विपद्‍ जोखिम न्यूनीकरणकाे पूर्वतयारीमा ध्यान दिन राष्ट्रपतिको सरकारलाई आग्रह – Nepal Press

विपद्‍ जोखिम न्यूनीकरणकाे पूर्वतयारीमा ध्यान दिन राष्ट्रपतिको सरकारलाई आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद्को समयमा गरिने खोजी तथा उद्धार‚ विपद्पश्‍चात् गरिने राहत‚ पुनर्स्थापना र पुनर्निर्माणका कामको साथसाथै विपद्‍ जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा समेत ध्यान दिन सरकारसँग अनुराेध गरेकी छन् । शुक्रबार विपद्का घटनाबारे जानकारी लिन सितनिवासमा गृहमन्त्रीसहितको टोलीलाई बोलाएर उनले मनसुनको शुरुवातसँगै बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धारमा संलग्न सुरक्षाकर्मीको सराहना समेत गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले विकासका लागि भौतिक संरचना निर्माण गर्दा भूकम्प‚ बाढी‚ पहिरो‚ चट्याङ र डढेलो जस्ता प्राकृतिक जोखिमलाई समेत ध्यान दिनुपर्ने भन्दै यस सन्दर्भमा गृह मन्त्रालयले सम्बन्धित अन्य मन्त्रालय र निकायसँग समेत समन्वय गरी कार्य गर्न सुझाव पनि दिएकी छन् । विपदको समयमा नागरिकको जीउधन सुरक्षा गर्न तथा कठिनाईमा परेका नागरिकका लागि राहत एवं उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउनु सरकारको पहिलो कर्तव्य रहेको पनि उनले बताइन ।

प्राकृतिक विपद् जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयले विपद् बीमा लागू गर्ने निर्णय गरेको, नेपाली सेनाको नेतृत्वमा द्रूत हवाई उद्धार भैरहेको, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितका निकायको समन्वयमा राहत र उद्धारका कार्य सबै प्रदेशमा सञ्चालन गरिएको गृहमन्त्री खगराज अधिकारीले राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले मनसुनको शुरुवातसँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षतिबारे जानकारी पनि लिएकी छन् । सरकारले विपद् प्रतिकार्यबारे गृह मन्त्रालय‚ राष्ट्रिय विपद्न्यू नीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएकी हुन् ।

विपद्बारे गृहमन्त्री खगराज अधिकारी‚ गृह सचिव महेश्वर न्यौपाने, राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रपतिलाई मनसुनजन्य विपद्का कारण भएको भौतिक तथा मानवीय क्षति‚ प्रभावितको खोजी तथा उद्धार एवं सरकारले सञ्चालन गरेको राहत एवं पुनर्स्थापनाका कामको बारेमा जानकारी गराएका छन् । उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहभागिता थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *