स्पेनको ‘डरलाग्दो आत्मविश्वास’ले कसरी विश्व फुटबलमा राज गर्‍यो ? – Nepal Press

स्पेनको ‘डरलाग्दो आत्मविश्वास’ले कसरी विश्व फुटबलमा राज गर्‍यो ?

काठमाडौं । युरो २००८ को छनोट अन्तर्गत २००६ को सेप्टेम्बर ६ मा विन्सडोर पार्कमा १४ हजार ५ सय समर्थक अगाडि उत्तरी आयरल्यान्डसँग स्पेन ३-२ गोलको नतिजामा पराजित भयो । र, फेरि एक पटक असफलताको श्रृंखला लम्बियो । कोही पनि समर्थक ‘सरप्राइज्ड’ नभई घर फर्किए । किनभने, त्यो हार १९६४ मा जितेको एउटा मात्रै उपाधि- युरोपियन च्याम्पियनसिप पछिको विश्व फुटबलमा आफूलाई स्थापित गर्न नसकेको स्पेनको एउटा अंश मात्र थियो ।  सन् १९६४ मा युरोपियन च्याम्पियन बनेको स्पेनले त्यस यता ठूला प्रतियोगिता (युरो वा विश्वकप)मा एक पटकमात्र क्वार्टरफाइनल पार गरेको थियो ।

२००७ सेप्टेम्बर ६ मा स्पेनविरुद्ध गोल गरेपछि उत्तरी आयरल्यान्डका डेभिड हेली ।

लालिगा भेटेरान लुइस एरागोनेस २००४ मा स्पेनिस राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । र, उनले आफ्नो कार्यकाल २५ खेलको अपराजित यात्रा तय गर्दै सुरु गरेका थिए । तर, फेरि एक पटक स्पेनिस टोलीमा देखिएको ‘ओप्टिजम’ हरायो, जब २००६ को विश्वकपमा फ्रान्सको ‘बुढो’ टोलीसँग अन्तिम १६ मा पराजित भयो । पराजित पनि यस्तो टोलीसँग भयो, जुन फ्रेन्च साइडलाई स्पेनले सहजै परास्त गर्ने आंकलन थियो । त्यसमाथि २८औं मिनेटमा लिएको अग्रता बचाउन नसकेर १-३ गोलको नतिजामा ।

लुइस एरागोनेस ।

तीन महिनापछि एरागोनेसले अठोट गरे- केही त गर्नुपर्छ । उत्तरी आयरल्यान्डमा बितेको त्यो रातले उनलाई बुझायो- ‘परिवर्तन आवश्यक छ।’ त्यो एक असाधारण क्षणको सुरुआत थियो । त्यसको ६ वर्षपछि स्पेन विश्व फुटबलको सबैभन्दा सफल टोली कहलियो । र, विश्व फुटबलमा राज गर्न निस्किएको स्पेनको तयारी आयरल्यान्डमा बितेको रात सुरु भएको थियो ।

०००

त्यसबेला स्पेनिस टोलीमा विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेल्ने र फरक स्थानबाट आएका खेलाडीहरूबीच विवाद र खटपट भएको हल्ला चलेको थियो । जब स्पेनले १९८४ को युरोपियन च्याम्पियनसिपको फाइनलमा भरपर्दा गोलकिपर लुइस एर्कोनाडाले गरेको असाधारण गल्तीका कारण फ्रान्ससँग पराजित भयो । त्यसबेला झनै यस्ता हल्लाले चर्चा पाएका थिए । यतिसम्म ‘रुमर’ चले कि एर्कोनाडाले आफू बस्क (स्पेनको एक अटोनोमस समुदाय/राज्य)बाट भएका कारणले स्पेनले नजितोस् भनेर जानेर नै गोल खाएकोसम्म भनिएको थियो ।

‘त्यो समयममा स्पेनिस टोलीमा धेरै खेलाडी रियाल मड्रिड र बार्सिलोनाबाट व्यावसायिक खेल्ने गरेका थिए । र, जब हामीसँगै मैदानमा जान्थ्यौं तपाईंले दुई खेलाडीबीच केही हदसम्म दूरी महसुस गर्नुभएको थियो ?,’ एरागोनेसको नेतृत्वमा स्पेनिस टिमबाट खेलेका स्ट्राइकर फर्नान्डो मोरिएन्तेसले भन्छन्, ‘तर, त्यस्तो केही थिएन । अहिले हामी स्पेनिस टोलीमा जुन साथ र आत्मीयता देखिन्छ, त्यो बेला पनि उस्तै थियो ।’

स्पेनिस टोलीको सफलताको बाधक राजनीति थिएन । सबैभन्दा पहिलो रणनीति थियो, ‘ट्याकटिस’ थियो ।

आयरल्यान्डविरुद्धको खेल विश्वकप २००६ पछिको दोस्रो प्रतिस्पर्धात्मक खेल थियो । र, त्यो खेलपछि एरागोनेसले बुझेका थिए कि उनका पूववर्ती प्रशिक्षकहरूले अपनाएको ‘डाइरेक्ट फुटबल’ र लामो पासको रणनीतिले काम गरिरहेको छैन ।

