बाढीको बहाब घटेपछि मेलम्ची बजार जोखिममुक्त
काठमाडौं । शुक्रबार राति पुनः भीषण बाढी आएको मेलम्चीमा अहिले पानीको बहाब घटेको छ । बाढीको बहाब घटेपछि बजार क्षेत्र जोखिममुक्त रहेको स्थानीय हस्त पण्डितले जानकारी दिए ।
उनका अनुसार शुक्रबारको बाढीले मेलम्चीमा थप क्षति पुर्याएको छ । बाढीले जताततै कटिङ गरेकाले थप घरहरूमा पनि क्षति पुगेको आँकलन छ । ‘दोस्रो पटकको बाढीले कति क्षति गर्यो भन्नेचाहिँ अहिले भन्न सकिने अवस्था छैन । बाढीका कारण भरिएको हिलाले सामान निकाल्न कठिन भइरहेको छ । निकाल्ने प्रयासमा छौं,’ पण्डितले नेपाल प्रेससँग भने ।
पानीको बहाब घटेपछि काभ्रेपलाञ्चोकको दोललाघाट पनि अहिले जोखिम बाहिर रहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख भूपेन्द्र बहादुर खत्रीका अनुसार भौति क्षति भने हुन पाएको छैन । ‘पानी रातिदेखि नै घटेको छ । क्षति खासै केही भएको छैन, ’ उनले भने ।