महाशय, तपाईं ‘बलात्कार संस्कृति’लाई प्रोत्साहन गर्दै हुनुहुन्छ !
केहीदिनअघि एकजना साथीले ‘क्लबहाउस’मा भएको एक अन्तर्क्रियाको टाइटल स्क्रिनसट पठाउनुभयो । मेरो म्यासेन्जरमा खसेको स्क्रिनसटमा लेखिएको थियो- ‘छाउपडी गलत वा सही, विकल्प के ?’
शीर्षक देख्नेबित्तिकै अवाक् भएँ । युवाहरूको चेतनास्तर यति कमजोर कसरी ? एक त छाउपडी गैरकानुनी कुरा हो । छाउपडीलाई प्रश्रय दिने गरी शीर्षक राखेर यसमाथि कस्तो बहस चलाउन खोजिएको हो ? त्यसमाथि आफूलाई बहसकर्ताका रुपमा उभ्याइएकाहरू क्लबहाउसमै ‘दाइजो कति लिने ?’ भनेर प्रवचन छाँट्दै थिए ।
हुन त क्लबहाउस नयाँ एप हो । यहाँ बोल्न र सुन्न मिल्छ । विशेषगरी युवावर्ग यसका प्रयोगकर्ता छन् । यद्यपि, यहाँ राम्रा र सान्दर्भिक विषयमा बहस गर्नेमात्र जोडिएका छैनन् । बेतुकका गफ गरेर समय कटाउने ‘गफाडी’हरू पनि क्लबहाउसमा भेटिन्छन् । यही एपमा त्यसको केहीदिनपछि ‘बलात्कार किन हुन्छ ?’ भन्ने शीर्षकमा अर्को बहस देखेँ । यसले त झन् विस्मित तुल्यायो ।
बलात्कारका घटना प्रतिदिन अकल्पनीय ढंगले बढिरहेका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् जब यस्तो घटनाबारे थाहा पाउँछु, मन भारी भइरहेको हुन्छ । केही लेख्न मन लाग्छ, र बोल्न पनि । तर, कतै आवेगमा आएर गलत बोलिरहेको त छैन ! मनमा तर्कना खेल्छन् । यो संवेदनशील विषयमा विचार नगरी बोल्दा उल्टै पीडित नै अन्यायमा पर्लान् कि भन्ने लाग्छ ! र निकै विचार गरेर मात्र बोल्छु ।
तर आफूलाई बौद्धिक खेमामा उभ्याउन खोज्न तत्पर कतिपय युवाहरूको विचार कहाँ अडिएको रहेछ ? यो संवेदनशील विषयमा यस्तो असंवेदनशील भएर तर्कहरूको पेश गर्नु कतिको जायज हो ? यस्ता ‘गफ’ले पीडितहरू झन् पीडित हुन्छन् भन्ने सोच उनीहरूमा रत्तिभर देखिनँ । यतिमात्र होइन रजस्वला, महिला हिंसा, यौन दुव्र्यवहारका विषयमा पुरुषहरू आफ्नो विद्धता छाँटिरहेको सुन्दा आक्रोश पैदा हुन्छ ।
आफूलाई बौद्धिक खेमामा उभ्याउन खोज्न तत्पर कतिपय युवाहरूको विचार कहाँ अडिएको रहेछ ? यो संवेदनशील विषयमा यस्तो असंवेदनशील भएर तर्कहरूको पेश गर्नु कतिको जायज हो ?
मैले अनुभव गरेको कुरा हो । जब कोही महिला आफूले कुनै पुरुषबाट भोगेको हिंसा र दुर्व्यवहारबारे भनिरहेकी हुन्छिन्, तब केही पुरुष उनको कुरामा विमति राख्न तम्सिहाल्छन् । ‘तपाईंले भनेजस्तो सबै पुरुष त्यस्ता छैनन्’ आफूलाई चोख्याउन आफ्नो तर्क पेश गर्न हतार हुन्छ । उनीहरू महिलालाई बुझ्छौं भन्ने गतिलो उदाहरण दिन भ्याइहाल्छन्, ‘महिलाको समस्या पनि बुझ्छौं । किनकि हाम्रो घरमा दिदी, बहिनी र आमा हुनुहुन्छ ।’
मलाई ताजुबचाहिँ यहाँनिर लाग्छ कि के उनीहरूका घरमा दिदी, बहिनी वा आमा नभएको भए बुझ्दैन थिए यी कुरा ? एउटा छलफलको क्रममा म भन्दै थिएँ, ‘अहिले बलात्कारका घटना बढिरहेका छन् ।’ छलफलमा सहभागी एक पुरुष साथीले ‘डिसएग्री’ गर्न हतारो गरिहाले । उनले ‘रेप’ बढेको छैन, घटेको छ भनेर तथ्यबिनाका तर्क दिन थाले । के यो ‘बलात्कार संस्कृति’ हो ?