०००

उनले चाहेको परिवर्तनका लागि खेलाडी छनोटमा एक कठोर निर्णय लिनु आवश्यक थियो । र, उनले त्यो निर्णय पनि गरे । उनको त्यो कठोर निर्णयको मूल्य झण्डै प्रशिक्षकबाट बर्खास्त भएर चुकाउनु परेको थियो ।

त्यो समयमा रियाल मड्रिडका सुपरस्टार राउल एक सामान्य खेलाडी मात्र थिएनन् । उनी स्पेनिस फुटबलका आइकनसमेत थिए । धेरै स्पेनिसले सोच्ने आइडियल फुटबलको मानक उनै राउल थिए । उत्तरी आयरल्यान्डको राजधानी बेलफास्टमा भोगेको त्यो ३-२ गोलको पराजयपछि एरागोनेसले राउल उनी त्यो स्टाइलमा फिट नभएको बुझिसकेका थिए ।

परिणाम स्वरुप उनले स्टार स्ट्राइकर राउललाई ‘ड्रप’ गरे । त्यो समयमा मड्रिडका मिडियाहरूले एक लिजेन्डको अपमान भएको बताउँदै एरागोनेसको चर्को आलोचना गरेका थिए । राउल टोलीमा पर्नका लागि योग्य नभए पनि उनलाई व्यक्तिगत रूपमा खबर गरेर मात्रै टोलीको घोषणा गरिनुपर्ने माग थियो ।

राउल त्यो बेला २९ वर्षका थिए । र, आयरल्यान्डविरुद्धको हारमा उनले स्पेनका लागि खेलेको १०२औं खेल थियो । त्यो नै उनको अन्तिम हुने थियो । तर, एरागोनेसले कुनै पनि पश्चाताप गरेनन् ।

‘मैले राउललाई भनिनँ र आफू छनोट नभएको आफैंलाई थाहा पाउन छाडिदिएँ,’ एरागोनेसले भनेका थिए, ‘उनी मात्रै अपवाद होइनन् । सामान्य सत्य के हो भने मैले टोलीमा आवश्यकता अनुसार खेलाडीलाई बोलाएको छु ।’

जुन समयमा प्रशिक्षक एरागोनेस स्पेनका लागि उपयुक्त खेल शैलीको विकास गर्ने मार्गतर्फ अग्रसर थिए, त्यो समयमा स्पेनिस मिडियाले उनको खोइरो उतारेका थिए ।

स्वीडेनसँग पराजित भएसँगै युरो २००८ गुमाउने सम्भावना बढेको थियो । र, सन् २००७ को अक्टोबर १३ तारिखमा युरोपियन च्याम्पियनसपिको छनोटका लागि जित्नै पर्ने बाध्यतासहित स्पेनिस टोली डेनमार्क उडेको थियो । त्यो खेलको एक नतिाजामा स्पेनिस फुटबलको मुहार फेर्ने मार्गमा रहेका प्रशिक्षक एरागोनेसको भाग्य निहित थियो ।

तर, डेनमार्कविरुद्ध ३-१ को जितसहित स्पेनिस फुटबलको पुनर्जन्म भयो ।

०००

बार्सिलोनाका पूर्व स्ट्राइकर डेभिड भिया त्यो खेल सम्झिँदै भन्छन, ‘हाम्रा लागि त्यो खेल सबैथोक थियो । सबै थोकका लागि हामीले त्यो खेल जित्नु थियो । यदि हामीले हारेका भए प्लेअफको भर पर्नु पर्थ्यो । र, प्लेअफमा नपुग्न पनि सक्थ्यौं ।’

एरागोनेसका लागि ‘युरेका’ मोमेन्ट डेनमार्कविरुद्धको ३९औं मिनेटमा आयो । जब स्पेनका फुलब्याक सर्जियो रामोसले स्पेनका लागि दोस्रो गोल गरे । र, स्पेन समूह विजेताको रूपमा युरो २००८ का लागि छनोट भयो ।

त्यति मात्रै होइन, स्पेनको त्यो यात्राले नयाँ स्पेनिस फुटबलको उदय भएको संकेत दियो । जुन स्पेनिस टोलीमा पास र ‘कलेक्टिभ वर्क’नै मुख्य शुत्र बन्यो ।

त्यसबेला स्पेनिस फुटबलका स्पोटिङ डाइरेक्टर रहेका फर्नान्डो हिएरो सम्झिन्छन्, ‘त्यो खेलअघि एकदमै धेरै तनाव थियो । र, तनावको कारण त्यो खेलको महत्त्व थियो ।’

‘डेनमार्क त्यो बेला एकदमै बलियो टोली थियो । तर, हामी एकदमै शान्त थियौं र लुइस एरागोनेसमाथिको विश्वास त्यो शान्तिको कारक थियो,’ फिएरो भन्छन्, ‘लुइसले- चिन्ता नगर… हामी भोलिको खेल ३-१ ले जित्छौं…’ भनेका थिए । र, अविश्वसनीय तरिकाले हामीले त्यसै स्कोरलाइनमा खेल पनि जित्यौं ।’

खेल शैली परिवर्तन भएकोबारे मिडफिल्डर मार्कोस सेन्नाले भने, ‘पहिलो पटक एरागोनेसले बीचमा छोटो पास खेल्ने खेलाडीलाई छनोट गरेका थिए ।’

प्रशिक्षक एरागोनेसले आफ्नो विदाइमा प्रशस्त मिडफिल्डर दिए । बल पासल गर्ने खेलाडी दिए । यो प्रशंगमा उनले कयौं पटक मसला पनि थपिदिएका थिए । उनले धेरै स्थान र समयमा जाभी, एन्द्रेस इनिएस्टा र सान्टी कार्जोलासँग सोधेका थिए- तिमी कसरी खेल जित्छौ ? गोल गरेर ? होइन ? किन तिमी धेरै गोल गर्दैनौ ?

