्नुभयो- दुई वर्ष पहिला श्रीमान्लाई दागवत्ती दिएको हात आवश्यक परे छोरालाई दागवत्ती दिन तयार छ ।
लक्ष्यप्रति अडिग रहन छोराका हरेक कदममा आफू पहरा भएर उभिने आशयको जवाफले राणाशासकलाई रन्थन्याएको थियो भने गति लिँदै गरेको प्रजातान्त्रिक आन्दोलनमा नयाँ तरंग पैदा गरेको थियो । कमजोरीको प्रतिक ठानिएको सेतो सारी परिवर्तनकारीका लागि प्रेरणाको ज्वाला बनिदियो । त्यही ज्वालालाई निरन्तरता दिँदै नोना कोइराला र लीला कोइरालाहरूले पञ्चायतविरोधी आन्दोलनमा सामेल आन्दोलनकारीका लागि आँट र साहसको स्रोत बनिरहनु भयो । त्यसैको निरन्तरतामा अरु धेरै महिलाहरू सामाजिक न्यायका लागि मैदानमा हरक्षण सामेत हुँदै आए । पछिल्लो उदाहरणको रूपमा गणतान्त्रिक आन्दोलनमा छायाँदेवीहरू देखिनुभयो । त्यसैले पनि होला प्रजातन्त्रका लागि लड्ने पुरानो पुस्ताका अभियन्ताहरूवाट सेतो सारीमाथि अपमानका अभिव्यक्ति कमै सुनियो ।
पञ्चायतको निरंकुशताविरुद्ध आन्दोलन बढ्दै जाँदा महिलाहरूलाई प्रेरित गर्ने एउटा मानकको नाम थियो शान्ता मानवी । जो १३ वर्षको उमेरमा विधवा हुनुभयो । घरको वुहार्तन सहन त सक्नुभएन नै, जन्मघरमा पनि आफ्नो भएन । सहजरूपमा पाइला राख्ने ठाउँसम्म नपाएपछि हत्केलामा जीवन लिएर भारत पस्नुभयो । दर्जनौ हण्डर र ठक्कर खाँदै भौतारिने क्रममा पुष्पलालजस्ता असल मान्छेको सम्पर्कमा पुगेपछि बाँच्ने रहर संगाल्नु भयो । र, छोरी भएर जन्मिएको कारण घरपरिवार र समाजले गरेको अपमानका विरुद्ध जागेको चेतनाको उज्यालो फैलाउन देश फर्कनुभयो । झापा आन्दोलनपछि फैलँदै गरेको राजनीतिमा गति थप्न स्वदेश फर्किएर भुमिगत आन्दोलनमा हेलिनुभयो । त्यही क्रममा आन्दोलनमा पढेलेखेका र राता पहिरनका अरु धेरै महिलाहरू भए पनि, टुटेको महिला आन्दोलनको इतिहासलाई पुनर्जिवित गर्न शान्ता मानवीको सेतो सारी बलियो आधार बन्यो ।
२०३७ फागुन १७ गते उहाँकै संयोजकत्वमा अखिल नेपाल महिला संघ पुनर्गठन गरियो । र, समयक्रममा अनेमसंघ मुलुककै अग्रणी महिला आन्दोलनका रूपमा स्थापित भयो । २०७४ सालमा मुलुकी देवानी संहिता ऐन पारित हुने क्रममा पैत्तृक सम्पत्तिमाथिको इच्छापत्र प्रणालीको प्रस्तावित व्यवस्था हटाएर अंशमा छोरीको समान हक स्थापित गर्ने अन्तिम निर्णय प्रक्रियामा सतिसाल झै उहाँ खडा हुनुभयो । शान्ताजीको जीवनमा सेतो सारीसंग जोडिएको त्यो पीडायुक्त जागरुकता थिएन भने सायद आज पैत्तृक सम्पत्तिमाथि छोरीको समान हक स्थापित नहुन पनि सक्थ्यो ।
