‘बिरामीको पीडामा हामी पनि छट्पटिन्छौं, मिल्ने भए आफ्नै प्राण दिएर बचाउँ जस्तो हुन्छ’
सिरहा।
कर्मथलो पुग्छु जब, हासो कतै देखिँदैन
पीडा व्यथाभन्दा अरू, कहीँ कतै भेटिँदैन ।।
ढुङ्गा होइन मेरो मन, दुख्छ घरिघरि
जता हे¥यो त्यतै देख्छु , डर वरिपरि ।।
अग्रभागको सिपाही हुँ, लड्न जानु पर्छ
हाम्रा साझा शत्रुलाई , मिली जित्नु पर्छ ।।
यी हरफहरू गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजका मेडिकल सुपरिटेन्डेन्ट रन्जित झाका हुन् । कोरोनाका बिरामीको उपचारमा खट्दा बिरामीको पीडासँग खेल्दा उनका मनमा उर्लेका भावनालाई कवितामा उतारेका छन् । उनले डायरीमा व्यक्त गरेका भावना समाचारका लागि अन्तर्वार्ताकै क्रममा सुनाए् । कोरोना सङक्रमितहरूले अस्पतालका बेडमा स्वास फेर्न नसकेर छटपटिएका पीडा अनुभूतिको प्रतिविम्व हो यो कविता ।
कोरोना सङ्क्रमणको दोस्रो भेरियन्टले बिरामीहरुलाई मात्र पीडा र छटपटी बनाएको छैन, उपचारमा संलग्न चिकित्सकको मन पनि यसरी नै छिया-छिया पारेको छ । डा. झा भन्छन, ‘आफ्नै सहकर्मी गुमाउनु पर्दा होस या एकपछि अर्का बिरामीले सदाका लागि आँखा चिम्लिरहँदा आफ्नो कर्मक्षेत्रमा सन्नाटा छाइरहन्छ । भोक, प्यास, निद्रा लाग्दैन ।’
कोरोना भाइरस सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिन थालेयता झाले अस्पतालको व्यवस्थापनमा २४ घन्टा खट्नु परेको छ । अस्पतालका १५ जना नर्ससँगै दुईजना चिकित्सकलाई कोरोना सङ्क्रमण भएको छ । एक सय शय्या क्षमताको अस्पतालमा बिरामी सिकिस्त भएपछि आउँछन् । डाक्टर झाले स्वस्थ्य मानिसमा ९५ भन्दा माथि हुनुपर्ने अक्सिजन लेबल घटेर ५० भन्दा तल झरेपछि बिरामी अस्पताल आउने गरेका छन् । उनले थपे, ‘त्यसैले बिरामी बचाउने हाम्रो लाखांै प्रयास निरर्थक हुन्छ ।’
गजेन्द्रनारायण सिहं अस्पतालमा शय्याको अभाव नभए पनि अक्सिजन, औषधि र जनशक्तिको अभाव छ । ‘अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन । भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजनकै सपोर्टमा राख्नु पर्छ,’ डाक्टर झाले थपे, ‘अक्सिजनको ब्यवस्थापन सिलिन्डर फिल गर्न धरानदेखि विराटनगरसम्म पुग्नु पर्ने बाध्यता छ । त्यतिबेलासम्म बिरामी नै ‘एक्पायर’ हुने सम्भावना बढी हुन्छ ।’
कोरोना संक्रमित भएको थाहा हुनेवित्तिकै बिरामीको मनोबल निकै कमजोर बन्ने गरेको डा. झाको अनुभव छ । ‘आत्तिएर अब म बाँच्दिन भनेर बिरामीहरु पहिला नै मनोबल कमजोर बनाएर आउँछन् । मान्छे कोरोना सङ्क्रमणले भन्दा पनि कहिलेकाहीं त डरले नै मरेको हो कि जस्तो लाग्छ,’ उनले सुनाए ।
यही साताको एउटा घटना स्मरण गर्दै डाक्टर झाले भने, ‘३५ वर्षीय एकजना युवालाई हामीले बचाउन सकेनौं, बडो पीडा हुन्छ यस्तो घटनाले । आँखा अगाडि एक पछि एक मान्छे मृत्युले ढलेको देख्दा आफैंलाई सम्हाल्न गाह्रो हुन्छ । मिल्ने भएँ, आफ्नै प्राण दिएर बचाउ जस्तो हुन्छ ।’
कोरोना महामारीको समयमा विरामीको उच्च चाप र जनशक्तिको अभावको दुखदायी अवस्था स्वास्थ्यकर्मीले नै सबैभन्दा धेरै ब्यहोरेका छन् । ‘जतिबेलै प्रेसरमा काम गर्नुपर्दा भोक, प्यास र निद्रा नलाग्ने हुँदो रहेछ,’ डा. झाले भने ।
उनले पीडादायी अवस्थाले आफ्नो पेशाप्रति नै वितृष्ण लाग्नेसम्मको अनुभव सुनाए । ‘चारैतिर भयावह अवस्था देख्दा कहिले काही त यस्तो पनि लाग्छ चिकित्सकप्य पेशा नै किन रोजेको होला ?,’ उनले भने, ‘तर फेरि सम्हालिन्छु । गर्व पनि लाग्छ । आज यो कठिन परिस्थितिमा चिकित्सक भनेको के हो ? चिकित्सकको आवश्यकता महत्व के छ भन्ने कुरा मानिसले बुझेका छन् । हजारौं पीडितको ज्यान बचाउन पाएका छौं ।’
कार्यक्षेत्रको भयावह स्थितिको कारण पीडामा रहेका उनीजस्ता स्वास्थ्यकर्मीलाई परिवारको साथले राहत दिएको छ । पहिलो चरणको महामारीमा श्रीमती र छोराछोरीलाई काठमाडौंमै राखेका डा. झाले यसवर्ष आफूसँगै ल्याए । उनीहरु नै छुट्टिएर बस्न मानेनन् । ‘मैले दुवै डोज खोप लगाइसकेको छु । सुरक्षाका सबै मापदण्ड अपनाएर सँगै बसेका छौं । म अस्पतालमा कोरोना युद्ध लडिरहेको छु, परिवारले साथ दिएको छ । यसले काम गर्ने उर्जा दिँदोरहेछ,’ डा. झाले भने ।