जब दुर्व्यवहारलाई प्रश्रय दिने खालका हर्कत हाम्रै समाजमा भइरहेका देख्छु, ‘रेप कल्चर’बारे मैले गरिरहेको अध्ययन सम्झन्छु ।
के हो त ‘बलात्कार संस्कृति’ ?
हुन त यो शब्द नै कतिपयको लागि आक्रोशको विषय हुनसक्छ । कतिले भन्नुहोला- ‘संस्कृति बिगार्ने यस्तै लेख्नेले हुन् ।’ किनकि संस्कृति भन्ने शब्द हेर्ने हाम्रो दृष्टिकोण भावनासँग जोडिएको छ । यसकारण आवेगमा आउनु स्वाभाविक हो ।
एक वर्षयता म ‘बलात्कार संस्कृति’बारे विभिन्न लेखहरू पढिरहेको छु । दुई वर्षअघि सामाजिक सञ्जालमा ‘रेप कल्चर’ भन्ने शब्द प्रयोग भएको पहिलोपटक देखेको थिएँ । यसबाट कसरी महिलाको उत्पीडन हुँदैछ भनेर एकजनाले फेसबुकमा प्रस्ट्याउन खोजेका थिए ।
त्यो शब्दले मलाई अन्योलमा पार्यो । मनमनै सोचेँ- रेप कल्चर ? अर्थात् बलात्कार संस्कृति ? मैले त्यो शब्द बुझ्न नसक्नुमा मेरो अध्ययनको कमी हुनसक्थ्यो । वा त मेरो हुर्काइको वातावरण नै कारक हुनसक्थ्यो । संस्कृतिजस्तो शब्दलाई बलात्कार जस्तो अपराधजन्य शब्दसँग जोड्न सकिन्छ र ? मलाई यो शब्दले कल्चर अर्थात् संस्कृतिको परिभाषा खोज्न बाध्य बनायो ।
संस्कृति र परम्परा
मैले ७ कक्षामा ‘संस्कृति हाम्रो धरातल हो, यसले हामीलाई पहिचान दिन्छ’ भनेर लेखेको याद छ । अहिले सम्झँदा लाग्छ, त्यो लेखाइ र वर्षौंपछिको मेरो बुझाइसँग विरोधाभास हुन जान्छ ।
अंग्रेजीमा एउटा शब्द छ- अनलर्निङ । यसको अर्थ हो आफूले सिकेकोे कुरा बिर्सनु ।
यो शब्दलाई व्यवहारमा परिणत गर्न सके कति सहज हुन्थ्यो होला ! संस्कृतिसँग जोडिएका यस्ता भावनात्मक बुझाइ (जुन कक्षा ७ मा पढ्दाको चेतना थियो) म पनि बिर्सिने प्रयास गर्दैछु ।
कक्षा ८ मा हुँदा समाजका कुरीति हटाउनुपर्छ भनेर लेख्थेँ । त्यहीबेला मलाई पहिलोपटक रजस्वला भयो । त्यसपछि मलाई आफ्नै कोठाभित्र लुकाइयो । मलाई घाम र आफ्नै परिवारमा भएका पुरुषको मुख हेर्न बन्देज थियो । कति दिनसम्म विद्यालय पनि जानबाट बञ्चित भएँ ।
यही क्षण मेरा लागि त कहालीलाग्दो थियो भने सुदूर गाउँको छाउगोठमा एक्लै बिताउने नारीहरूलाई कस्तो हुँदो हो ? सर्याकसुरुक गरिरहने सर्प र भय बोकेर आउने अन्धकार ! कति कष्टपूर्ण हुँदो हो त्यो बसाइ । छाउपडीकै कारण वर्षेनि महिलाहरूले ज्यान गुमाइरहेका छन् । नयाँ पुस्तामा यो चिन्ताको विषय हुनुपर्ने थियो । तर यहाँ चिन्ता भन्दा पनि ‘छाउपडी सही कि गलत’ भनेर अन्तर्क्रिया गरिरहेका छन् युवाहरू ।