एरागानेसले स्पेनमा रोपेको हेर्न सुन्दर लाग्ने त्यो सर्ट पास फुटबलको बीउ स्पेनिस फुटबलमा प्रभावकारी पनि सावित भयो ।

०००

‘अभिसापको अन्त्य– युरो २००८’

युरो २००८ को फाइनल प्रतियोगितामा स्थान सुरक्षित गरेसँगै अस्ट्रिया र स्वीटजरल्यान्डमा स्पेनलाई ४४ वर्ष लामो उपाधिहीन यात्रामा पूर्णविराम लगाउने मौका थियो ।

‘म त्यो अस्ट्रिया पुगेको दिन सम्झिन्छु,’ त्यो टोलीका लेफ्ट-ब्याक जोन क्यापडेभिला भन्छन्, ‘हामी त्यहाँ मध्य दिउँसो पुगेका थियौं । सोझै ट्रेनिङमा जानु सामान्य कुरा थियो । तर, प्रशिक्षक लुइले हामीलाई भोलिसम्मका लागि छुट्टी दिए । कल्पना गर्नुहोस् ! हामी त तीन छक्क पर्यौंः हामी त्यहाँ पुगेका मात्र के थियौं उनले हामीलाई छुट्टी दिए ।’

‘मलाई लाग्छ हामीले त्यसै समयबाट जित्न सुरु गरेका थियौं । किनभने, लुइसलाई थाहा थियो त्यसले हामीलाई अझ नजिक बनाउने छ । जसको प्रत्यक्ष नतिजा खेलमा पनि देखिन्छ,’ उनले भने ।

समूह चरण पार गरेसँगै स्पेनले क्वार्टरफाइनलमा इटालीको सामना गर्नुपर्‍यो । इटालीलाई त्यस बेलासम्म कहिले पनि ठूला प्रतियोगितामा स्पेनले पराजित गर्न सकेको थिएन ।

‘यसले स्पेनिस फुटबलमा नयाँ आयाम थप्यो,’ क्यापडेभिलाले भने, ‘उनीहरू प्रतिष्ठित टोली थिए र हामीमाझ ठूला टोलीहरूसँग सँधै हार्ने ‘हुडो’ थियो । हामीले राम्रो खेले पनि हारिरहेका थियौं ।’

त्यो खेलमा पनि स्पेनले बल पोसेसन र आक्रमणमा प्रभुत्व जमाएको थियो । तर, गोल हुन सकेन गोलरहित बराबरीमै निर्धारित टुङ्गिएको थियो । र, खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

एरागोनेसले आफ्ना असिस्टेन्ट जोसे उफार्टेलाई पेनाल्टी सुटआउटको तयारी गर्न अह्राए । त्यो बेला स्पेनको फिटनेस कोच जेसुस पेरेडेस त्यो समय सम्झिँदै भन्छन्, ‘उफार्टेले पेनाल्टीको तयारी गर्न थाले । र, पेनाल्टी लिने खेलाडीको सूची बनाउन थाले । उनी एक/दुई खेलाडीलाई लिएर उनी अन्योलमा थिए र उनले एरागोनेससँग सल्लाह मागे । त्यतिकैमा एरागोनेसले भने ‘देखाऊ मलाई…’ र उनले च्याते र फ्याब्रिगासलाई अन्तिम पेनाल्टी टेकर बनाए ।’

क्यापडेभिला फ्याब्रिगासले सहजै पेनाल्टी लिएको सम्झिन्छन् ।

‘म बीचको लाइनमा थिएँ र त्यो गोल हेर्न सकिरहेको थिइँन,’ उनी भन्छन्, ‘जियानलुइजी बुफोन एकदमै ठूला थिए । उनी दानब जस्ता देखिन्थे । मलाई थाहा छैन कसरी सेसले त्यो पेनाल्टीमा गोल गर्न सफल भए । यदि म अन्तिम पेनाल्टी टेकर भएको भए मलाई एकदमै टाउको दुखाइको विषय हुन्थ्यो । म सिनियरमध्ये एक खेलाडी थिएँ ।’

तर, फ्याब्रिगासको गोलसँगै स्पेनले जित्यो र सेमिफाइनलमा पुग्यो ।

फ्याब्रिगासले उफ्रिएर एकदम संयमतासहित बुफानेको बायाँतर्फ प्रहार गरेका थिए । र, सोही पेनाल्टीमार्फत् इटालीलाई पहिलो पटक ठूला प्रतियोगितामा स्पेनले पराजित गर्‍यो । इटाली चारमध्ये दुई पेनाल्टीमा चुकेको थियो भने स्पेनले एउटा मात्र खेर फालेको थियो ।

पछि ड्रेसिङ रूममा पेरेडेसले फ्याब्रिगासको तारिफ गर्दै भने, ‘ग्रेट पेनाल्टी सेस- तिमी आत्मविश्वासी देखियौ ।’

