नेपालमा बिहीबार २६ सय कोभिड बिरामी थपिए, ३९ जनाको मृत्यु
देशभर ६१,७२५ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २,६०७ जना कोभिड बिरामी थपिएका छन् । भाइरस संक्रमणबाट थप ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पीसीआर र एन्टिजन विधिबाट १२,४८४ वटा परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू भेटिएका हुन् । अहिले देशभरि ६१,७२५ भन्दा बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।
२४ घण्टाको अवधिमा २,१४१ जना सङ्क्रमणमुक्त भएका छन्।
भारतमा मृत्युदर स्थिर तर, संक्रमण घट्दै
भारतमा केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ। अहिले पनि भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ। त्यहाँ कोभिडबाट मृत्यु हुने मानिसको कुल सङ्ख्या तीन लाख ८१ हजार नाघेको छ।
सबैभन्दा बढी सङ्म्रित महाराष्ट्र राज्यमा छन् जहाँ ५९ लाख ३४ हजार भन्दा बढी सङ्क्रमित छन्।
नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेश राज्यमा १७ लाख तीन हजार, पश्चिम बङ्गालमा १४ लाख ७१ हजार, बिहारमा ७ लाख १८ हजार र उत्तराखण्डमा ३ लाख ३७ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।
तर सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारले जनाएको छ। भारत सरकारका अनुसार अहिलेसम्म २।९७ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।
ब्राजिलमा एकैदिन तीन हजार जनाको मृत्यु
ब्राजिलमा कोभिड-१९ को सङ्क्रमणबाट करिब तीन हजार नागरिकको मृत्यु भएको बुधबार जानकारी दिइएको छ । स्थानीय समयानुसार २४ घण्टायताको अवधिमा बुधबार मात्र २ हजार ९९७ जनाको ज्यान गएको बताइएको हो ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका २ हजार ९९७ जनाको एकै दिनमा ज्यान गएको हो । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९३ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।
ब्राजिलमा धेरै पछि यति धेरै नागरिक एकैदिन मृत्यु भएको पाइएको छ । योसँगै यहाँ पछिल्ला केही समयमा प्रकोप बढ्दै गएको देखिएको छ । त्यसैगरी सोही अवधीमा थप ९९ हजार ३६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी धेरैपछि यति धेरै संख्यामा सङ्क्रमित भेटिएका पनि बताइएको छ ।
बंगलादेशमा लकडाउन थप एक महिना लम्ब्याइयो
बंगलादेशमा पछिल्लो समयमा कोरोना भााइरसको प्रकोप बढ्दै गएपछि यहाँ जारी रहेको लकडाउन पनि थप एक महिना लम्ब्याइएको बताइएको छ । बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि यहाँ जारी रहेको लकडाउनलाई थप एक महिना लम्ब्याइएको बुधबार जानकारी दिएको छ ।
सो लकडाउन बुधबार रातिदेखि थपिएको छ र आगामी महिना जुलाइको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको बताइएको छ । त्यस अवधिका लागि सार्वजनिक यातायताका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरु सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ ।
सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छुट्याएर खोल्न दिइने छ । यो लकडाउन देशैभरि लगाइएको बताएको छ । बंगलादेश सरकारको मन्त्रीपरिषदको बैठकले बुधबार लकडाउनको समयावधि थप गरेको जनाएको छ । बंगलादेशमा पनि पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ ।
कोरोनाबाट अत्यन्त प्रभावित केही देशका सङ्क्रमित र मृतकको संख्या :
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ७० लाख ४८ हजार ३१ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ३३ हजार १८३ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका तीन करोड ३४ लाख ९८ हजार ५११ छ लाख ६८०
भारत दुई करोड ९७ लाख ३१३ तीन लाख ८१ हजार ९०३
ब्राजिल एक करोड ७६ लाख २८ हजार ५८८ चार लाख ९३ हजार ६९३
फ्रान्स ५८ लाख ९ हजार ३१९ एक लाख १० हजार ७४०
टर्की ५३ लाख ४८ हजार २४९ ४८ हजार ९५०
रुस ५१ लाख ८९ हजार २६० एक लाख २५ हजार ४४३
बेलायत ४६ लाख ५०० हजार ८०५ एक लाख २८ हजार १९०
इटाली ४२ लाख ४८ हजार ४३२ एक लाख २७ हजार १५३
अर्जेन्टिना ४१ लाख ९८ हजार ६२० ८७ हजार २६१
कोलम्बिया ३८ लाख २९ हजार ९८९ ९७ हजार ५६०