मैले बुझेअनुसार परम्पराले एक समूहको विश्वास र आचरणको वर्णन गर्छ । जुन एक पुस्ताबाट अर्को पुस्तामा जान्छ । कति सन्दर्भमा अन्धविश्वास र कुरीति पनि धेरै जोडिएका हुन्छन् । जस्तो कि सति प्रथा वा एक अर्को समूहबीच ल्याउने विभेद ।
हुन त हामीले कति परम्परा नकारिसक्यौं । केही भने नकार्न बाँकी छ । कति नियालेर स्वीकार्यौं/स्वीकारेनौं । कति अझै नियाल्न बाँकी छ । संस्कृति कुनै समुदाय वा कुनै पनि समूहको स्थान, काल, परिवेश, जीवनशैली र जीवन पद्धतिसँग जोडिएको हुन्छ । जसमा भाषा , लवज, समाजका फेरबदल आदि पर्छन् । यो युगअनुसार फेरबदल हुँदै गर्छ ।
तीज पहिले विरहका गीत गाउँदै मनाइन्थ्यो भने अहिले धेरैजसो खुसी उल्लासपूर्व पर्वमा परिणत भएको छ । पिटर रिचार्सन र रबर्ट बोइडको परिभाषाअनुसार संस्कृति भनेको यस्तो सूचना हो, जसले समाजको हरेक व्यक्तिलाई प्रभाव पार्छ । ‘यो यस्तो व्यवहार हो, जुन मानिसले समाजका अरु सदस्यबाट पढेर, नक्कल गरेर वा भिन्न प्रकारले सिक्छन्,’ पिटर र रोबेर्टले भनेका छन् । सामाजिक सञ्जाल र टेलिभिजनले मानिसहरूलाई पपुलर कल्चर अर्थात् प्रख्यात संस्कृतितर्फ आकर्षित पारेको छ ।
हामीले बोल्ने चलन चल्तीको भाषा, लगाउने कपडा, सुन्ने र गाउने गीत र खाने खाना यी सबै संस्कृतिका उत्पादन हुन् ।
कसरी सामान्यीकरण भयो बलात्कार संस्कृति ?
अमेरिकामा सन् १९७० मा नारीवादीहरूले ‘रेप कल्चर’ भन्ने शब्द प्रयोग गरे । यो यस्तो संस्कृति हो, जसले महिलाप्रति हुने यौन दुर्व्यवहारलाई नकारी सामान्यीकरण गर्छ । बलात्कार संस्कृतिमा सबैले यौन हिंसा जीवनको एक तथ्य हो भनेर महिलाविरुद्धको आतंकवादलाई सामान्य मानिसकेका हुन्छन् ।
यो त्यस्तो पद्धति हो, जहाँ महिलामाथि बलात्कार भएको छ भने सत्य र तथ्य भन्दा पनि उनले के लगाएकी थिइन्, कहाँ गएकी थिइन्, कुन समयमा थिइन् भन्ने टिप्पणी हुन्छ ।
तपाईं यहाँ पीडितलाई साथ दिनुभन्दा पनि उसलाई दोषीको नजरले हेर्नुहुन्छ । जब महिलाले घरमा आफूमाथि भएको यौन दुर्व्यवहार खुलेर भन्न खोज्छिन्, हाम्रा आफन्त र समाजले यसरी पीडितमाथि नै प्रहार गर्छन्, ‘कसले केटासँग एक्लै जानु भन्या थियो त ? अनि राति निस्केपछि त्यस्तो त भैहाल्छ नि, त्यो बाटोमा केटाहरूले पछ्यौंछन् भन्ने थाहा पाएर पनि किन त्यहाँबाट आएको ?’