‘जिजस’ प्रतिउत्तरमा फ्याब्रिगासले भने, ‘यो मैले १४ वर्षको उमेर यता लिएको पहिलो पेनाल्टी थियो ।’

स्पेनको सबैभन्दा प्रभावकारी फुटबल अखबार एएसका पूर्व प्रधानसम्पादक अल्फ्रेडो रेलानो भन्छन्, ‘त्यो समयमा मेरा लागि सबै कुरा परिवर्तन भयो ।’

‘त्यसपछि, कहिल्यै पनि स्पेनिस राष्ट्रिय फुटबल टोलीलाई लिएर मेरो मनमा आशंका रहेन । न युरो २००८ का लागि न त्यसपछि कहिल्यै,’ अल्फ्रेडो भन्छन्, ‘हामीले एउटा अभिसापलाई टारेको जस्तो लाग्यो । हामी एकदमै राम्रो खेलिरहेका थियौं । र, त्यो माहोलले पूरा स्पेन गर्मिएको थियो । हामीले त्यो समयदेखि निराशा छाड्यौं ।’

हिएरो थप्छन्, ‘त्यही समय थियो, जब स्पेन ‘डोमिनेन्ट’ फोर्स बन्यो । त्यो पल थियो- जब हामीले इतिहास बदल्यौं ।’

स्पेनको पुस्ताका लागि नै त्यो एक अविस्मरणीय क्षण रह्यो । तत्कालीन प्रधानमन्त्री जोसे लुइस जापाटेरोका लागि पनि त्यो एक सफलताको क्षण रह्यो ।

२००८ मा युरो जितेपछि प्रशिक्षकसँग खुसी मनाउँदै स्पेनिस टोली ।

‘मेरो उमेर समूहका मानिसको तर्फबाट पनि सेसले सधैं सम्मान पाउनेछन्,’ हिएरो भन्छन्, ‘किनभने त्यो बेलासम्म हामीले स्पेनले क्वार्टरफाइनल पार गर्न सक्छ भन्ने सोचेकै थिएनौं ।’

ठूलो आशंका र द्विविधाबाट मुक्त स्पेनले सेमिफाइनलमा रुसको सामना गर्‍यो । बदलिएको र उच्च मनोबलसहित मैदानमा उत्रिएको स्पेनिस टोलीले रुसविरुद्ध प्रतियोगिताकै उत्कृष्ट नतिजा ३-० गोलको नतिजामा जित हासिल गर्दै २४ वर्षपछि पहिलो पटक ठूला प्रतियोगिताको फाइनल यात्रा तय गर्‍यो ।

‘प्रतिक्षाको घढी टुङ्गियो,’ क्यापडेभिला भन्छन्, ‘सेमिफाइनलमा स्पेनिस टोलीको उत्कृष्टताको प्रदर्शन भयो । त्यो समय हामीसँग डरलाग्दो आत्मविश्वास थियो । र, हामीलाई पनि चाहे जे सुकै होस्, हामी फाइनल जित्न सक्छौं भन्ने भान भयो ।’

०००

अन्तिम परीक्षा जर्मनीसँग

जर्मनीविरुद्ध फाइनलको अघिल्लो दिन एरागोनेसले टीमसँग कुरा गरे । र, एरागोनेसले त्यो समय भनेका कुरा त्यो टोलीमा भएका खेलाडीले अहिलेसम्म पनि सम्झिन्छन् ।

‘ट्रेनिङका दौरान एरागोनेसले हामी सबैलाई पिचको बीचमा बोलाए,’ क्पाडेभिला सम्झिन्छन्, ‘एरागोनेसलके भने– वालेसले भोलि खेल्दैनन्…’ यति सुनेर हामी सबै सोचिरहेका थियौं… वालेस ? को वालेस ? यत्तिकैमा जाभीले सोधे– बोस… को वालेस ? तपाईंको मतलब बालाक ?’

‘जेसुकै भए पनि म उनलाई वालेस भन्छु,’ एरागोनेसले त्यसबेला भने, ‘त्यसले फाइनलका लागि भएको चिन्ता हरायो र हामी सबै हाँस्यौं ।’

जुन २९, २००८ को भिएनामा एरागोनेसको प्रभाव फेरि एकपटक महत्त्वपूर्ण सावित भयो ।

युरो २००८ को फाइनलमा टोरेसले जर्मनीविरुद्ध गरेको एक मात्र गोल ।

फाइनल अगाडि ड्रेसिङ रूममा उनले स्ट्राइकर फर्नान्डो टोरेसलाई भने- निनो! दुई सेन्टर ब्याकको बीचमा बस । त्यसो गर्दा उनीहरू पछाडि बस्न बाध्य हुन्छन् । र जब हामीसँग बल हुन्छ, तिमी उक साइड हेरेर दौडेऊ ।’

तत्कालिन लिभरपुलका फरवार्ड टोरेसले उक्त खेलमा जर्मनीवरुद्ध एक मात्र निर्णायक गोल गरेका थिए ।

पछि हेर्दा एरागोनेसको त्यो व्याख्या/निर्देशन जर्मनीको डिफेन्स ब्रेक गर्ने ‘निन्जा टेक्निक’ थियो । र, टोरेसले त्यसरी नै रन बनाएर जाभकिो ‘थ्रु–बल’मा स्पेनका लागि विजयी गोल गरेका थिए ।