सहाना प्रधानको राजनीतिक संलग्नता युवा अवस्थादेखिको हो । आन्दोलनको क्रममा पुष्पलालसँग वैवाहिक सम्बन्ध जोडियो । पञ्चायतको आगमनसँगै सन्तानको एकल अभिभावकत्व निर्वाह गर्ने क्रममा पेशागत र पारिवारिक हण्डर र ठक्करसँग आमनेसामने हुँदै जीवन अगाडि बढ्यो । तर, उहाँको बारेमा नकारात्मक टिप्पणी गर्नेको कमी थिएन । पञ्चायतको ज्यादतीले प्राध्यापन पेशावाट समेत निष्कासित भएपछि पुष्पलालसँगै निर्वासनमा बस्न थाल्नुभयो । तर, केही समयमा नै पुष्पलाल कमरेडको मृत्यु भयो । त्यसपछि सहाना प्रधान पार्टी नेतृत्व तहको एउटा सदस्यका रूपमा क्रियाशील हुनुहुन्थ्यो ।
त्यहीबीच पञ्चायत फाल्ने संयुक्त आन्दोलनमा वाममोर्चाको तर्फबाट सवैका लागि मान्य हुने र खासगरी नेपाली कांग्रेसको समेत विश्वास जित्नसक्ने नेता चाहियो । हिजो नानाथरीको टिप्पणी गर्ने नेताहरूका लागि वाममोर्चाको नेतृत्व गर्न सेतो सारीवाला सहाना प्रधान सर्वस्वीकार्य हुनुभयो । उहाँ वाममोर्चाको अध्यक्ष बन्नुभयो । पञ्चायती निरंकुशता ढाल्ने आन्दोलनको शुरूआतीमा मात्र होइन, पञ्चायतको अन्त्य गरी वहुदलीय व्यवस्था स्थापनाको लागि राजासँगको सम्झौतामा सहाना प्रधानको हस्तक्षेप निर्णायक रहेको इतिहास सायद आज सबै दलका शीर्ष स्थानमा रहेका नेतृत्वको स्मरणमा हुनुपर्छ । यसरी पञ्चायतको अन्त्य र बहुदल स्थापनाको आन्दोलनको अग्रपंक्तीको नेतृत्व त्यही सेतो सारीले गरेको थियो ।
मुलुकमा विद्यार्थी आन्दोलन उकाली चढ्दै गर्दा भोजपुरमा क्रियाशील विद्या पाण्डे २०३६ सालमा अखिलको एकताको पाँचौ राष्ट्रिय सम्मेलनमा सहभागी हुनुभयो । २०३७ सालदेखि विराटनगर केन्द्र बनाएर विद्यार्थी आन्दोलनमा उहाँ हुनुहुन्थ्यो । अर्धभूमिगत रूपमा पार्टी काममा जोडिँदै गर्दा मदन भण्डारीसँग विवाह भयो । त्यसपछि मदनमा थपिएको पार्टी जिम्मेवारीका कारण परिवारको पूर्णत: जिम्मेवारी काँध थाप्दै सांगठनिक जीवनको निरन्तरता अनेमसंघमार्फत हुँदै थियो । २०५० जेठ ३ गतेको दासढुंगा घटना उहाँको जीवनकै ठूलो बज्रपातका रूपमा आइलाग्यो ।
मदन भण्डारीको मृत्युपछि काठमाडौ निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन जित्न पार्टीलाई विद्या भण्डारीको सेतो सारी चाहियो । निर्वाचनपछि संसद जान थाल्दा सहकर्मी सांसदबाटै हिंसात्मक रूपमा सेतो सारीको हुर्मत लिने प्रयत्न भयो । त्यो अकल्पनीय हर्कतको वारेमा तत्कालीन शीर्ष नेतृत्वलाई जानकारी गराउँदा प्राप्त प्रतिक्रिया नेतृत्वको सम्झनामा हुनुपर्छ । त्यस घटनाको पीडाले झण्डै निराशाको शिकार हुन पुग्दा अनेमसंघको तर्फबाट भेटेर गरिएका सान्त्वनापूर्ण वार्तालाप अनेमसंघकी तत्कालीन महासचिवलाई पनि याद हुनुपर्छ । त्यस किसिमका अवाञ्छित कार्य संसदभित्र मात्र सीमित थिएन । सेतो सारीको हुर्मत लिने सानाठूला प्रयत्न संसदबाहिर पनि भए । यस्ता अनगिन्ती दुष्कर्मको शीरमाथि पाइताला राखेर अगाडि बढ्न थालेपछि हिंसात्मक प्रहारका बाबजुद सतिसाल बनेको अविचलित यात्रीको नाम बन्यो विद्या भण्डारी ।