‘छोरी भएपछि अब अलि अलि यस्ता जिस्काउने कुरालाई सामान्य लिनुपर्छ । भयो, धन्नले केही ठूलो भएन, थाहा भै हाल्यो कस्तो मान्छे रहेछ । अब आफू टाढा बस्ने त्यो बाट । उजुरी किन गर्नुपर्यो बेक्कार बदनामी…।’
अब उहाँलाई ‘म्यारिटल रेप’ अर्थात् बिहेभित्र हुने बलात्कार त बलात्कार नै होइन भन्ने लाग्दो हो । यस्ता व्यक्ति र विचार जबसम्म हाम्रो समाजमा हुन्छन् तबसम्म यो ‘बलात्कार संस्कृति’ अझै जरा गाडेर बस्छ । यो समाज ‘बलात्कारी समाज’ रहिरहन्छ ।
बलात्कार संस्कृतिमा संवेदनशीलताको निम्ति ठाउँ नै हुँदैन । समस्याको रूपमा हेर्नुको सट्टा ‘बलात्कार संस्कृति’मा मानिसहरू समाज यस्तै त हो भन्ने कोणबाट हेर्छन् । बलात्कार संस्कृतिमा दुर्व्यवहारपूर्ण भाषा, महिलाको शरीर र यौन हिंसालाई ग्ल्यामरको रुप दिइएको हुन्छ, जसले गर्दा समाजले महिलाको अधिकार र सुरक्षालाई बेवास्ता गर्दछ ।
अब यो संस्कृतिलाई सिर्जनाका रुपमा लिइने गीतहरूले पनि प्रश्रय दिएका छन् । जस्तै याद गर्नुभएको छ, केही नेपाली गीतका शब्दहरू । ‘घाँटी भन्दा तल राम्री छे’
‘हेर्छन् ती आँखाले अंग छानी छानी’, ‘छुनलाई होइन हेर्नचाहिँ पाइन्छ, आँखालाई सेक्न जति नि पाइन्छ,’ ‘ए ससुरा बा मलाई साली मनपर्यो…।’ यिनै गीतमा हामी रमाउँदै हुँदै ताली पिट्छौं, नाच्छौं, ठूलो आवाजमा गाउँछौं ।
समाजमा साली भेनाका प्रसंग झिकेर प्रशस्त जिस्क्याइन्छन् । त्यसकारण भेनाबाट जिस्क्याइने सालीले यी सहिदिनुपर्छ । ‘साली भेना जिस्किने त हाम्रो चलन नै हो नि’ भनेर जोड दिनेहरू नै यही समाजका पुरुष हुन् । ‘साली मनपर्यो’ भन्ने भेनाहरूलाई अघिल्लो पालिको ‘अबको तीज नो व्रत प्लिज’ले निद हराम गराएकै हो ।
गीतमात्र होइन, उखान टुक्का र चुट्किलाहरूमा मजाकका पात्र महिला नै हुन्छन् । महिलाको चरित्र हत्या गरेर रमाइलो गर्ने जमात यही समाजमा छ ।
‘गुन्द्रुक पकाउनु र साली फकाउनु पर्दैन’
‘दूध उम्ले अँगेनामा, छोरी उम्ले खाल्डोमा’
‘आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष’
यस्ता अपमानजनक उखानले महिलालाई कति हानि पुगेको छ ? नारीहरूलाई हामी कुन दर्जामा राखिरहेका छौं । विचार गरौं त ?
चलचित्रमा देखाइने दृश्यकै कुरा गरौं । बलात्कारका दृश्य कति असंवेदनशील हुन्छन् । यस्ता कुराले पीडितलाई थपिने पीडाको उत्तरदायी को हुने ? अनि बलात्कारका दृश्यअगाडि महिलालाई देखाइने तरिका र आइटम डान्समा महिलालाई यौनको प्रतिबिम्बका रुपमा देखाउने मानसिकता । यो सबै ‘बलात्कार संस्कृति’को पाटो हो । यसलाई प्रोत्साहन गरिँदैछ ।
केही महिनाअघि एउटा दिग्गज मानिने नेताले एउटा अन्तर्वार्तामा ‘महिला पुरुष पहिले मिल्ने अनि झगडापछि रेप भन्ने’ भन्ने प्रतिक्रिया दिनुभयो । के यसले पीडितलाई झन् उत्पीडन गरेन र ?