डेभिड भिया भन्छन्, ‘कयौं काला रातहरूपछि, जुनसुकै कारणले जहिले युरो र विश्वकपबाट आफ्नो टोली ‘नक्ड आउट’ भइरहेका थियो …. तर त्यो दिन अन्ततः देशले राहतको सास फेर्यो ।

स्पेनका लागि त्यो एउटा सुरुआत मात्र थियो । त्यसपछि पनि स्पेनले त्यो ‘डरलाग्दो आत्मविश्वास’ र विजयी यात्रालाई कायम राख्यो, तर एरागोनेस बिना । तर, उनले नै देखाइदिएको मार्गबाट ।

०००

एरागोनेसले २००७ को सेप्टेम्बरमा नै जिते पनि हारे पनि उनले छाड्ने घोषणा गरेका थिए ।

स्पेनिस फुटबल संघले उनको स्थानमा रियाल मड्रिडका पूर्व प्रशिक्षक भिसेन्ट डेल बोस्कलाई नियुक्त गर्‍यो । युरो च्याम्पियन बनेर स्पेनिस टोलीको स्वदेश फर्किँदा उनीहरू चढेको विमान एक घण्टा एयर ट्राफिक जामका कारण ढिलो अवतरण भएको थियो । विमानस्थलबाट बाहिर निस्किँदा स्पेनिस टोली ‘लुइस–क्युदते’ अर्थात् ‘लुइस– बस’को ‘नन-स्टप’ च्यान्टमा रुमलियो ।

स्पष्ट रूपमा त्यो समर्थन र माग देखेर एरागोनेसले आफ्नो मनस्थिति परिवर्तन गर्ने सम्भावना थियो । र, स्पेनिस टोलीका धेरै खेलाडी उनको समर्थनमा थिए । तर, यो निर्णय स्पेनका स्पोर्टिङ निर्देशक हिएरोको हातमा रह्यो । हिएरोले अगाडि नै निर्णय भइसकेकाले डेल बोस्कलाई नै प्रशिक्षक बनाउने निर्णय लिए ।

‘मेरो दिमागमा केही पनि आशंका र द्वुविधा थिएनन्, र मलाई मेरो निर्णय सहि छ भन्ने विश्वास थियो,’ उनले भने, ‘मेरो निर्णय क्लियर थियो ।’

विश्व फुटबलमा एक विवादास्पद नाम- लुइस एरागोनेस । जसले फुटबलप्रति पागल देशमा सफलताको बहार ल्याएका थिए । तीनै एरागोनेसको सन् २०१५ को फेब्रुअरी १ तारिखमा ७५ वर्षको उमेरमा मृत्यु भयो ।

क्यापडेभिला भन्छन्, ‘हामी उनले पुर्‍याएको योगदानप्रति सधैँ कृतज्ञ छौं । पहिलो कुरा क्षमतावान् खेलाडीले भरिएको एउटा मजबुत टोलीको निर्माण र दोस्रो आफ्नो फुटबलको बारेमा भएको ज्ञान प्रमाणित जसरी गरे त्यो सराहनीय छ । हामी सबैसँग उनसँग बिताएका मिठा अनुभवहरू छन् । उनको कमी हामीलाई महसुस हुन्छ ।’

विश्व फुटबलमा राज

सुरुआतदेखि नै डेल बोस्कले आफूसँग सफलताको स्पष्ट- ब्लुप्रिन्ट रहेको बताएका थिए । उनले स्पेनिस टोलीमा २०१० को विश्वकप अगाडि एक चौथाइ र युरो २०१२ अगाडि एक चौथाइ परिवर्तन गरेका थिए ।

केही अनुहार फेरिए पनि स्पेनिस टोलीको ‘स्प्रिन्ट’मा केही तलमाथि भएन । युरोपियन च्याम्पियन स्पेन छनोटमा अपराजित रहँदो २०१० मा विश्वकप खेल्न अफ्रिका पुग्यो । उत्कृष्ट फर्ममा रहँदो अफ्रिका पुगे पनि विश्वकप यात्राको सुरुआत सुखद् रहेन । समूह चरणको पहिलो खेलमा स्वीटजरल्यान्डसँग १-० ले पराजित हुँदै स्पेनले विश्वकप यात्रा सुरु गरेको थियो ।

‘त्यो हाम्रा लागि धेरै पछाडि धकेल्ने कुरा थियो । हामीले त्यस्तो होला भन्ने न सोचेका थियौं, न त्यसका लागि तयारी नै गरेका थियौं,’ प्रशिक्षक डेल बोस्कले भने, ‘हामीले कसैलाई आरोप लगाएनौं । हामी सबैले त्यसको जिम्मेवारी लियौं ।’

त्यसपछि स्पेनिस टोलीको आत्मविश्वासमा कति पनि कमी आउन दिइएन । तर, होन्डुरसविरुद्धको खेलअघिको चिन्ता स्पष्ट थियो । केही समयपछि भियाले भनेका थिए- त्यो स्पेनका लागि विश्वकपकै सबैभन्दा कठिन क्षण थियो ।’