परिस्थितिसँगै जिम्मेवारी थपिँदै गयो । उहाँले काँध थाप्दै जानुभयो । २०५४ सालमा पार्टी विभाजनसँगै महिला आन्दोलनको जिम्मेवारी सम्हाल्दै गर्दा शुरू भएको एकतिहाइ महिला सहभागिताको औपचारिक अभियान राजनीतिक दल र जनआन्दोलन हुँदै पुन:स्थापित संसदमा प्रस्ताव पारित भएसँगै नेपाली महिला आन्दोलनको उपलव्धीको एउटा कोशेढुंगाको रूपमा स्थापित भयो । महिला सहभागिताको त्यस विषयलाई नेपालको संविधान २०७२ मार्फत सुनिश्चित गराउन अन्तिम घडीसम्म गरिएको नीतिगत हस्तक्षेप र राखिएको अडानका बारेमा संविधानसभाका चार प्रमुख दलका शीर्ष नेतामध्ये जिवित रहेका तीन अध्यक्षहरूको सम्झनामा रहेकै हुनुपर्छ । तर, आज त्यही पहलबाट सिर्जित टाकुरोमा बसेर न्यूनतम मानव मर्यादाको समेत ख्याल नगरी सेतो सारीमाथि हिलो छ्यापिदैछ, जुन सर्वथा निन्दनीय छ ।
हाम्रो पुस्ता अन्तरका कारणमा पनि साहना प्रधानका भोगाइ र अनुभूतिहरू विस्तृतमा सुन्न र जान्न पाइएन । त्यसपछिको पुस्ताका कतिपय भोगाइ र अनुभूतिहरू बाहिर आउन थालेका छन् । धेरैका भोगाइहरू अझै सतहमा आएका छैनन् । पञ्चायतविरुद्धको आन्दोलन होस् वा दशक लामो सशस्त्र विद्रोहका सन्दर्भमा विधवा भएका, ती प्रत्येक महिलासँग असंवेदनशील र हिंसात्मक व्यवहार अरु कसैले भन्दा बढी खेप्न परेको अनुभव र अनुभूति रहेकै छ । फरक त्यत्ति हो, सार्वजनिक जीवनको उचाइ र वर्गीय/जातीय अवस्था अनुसार हिंसाको मात्रा फरक छ । समाज परिवर्तनको अभियानकै क्रममा भोगेका ती हर्कतहरूलाई कुनै दिन जस्ताको तस्तै सार्वजनिक गर्न भुक्तभोगीहरू तयार भएमा वा लिपिवद्ध गरेमा नयाँ पुस्ताले बुझ्ने छ, यो समाजमा एउटा विधवा महिला सार्वजनिक जीवनको उचाइमा टेक्न र टिक्न हलाहल विष पिउन र पचाउन तयार हुनुपर्छ ।
मानिस राजनीतिक प्राणी भएकोले एक-अर्काको बीचमा राजनीतिक असहमति हुनु स्वभाविक हुन्छ । विचार र सिद्धान्तमा बेमेल हुनसक्छ । एक-अर्काको गतिविधिका बारेमा चित्त नबुझ्न पाउँछ । त्यसको राजनीतिक र वैचारिक प्रतिवाद गर्न पाइन्छ । तर, हरेक कार्यमा मर्यादाको सीमा हुन्छ । त्यसमा पनि सार्वजनिक व्यक्तिहरूले त अझ जति अग्लो उचाइ र फराकिलो क्षितिज छ, आफ्नो अभिव्यक्ति र व्यवहारमा त्यति नै गहिरो संवेदना राख्न जरुरी छ, जसले मानव समाजमा मर्यादाको नयाँ मानक स्थापित गर्न सकोस । राजनीतिक असहमतिको विषयमा व्यक्तिगत चरित्रमाथिको अप्रमाणित लान्छना संवेदनाहीन रुढिवादी मानसिकताको उपज त हो नै । यो जनताले लडेर स्थापित गरेको संवैधानिक हक र कर्तव्यको पनि सर्वथा खिलापमा हुने कुराको ख्याल गर्न जरुरी छ ।
