मेलम्चीमा फेरि भीषण बाढी, दोलालघाट पुल पनि जोखिममा
काठमाडौं । मेलम्चीमा फेरि भीषण बाढी आएको छ । करिब ९ बजेतिर एक्कासी नदीमा असार १ गतेको भन्दा पनि ठूलो बाढी आएपछि नदी तटीय क्षेत्रका स्थानीयको भागभाग भएको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए ।
बाढी मेलम्ची बजारको इलाका प्रहरी कार्यालय छेउसम्म आइपुगेको रसिकले बताए । बाढीले तालामाराङको तेर्से उच्च माध्यमिक विद्यालय कटान गरेको छ । त्यस्तै उक्त क्षेत्रको रातु खोला पुल पनि जोखिममा परेको छ ।
सार ४ गते, राति ९:५० बजे
सिन्धुपाल्चोक जिल्ला, बाह्रबिसे स्थित भोटेकोशी नदीमा जलसतह सतर्कता तह आसपास रहेकोले नदी तटिय क्षेत्रमा भोलि बिहानसम्म सतर्क रहौ।
जल तथा मौसम विज्ञान विभाग । pic.twitter.com/NeWQhJ2XuK— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 18, 2021
एक्कासी बाढी बढेपछि स्थानीयमा झन् त्रास बढेको छ । स्थानीय प्रशासनले नदी आसपासका नागरिकलाई सुरक्षित स्थानमा बस्न र सावधानी अपनाउन आग्रह गरेको छ ।
मेलम्ची खोला मिसिएर बग्ने इन्द्रावती नदीको बाढीले काभ्रपलान्चोकस्थित दोलालघाट पुल पनि जोखिममा परेको वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश नेपालले जानकारी दिएका छन् ।
त्यस्तै सिन्धुपाल्चोककै सुनकोशी र भोटेकोशी नदीमा पनि पानीको बहाव बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त नदी आसपासका बासिन्दालाई पनि सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।