बाँकी दुई खेलमा जित निकाल्दै समूह चरणबाट नकआउटमा पुग्ने मौका बाँकी थियो । तर, होन्डुरसविरुद्धको खेलमा पराजित भए करिब-करिब प्रतियोगितामा अगाडि बढ्ने ढोका बन्द हुने थियो ।

होन्डुरसविरुद्ध स्पेनले २-० को महत्त्वपूर्ण जित हासिल गर्‍यो । तर, अन्तिम खेलमा चिलीसँग बराबरीमा रोकिए पुन: स्पेन प्रतियोगिताबाट बाहिरिने निश्चित थियो । त्यो खेलअघि दुवै प्रशिक्षकको मौनताले सबैकुरा बयान गरिरहेको थियो ।

डेल बोस्क त्यो वातावरण यसरी सम्झिनछन्- केही वर्ष अगाडि एक प्रशिक्षक थिए, जसलाई खेलको आधा घण्टा अगाडि ड्रेसिङ रुम एकदमै शान्त चाहिन्थ्यो । सबैले एकदमै ध्यान दिनुपर्थ्यो । तर, त्यो टोलीलाई राम्रो मुड बनाउनका लागि ‘इनर्जेटिक’ गीत त्यो पनि ठूलो स्वरमा बजाउनु पर्थ्यो ।’

‘होन्डुरस र चिलीविरुद्धको खेलमा भने हामी प्लेनको आवाज सुन्न सक्थ्यौं’ डेल बोस्क भन्छन्, ‘त्यसबाट पनि टोलीमा कति दबाब छ भन्ने स्पष्ट हुन्थ्यो ।’

०००

समूह चरणको अन्तिम खेलमा चिलीलाई २-१ को नजितामा पराजित गर्दै स्पेनले समूह चरण पार गर्‍यो । त्यो बेला डेल बोस्कले खेलाडीलाई उनीहरूका अगाडि चार फाइनल रहेको बताएका थिए । अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल सबै फाइनल नै थिए ।

अन्तिम १६ मा पोर्चुगललाई हराएको स्पेनले ऐतिहासिक क्वार्टरफाइनलमा पाराग्वेलाई पराजित गर्‍यो । त्यो बेलासम्म कहिले क्वाटर्रफाइनल पार नगरेको स्पेन फेरि एकपटक सफलताको नजिक पुगेको थियो ।

‘सबैले पाराग्वेलाई स्पेनले सहजै हराउने सोचका थिए । तर, त्यति सहज थिएन,’ क्पाडेभिला भन्छन् ।

पाराग्वेले आफ्नो जीवन त्यसै खेलमा अड्किएझैँ ज्यान दिएर खेलेको थियो । डेभिड भियाले खेलपछि भनेका थिए- यस्तो लाग्थ्यो कि उनीहरू ११ होइन २० जना खेलाडी मैदानमा थिए ।

स्पेनका लागि यो खेल यसकारण पनि एकदमै महत्त्वपूर्ण र कठिन भयो कि पाराग्वेविरुद्ध जाभी एलोन्सोले दुई पटक लिइएको पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसमाथि इकर कासियासले पाराग्वेका खेलाडीले प्रहार गरेको पेनाल्टी रोकेका थिए ।

‘यो एक ‘पागल’ खेल थियो, तपाईँलाई थाहा छ, त्यो खेलमा पहिलो गोल जसले गर्‍यो त्यसले जित्ने थियो,’ भियाले भने ।

पाराग्वेविरुद्धको खेलमा गोलपछि खुसी मनाउँदै स्पेनिस टोली ।

डेल बोस्क पनि त्यो खेल राम्ररी सम्झिन्छन्- ‘त्यो समयमा मेरा खुट्टा काँपिरहेका थिए । त्यो अवस्थामा कसैले केही कुरा पनि नियन्त्रणमा राख्न सक्दैन ।’

त्यो खेलमा भियाले हेडरमार्फत प्रहार गरेको बल दुवै पोस्टमा ठोकिएर अनौठो तरिकाले गोलमा परिणत भएको थियो । त्यो गोल हेर्दा लाग्थ्यो कि बलले पोस्ट भित्र नपस्नका लागि हरसम्भव प्रयास गरिरहेको थियो । ‘त्यो एक गोल्डेन गोल थियो । मेरो करिअरको सबैभन्दा महत्त्वपूर्ण खेल थियो ।’

०००

सेमिफाइनलमा स्पेनको भेट जर्मनीसँग निश्चित भयो । २००८ युरोको फाइनल जस्तै । स्पेनले प्रतियोगिताको सबैभन्दा उत्कृष्ट प्रदर्शन सेमिफाइनलका लागि साँचेर राखे झैँ खेल्यो । र, बार्सिलोनाका डिफेन्डर कार्लोस पुयोलले एक मात्र निर्णायक गोल गरे ।

जर्मनीविरुद्धको सेमिफाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । मध्यान्तरमा स्पेनिस टीम ड्रेसिङ रुमतर्फ जाँदै गर्दा जाभीले पुयोललाई भन्दै थिए- ‘यदि हामीले कर्नर पायौं भने पुयोल तिमी पेनाल्टी स्पटमा बस ।’

जाभीले पुयोललाई पेनाल्टी स्पटमा बस्न र पछिल्लो खेलमा बार्सिलोनाबाट रियाल मड्रिडविरुद्ध गरेको जस्तै गोल गर्ने प्रयास गर्न सल्लाह दिएका थिए ।