दम्पतीहरू बीच ‘सँगै बाँच्ने सँगै मर्ने कसम’त केबल भावनाको कुरा हो । वास्तविक जीवनमा भवितव्यबाहेक सँगै मर्ने कुरा फगत वाचा हो । त्यसैले, समाजमा विधवाप्रतिको नफेरिएको प्रवृत्ति र सेतो सारीमाथिको निरन्तर आक्रमण, विभेद र हिंसा देख्दा कामना गर्न मन लाग्छ, कसैका पनि आमाभन्दा पहिला बाबु, भाउजूभन्दा पहिला दाजु, दिदीभन्दा पहिला भिनाजु र आफूभन्दा पहिला श्रीमान्को मृत्यु नहोस् । तर, दुनियाँ कामनाले चल्दैन । अनि त्यस्तो भइहाल्यो भने पनि आज सेतो सारीमाथि आक्रमण भए झैं भोलि ती विधुरमाथि अर्को रूपमा आक्रमण नहोस । किनकी भावना यौनिकतामा होइन, मन र मष्तिष्कसँग सम्वन्धित हुन्छ । र, व्यक्ति जुनसुकै लिंग, वर्ग र समुदायको होस्, अमार्यादित लान्छना र हिंसाले मानवीय मनहरूमा चोट पुर्याएकै हुन्छ । अझ खास अवस्थाका मानिसको मनमा यस्ता प्रहारहरूको खत अरुभन्दा गहिरो हुन्छ ।
तर, हाम्रो समाजमा त्यो राजनीति, जसले सबैभन्दा बढी समानताको कुरा उठायो, महिलाको सेतो सारीमाथिको आक्रमण पनि त्यही आन्दोलनभित्र बढी हुँदै आएको छ । राणाशासनविरुद्ध जेलनेल भोगेकी सहाना प्रधानमाथि पञ्चायतविरुद्ध क्रियाशील युवापुस्ताले गरेका टिप्पणी र बहुदलकालमा आन्दोलनमा जोडिएको पुस्ताले विद्या भण्डारीमाथि लगाएका लाञ्छना उस्तै-उस्तै हुन् । यो अघिल्लो पुस्ताको योगदानलाई गहिराइमा नियाल्नुभन्दा आफू हिँडेको बाटोमात्र क्रान्तिकारी र आफूले खर्चेको समय र श्रम अनि बगाएको पसिना र रगतमात्र मुल्यवान देख्ने प्रवृत्तिको उपज हो । यस्तो प्रवृत्तिले लोकतन्त्रको क्षितिजलाई फराकिलो पार्नेभन्दा खुम्च्याउने मात्र काम गर्दछ । जति पछाडिको पुस्ता त्यति नै फराकिलो र खुल्ला सोचाइ अनि वस्तुवादी विश्लेषण लोकतन्त्रको विकास, विस्तार र मर्यादाका लागि आवश्यक पक्ष हो । यस सत्यलाई अहिलेको पुस्ताले व्यवहारिकरूपमा आत्मसात नगर्ने हो भने नयाँ पुस्ताले पनि सिक्ने कुरा त्यही हुनेछ र आजका पुस्तामाथि औंला ठड्याउन थाल्नेछन् । सबैले हेक्का राख्न जरुरी छ ।
अन्तमा,