अब उहाँलाई ‘म्यारिटल रेप’ अर्थात् बिहेभित्र हुने बलात्कार त बलात्कार नै होइन भन्ने लाग्दो हो । यस्ता व्यक्ति र विचार जबसम्म हाम्रो समाजमा हुन्छन् तबसम्म यो बलात्कार संस्कृति अझै जरा गाडेर बस्छ । यो समाज ‘बलात्कारी समाज’ रहिरहन्छ ।
जब यौन गतिविधिहरूको कुरा आउँछ, एक व्यक्तिको सहमतिको अभाव छ भने त्यो बलात्कार नै हो । ‘सहमतिमा भएको यौनसम्पर्क’ र ‘सहमति बेगरको यौन सम्पर्क’ भन्नै मिल्दैन । सहमति छैन भने त त्यो सिधै बलात्कार हो । बुझ्नुपर्ने के हो भने सबैभन्दा प्रमुख कुरा यही ‘सहमति’ हो । यो नभई हुँदै हुँदैन । र सहमति विवाहित जोडीमा पनि सधैं हुन्छ भन्ने जरुरी छैन ।
कतिपय बेलामा श्रीमान् श्रीमतीबीचमै पनि जबर्जस्ती भएको हुन्छ । त्यसैले वैवाहिक बलात्कार अर्थात् ‘म्यारिटल रेप’ पनि समाजमा अवस्थित छ भन्ने कुरा हामीले नकार्नु हुँदैन । यदि हामीले यसलाई नकारीरह्यौं भने कहिल्यै पनि नैतिक हिसाबले गलत क्रियाकलापमाथि औंला उठाउन सक्दैनाै। बलात्कारीलाई उत्तरदायी बनाउन सक्दैनौं । यस्ता गतिविधिले बलात्कार संस्कृतिको अस्तित्वलाई झन् दह्रो बनाउँछ ।
असहज लाग्छ होला सुन्दा, तर बलात्कार संस्कृति भन्ने शब्द सहज लाग्न बनाइएको पनि हैन । यो त समाजमा भएको ‘हिपोक्रेसी’ कति धेरै छ स्पष्ट देखाउने शब्द हो । महिलालाई भएको उत्पीडन कतिको गहिरो छ भनेर दर्शाउने शब्द हो ।
जब तपाईं कुनै महिलाले यौन दुर्व्यवहार भएकाे सुनाउँदा ‘नट अल मेन’ भन्नुहुन्छ । तब तपाइँ त्यो एक पुरुषको दुर्व्यवहारलाई पनि नकार्दै हुनुहुुन्छ । अनि जब तपाईं मेरो घरमा दिदी बहिनी भएका कारण म महिलालाई सम्मान गर्छु भन्नुहुन्छ तब तपाईं महिलाई फेरि सम्मानको लागि पुरुषसँग जोड्दै हुनुहुन्छ ।
महिला आफैंमा सम्मानका लागि लायक छन् । उनीहरूलाई सम्मान गर्न तपाईंले सम्बन्धहरू याद गरिराख्नु पर्दैन । यस्तै घटनाहरूलाई अगाडि ल्याएर समाजमा भएका निकृष्ट गतिविधि रोक्न यो शब्द प्रयोग हुनु जरूरी छ । यसले आवाज ‘एमप्लिफाई’ गर्छ, समाजको चित्रण जस्तो हो त्यस्तै देखाउँछ । न कि त्यसलाई ढाकछोप गर्न खोज्छ ।
समाजमा प्रयोग हुने भाषा ‘छोरी मान्छे भएर यस्तो गर्नुहुन्न’देखि महिलालाई सम्बोधन गर्ने शब्द, चलचित्र, चुट्किला र उखानमा प्रयोग हुने अपमानजनक शैलीले ‘बलात्कार संस्कृति’को एउटा अंग बनाएको छ ।
यदि तपाईं भिक्टिम सेमिङ गर्नुहुन्छ, गीत र चुट्किलामा महिलालाई वस्तु मानेर मनोरञ्जन लिनुहुन्छ । ‘महिला भएपछि सहनुपर्छ, सम्हालिनुपर्छ, अनि पुरुष भनेका त्यस्तै त हुन्, ‘मेन विल बि मेन’ भनेर भन्दै हुनुहुन्छ भने बुझ्नुस् कि तपाईं ‘बलात्कार संस्कृति’लाई प्रोत्साहन गर्दै हुनुहुन्छ । यसलाई बढावा दिँदै हुनुहुन्छ ।