र, सोचेजस्तै भयो । पुयोलले दोस्रो हाफमा गरेको गोलसँगै तीन नकआउट स्टेजमा जित निकाल्दै स्पेन पहलिो पटक फाइनलमा पुग्यो । जोहान्नेसबर्गमा हुने फाइनलमा स्पेनको भेट नेदरल्यान्ड्ससँग तय भयो ।

तत्कालीन प्रधानमन्त्री जापाटेरो फाइनल अगाडिको क्षण यसरी सम्झिन्छन्- ‘म मेरी श्रीमती र छोरीसँग थियौं । र, हामीले एक अर्कालाई त्यति चिन्तित कहिले पनि देखेका थिएनौं । एउटा फुटबल म्याचलाई लिएर मेरी श्रीमतीको त्यो चिन्ता मैले कहिल्यै देखेका थिइनँ ।’

डेल बोस्क भन्छन्- ‘हामी हाम्रो देश बचाइरहेका थियौं । त्यति मात्रै होइन हाम्रो स्टाइलको फुटबल पनि हामी बचाइरहेका थियौं ।’

क्यापडेभिला त्यो भन्दा धेरै फिजिकल फुटबल कहिले नभउको बताउँछन् । ‘हामी बल पोसेसनमा उनीहरूभन्दा उत्कृष्ट देखिएका थियौं । र, उनीहरूले हामीलाई रोक्ने एक मात्र तरिका ‘एग्रेसन’ थियो,’ उनी भन्छन्, ‘तर, त्यो अत्यधिक थियो । म चकित भएको थिएँ ।’

सबैले त्यो खेल पेनाल्टी सुटआउटमा जान्छ भन्ने अनुमान गरिरहेका थिए । त्यसअघि दोस्रो हाफमा डच टोलीका लागि आर्जेन रोबिनले एक सुन्दर मौका खेर फालेका थिए । तर, अतिरिक्त समयमा धकेलिएको खेलको ११६औं मिनेटमा एन्द्रेस इनिएस्टाले गरेको गोलले फेरि स्पेनिस फुटबलको इतिहास लेख्यो ।

‘बल मेरो खुट्टामा आउँदा मसँग दुई विकल्प थिए,’ फ्याब्रिगास भन्छन्, ‘एउटा प्रहार गर्ने अर्को पास दिने । म अहिलेसम्म पनि सोच्छु, मैले त्यो प्रहार गरेको भए के हुन्थ्यो ? तर, मैले इनिएस्टालाई उत्कृष्ट पोजिसनमा देखेँ र मेरा लागि त्यो करियरको उत्कृष्ट क्षण थियो । र, मैले इनिएस्टालाई पास दिएँ ।’

‘कर्नर फ्ल्यागसम्मको त्यो ७० मिटरको दौड मेरो जीवनकै सबैभन्दा छिटो थियो,’ क्यापडेभिला भन्छन्, ‘मैले त्यो बेलामा ग्यारेथ बेललाई पनि पछाडि छाड्थेँ होला । तर, त्यो मेरो जीवनको सबैभन्दा सशक्त, सबैभन्दा अविस्मरणीय क्षण थियो । त्यो एकदमै नयाँ क्षण थियो । सम्झिनका लागि त्यो क्षण एकदमै इमोसनल र युनिक थियो ।’

डेभिड भिया भन्छन्- ‘हामीले यो प्रतियोगिता ब्राजिल, इटाल र जर्मनीका लागि रहेछ । हामीले रातो जर्सी लगाएर त्यो ट्रफी उचाल्छौं भन्ने कहिले कल्पना गरेका थिएनौ । र, त्यो उपाधि जित्नु एकदमै गाह्रो र असम्भव लाग्थ्यो ।’

क्यापडेभिला थप्छन्, ‘फुटबल पिचमा मेरो जीवनको सबैभन्दा इमोसनल क्षण विश्वकपको उपाधि उचालेर सम्मानकालागि ल्याप बनाउँदै गर्दाको थियो । म लामो समयदेखि संघर्ष गरिरहेका आमाबुबालाई स्टेडियममा रोएको देखिरहेको थिएँ । मेरी आमाले त्यो खेल हेर्नका लागि एक हजार २ सय युरो तिरेकी थिइन् ।’

‘तपाईंले त्यो बेलामा धेरै कुरा सम्झिनुहुन्छ । जस्तैः धेरै सानो हुँदा उहाँहरूले मलाई हरेक दिन ट्रेनिङमा लैजाने र ल्याउने गर्नुहुन्थ्यो । त्यो बेलामा उहाँहरूले गरेको बलिदानको फल ८० हजार मानिसका अगाडि पाउनु मेरालागि सन्तोषजनक थियो,’ क्यापडेभिला भन्छन्, ‘यो सोचभन्दा बाहिरको कुरा थियो, मेरा बुबाआमाको रुवाइ एकदमै भावनात्मक थियो ।’

लगातार तीन पटक- इतिहास लेखिएको थियो

स्पेन २०१२ युरोको प्रमुख दाबेदारको रूपमा पोल्यान्ड र युक्रेन पुग्यो । तर, स्पेनिस फुटबलका सबै समर्थक थिएनन् ।