नेपालको राजनीतिक प्रणाली र सामाजिक परिवर्तनमा सेतो सारीको त्यो अगुवाइ र सुझवुझपूर्ण पहललाई नजरअन्दाज गर्ने दुष्प्रयास नगरौ । विगतदेखि वर्तमानसम्म विधवा महिलाप्रति हुदै आएका मर्यादाहीन टिप्पणी, विभेद र लाञ्छना कुनै व्यक्तिमाथिको प्रहारमात्र भनेर वुझियो भने त्यो गलत हुनेछ । त्यसलाई महिलाप्रतिको दूषित मानसिकताको उपजका रूपमा बुझौं । सेतो सारी समेतको श्रृंखलावद्ध पहल र प्रयत्नमा खडा भएको राजनीतिक प्रणालीभित्रैबाट त्यसको विरुद्ध हुने हिंसात्मक अभिव्यक्तिले लोकतान्त्रिक आन्दोलनकै अपमान गर्नेछ । सामाजिक न्याय, लोकतन्त्र र गणतन्त्रको पक्षधर भनिनेहरूबाटै प्रणालीसम्मत प्रवृत्ति प्रदर्शन हुन सकेन भने प्रणालीमाथिकै उपहास हुनेछ । यसको बारेमा व्यक्ति, समाज र आन्दोलनले आ-आफ्नो तहमा समीक्षा गर्दै प्रणालीसापेक्ष प्रवृत्ति निर्माणले नै प्राप्त उपलव्धीको रक्षा र दीगोपन सम्भव छ । हिंसा चाहे त्यो सोचाइ, अभिव्यक्ति वा व्यवहार, कुनै पनि किसिमको होस्, लोकतन्त्रमा अमान्य हुन्छ र हुनुपर्छ । हिंसामुक्त समाज निर्माणको अभियानमा हिंसाविरुद्ध हिंसाको भाषा पनि बन्द हुनुपर्छ ।
सबैमा साधुवाद !
लेख, एकदमै व्यवहारिक सत्य छ।
कसैको काम, ब्यबहार राम्रो भएन र आफुलाई भन्नै मन लाग्यो भने जे कुरा गर्नु पर्ने त्यहि गर्ने हो नि, विना कामको कुरा गर्नु आफ्नै ईज्जत घटाउनु हो ।
विगतदेखि वर्तमानसम्म विधवा महिलाप्रति हुदै आएका मर्यादाहीन टिप्पणी, विभेद र लाञ्छना कुनै व्यक्तिमाथिको प्रहारमात्र भनेर वुझियो भने त्यो गलत हुनेछ ।
सुक्ष्म विश्लेषणयूक्त तार्किक लेख, वर्तमान परिवर्तित अवस्था पनी आउनु पर्थ्यो की ? बधाई।
लेख शुरुमा ठिकै छ । पछि अर्कैतिर वहकिएको छ । राष्ट्रपतिका गलत कृयाकलाप लाई सेतो सारीले छोपेर चोख्याउन खोजिएको छ । सेतो सारीमा हिलो छ्याप्ने को हुन् ?भन्ने कुरो लुकाइएको छ र अँध्यारामा झटारो हानिएको छ । कमरेड सहाना प्रधानको अपमान गर्ने को थिए ? खुलाइएको छैन । लेखिकाले नेपाली समाजको आम धारणा बारे कुरो गरेकी हुन् कि ओली गुट विरोधीहरुको उल्लेख गरेकी हुन् ?
लेख राम्रो छ तर सेतो सारीको बहानामा सर्वोच्च पदको गरिमा र जिममेवारी पन्छाउन कहा मिल्छ र
मदन भण्डारीको मृत्युपछि काठमाडौ निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन जित्न पार्टीलाई विद्या भण्डारीको सेतो सारी चाहियो । And this was the historical blunder of UML.
निकै दमदार र विचाराेत्तेजक आलेख । त्यसैले त अब देखावटी विचार (जुन बाेलिन्छ) मात्र वास्तवित मानवकाे मानक हुनसक्दैन, यहाँ सहानुभुतिकाे हाेइन समानुभुति (Empathy not sympathy) काे जरुरी छ । “त्यहि विभेद अन्याय मैले भाेग्दा मलाइ कस्ताे अनुभुति हुन्छ ??” याे नै समानता र सामाजिक न्यायकाे प्रस्थानबिन्दु हाे ।
काठमाडौं क्षेत्र न एक संझदा सेतो सारीको राजनीतिमा केशव स्थापीतको पासो जस्ले किशुनजी जस्तो सन्त नेतालाइ दुखीत बनाएको थियो भन्ने विर्सनु हुदैन