‘उनीहरू धेरै प्रहार किन गर्दैनन् ?’ जर्मनीका विश्वकप विजेता पूर्व कप्तान फ्रान्ज बेक्कनबाउरले स्पेनबारे सोध्दा प्रश्न उठाए ।

तर, विभिन्न आलोचनाका बाबजुद स्पेन त्यस अघिभन्दा पनि प्रभावशाली देखियो । पूर्व प्रधानमन्त्री जापाटेरोको शब्दमा ‘युरो २०१२ को फाइनल एरागोनेस र डेल बोस्कले निर्माण गरेको टोलीको सबैभन्दा उत्कृष्ट क्षण थियो । त्यो टोली घडीको ‘क्लबवर्क मेकानिजस’ जस्तो थियो ।’

कसैले पनि त्यो बेलासम्म ४-० को नतिजा निकाल्दै त्यति सहज तरिकाले फाइनल जितेको थिएन । र, त्यो अपत्यारिलो फाइनल विजयसँगै स्पेन लगाता तीन ठूला प्रतियोगिता जित्ने पहिलो टोली बनेको थियो ।

तत्कालीन प्रशिक्षक त्यो फाइनललाई आफ्नो टोलीले खेलेको ‘सबैभन्दा उत्कृष्ट फुटबल म्याच’ भएको दाबी गर्छन् ।

हिएरो भन्छन्, ‘उनीहरूले आफूलाई स्पतेको जर्सीमा विजेता देखेका थिए । र, जब उनीहरूसँगै अन्तर्राष्ट्रिय स्तरमा सँगै उत्रिन्थे आफूलाई विजेता देख्थे । जो जित्न बानी परिसकेका थिए ।’

‘खेलाडीहरू एक-अर्काबीच एकदमै ‘कम्फोर्टेबल’ थिए । र, जितिरहेका बेला यो अझ सहज बन्छ,’ हिएरो भन्छन्, ‘तर, यथार्थमा उनीहरू जुन ‘फिलोसोपी’को फुटबल खेलिरहेका थिए, त्यसमा कम्फोर्टेबल थिए । त्यो फिलोसोपीले स्पेनिस फुटबललाई एकदमै सशक्त बनाएको थियो ।’

२००८ मा स्पेनलाई युरो जिताउन निर्णायक गोल गरेका टोरेस २०१२ मा छोरीहरूसँग खुसी साट्दै ।

‘मैले कस्तो सौभाग्य प्राप्त गरेँ, के-के कुराको अनुभव बटुलेँ ? त्यो मेरा छोराछोरी र नातिनातिनीलाई आगामी वर्षहरूमा कथा सुनाउने छु,’ क्यापडेभिला भन्छन्, ‘म त्यो सुनाउन अहिलेदेखि नै हतारिएको छु । म एकदमै भाग्यशाली रहेँ । मैले विश्वका केही उत्कृष्ट खेलाडीहरूसँग ड्रेसिङ रूम सेयर गर्ने मौका पाएँ ।’

तर, ऐतिहासिक तीन लगातार उपाधि जितेर ब्राजिल पुगेको स्पेसिन टोलीको क्याबिनेटमा अर्को ट्रफी थप्ने सपना त्यति नै छिटो टुट्यो । २०१४ विश्वकपमा त्यो विश्व विजेता स्पेनको प्रभुत्व समाप्त हुँदै गएको संकेत स्पष्ट रूपमा देखियो ।

त्यो खेलाडीहरूको आत्मसन्तुष्टिको नतिजा थियो ? पुराना खेलाडीमाथि देखाइएको बफादारी घातक भयो ? कि, ६ वर्षसम्म विश्व फुटबलमा राज गरेको स्पेनिस फुटबल ‘एरा’को सामान्य समाप्ति थियो ?

२०१४ विश्वकपमा सुरुआती दुई खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिनु सायद यी सबै कुराको मिश्रण थियो ।

प्रशिक्षक डेल बोस्क यो पुस्तालाई एक गिफ्ट दिन चाहन्थे । तर, त्यो एराको समाप्ति सुरुआत पनि त्यसरी नै भयो, जसरी विश्व फुटबलमा राज गर्न निस्केको स्पेनले सुरुआत गरेका थियो । त्यो नेदरल्यान्डविरद्धको खेलमा रोबिन भान पर्सीले गरेको गोल त्यसको ज्वलन्त उदाहरण थियो ।

विश्वकप २०१४ मा समूह चरणको पहिलो खेलमा जाभी एलोन्सोले पेनाल्टीमार्फत गोल गरेसँगै स्पेनले १-० को अग्रता लिएको थियो । तर, भान पर्सीको अविश्वसनीय हेडरमार्फत् बराबरी गरेको नेदरल्यान्ड्सले १-५ को जित निकालेको थियो ।

तर, बिलय जसरी भए पनि स्पेनिस फुटबलको त्यो स्वर्णीम पुस्तालाई विश्व फुटबलको सबैभन्दा सफल टोलीको रूपमा सम्झिइने छ । त्यो टोलीको रूपमा चिनिने छ, जसले फुटबल खेल्ने नयाँ शैलीको प्रतिपादन गर्‍यो । जितको पार्टी त सकियो । तर, कस्तो पार्टी ६ वर्षसम्म चलेको थियो, त्यो सधैं अविस्मरणीय रहने छ।

बिबिसीबाट उमेश दाहालले गरेको अनुवाद

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *