स्मार्ट लकडाउन ! के हो यो भनेको ?
काठमाडौं । कोरोना भाइरसले विश्वलाई नयाँ-नयाँ कुरा सिकाइरहेको छ । चीनमा कोरोना फैलिएपछि त्यहाँको सरकारले ‘लकडाउन’ को विल्कुल नयाँ अभ्यास गर्यो, र त्यसलाई नेपालसहित अरु धेरै देशले पछ्याइरहेका छन् ।
नेपालमा कोरोना प्रवेश हुनासाथ सरकारले देशलाई कडा लकडाउनमा राखेको थियो । सुरु-सुरुमा त लकडाउन कस्तो हुँदोरहेछ भनेर मानिसहरु सडकमा हेर्न निस्किन्थे । अहिले त यो शब्द सबैको मुखमा झुण्डिसकेको छ ।
पहिलो चरणको लकडाउन सकिएपछि जनजीवन फेरि पुरानो अवस्थामा फर्किँदै थियो । तर, कोरोनाको दोस्रो छालले फेरि देशलाई लपेटेसँगै देश फेरि अघोषित लकडाउनमा छ । पहिलेजस्तो देशब्यापी लकडाउन नगरेर विभिन्न जिल्लाहरुले आफ्नो ढंगले निषेधाज्ञा जारी गरेका छन् ।
कोरोना सहज हुँदै गएपछि निषेधाज्ञा पनि खुकुलो गर्नुपर्ने माग बढ्दै गएको छ । यसैबीच कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को अस्तिका बैठकले नयाँ शब्दावली प्रचलनमा ल्याएको छ- स्मार्ट लकडाउन । सीसीएमसीको बैठकपछि जारी गरिएको विज्ञप्तिमा अब स्मार्ट लकडाउनको मोडलमा जाने उल्लेछ । र, यसमा धेरै मानिसहरु अल्मलिएका छन् ।
अहिलेसम्म निषेधाज्ञा मात्रै भन्दै आएको सरकारले फेरि ‘लकडाउन’ को कुरा गर्दा कतिपय त्रसित पनि भए । यद्यपि, अधिकारीहरू भने स्मार्ट लकडाउनलाई फरक किसिमले व्याख्या गर्छन् ।
के हो स्मार्ट लकडाउन ?
स्मार्ट शब्द पछिल्लो समय सूचना-प्रविधिसँग जोडिएका कुराहरुमा प्रयोग गर्ने गरिन्छ । जस्तै, स्मार्ट कार्ड, स्मार्ट राहदानी, स्मार्ट लाइसेन्स, स्मार्ट शौचालय आदि । तर, सूचना-प्रविधिभन्दा पनि जनजीवनसँग जोडिएको लकडाउन कसरी स्मार्ट हुन्छ त ?
सीसीएमसीका पदाधिकारी तथा उद्योग मन्त्रालयका सहसचिव कृष्णहरी पुष्कर स्वास्थ्यको मापदण्डलाई कडाइका साथ लागु गरेर आर्थिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने योजनालाई स्मार्ट लकडाउनरुपमा अर्थ्याउँछन् ।
उनले भने, ‘स्मार्ट भनेको स्रोत र साधनले भ्याएसम्म सबै काम अनलाइनबाट गर्ने हो । सकेसम्म धेरै काम मानिसको भौतिक उपस्थितिबिना अनलाइनबाट गर्न सकिने प्रवन्ध गरिने छ ।’
आधुनिक प्रविधि प्रयोग नभएका सरकारी निकायहरूमा थोरै कर्मचारी उपस्थित गराएर सञ्चालन गरिने पुष्करको भनाइ छ । अब सुरु हुने स्मार्ट लकडाउनमा सबै क्षेत्रका काम सुचारु हुने उनी बताउँछन् ।
‘स्मार्ट लकडाउनमा इ–कमर्सबाट हुने कामलाई पनि प्राथमिकमा राखिन्छ । कुन काम कुन समयमा गर्ने भनेर सरकारले वा जिल्ला प्रशासन कार्यालयले तोकेको हुन्छ । उद्योग, व्यापार र व्यवसाय सञ्चालन गर्ने समय तोकिन्छ । त्यहाँ कोरोनाभाइरस रोकथामको लागि स्वास्थ्यको मापदण्ड कडाइका साथ लागू हुने छ,’ उनले सुनाए ।
तीन मोडालिटी
मान्छेको भिडभाड नहुने गरी तीनवटा मोडालिटीमा अगाडि बढ्ने योजना सरकारको छ । पहिलो सीसीएमसीले कुन व्यवसायलाई कसरी सञ्चालन गर्ने भनेर तोक्ने । दोस्रो, जिल्लास्तरीय सीसीएमसीका प्रमुखले जिल्लामा कसरी आर्थिक र सामाजिक क्रियाकलापहरू अगाडि बढाउने भन्ने निर्णय गर्ने । र तेस्रो, बन्दको कारण रोजगारी गुमाएर खानबस्न नै समस्या भएका नागरिकलाई राहत दिँदै आर्थिक क्रियाकलापसँग जोड्ने छ ।’
स्मार्ट लकडाउनमा कोरोना बिरामीको उपचार पनि स्मार्ट तरिकाले हुने सरकारको दाबी छ । कोही बिरामीलाई समस्या परेको खण्डमा तत्कालै समस्या समाधानको लागि अनलाइनबाट सम्भव भएसम्म सेवाहरु तत्कालै दिइने पुष्करले बताए ।
सरकारले कोरोना संक्रमण कम हुँदै गएका बेला आर्थिक क्षेत्रलाई चलाएमान बनाउनका लागि स्मार्ट लकडाउनको अवधारणा अगाडि सारेको हो । निजी क्षेत्रले पनि कोरोना विरुद्धको खोप लगाएर बजारलाई खुलाउनुपर्ने माग गरिरहेको छ । स्मार्ट लकडाउनमा फेरि संक्रमण फैलन नदिने गरी आर्थिक र सामाजिक क्षेत्र खुला गर्ने अवधारणाअनुसार परिस्थितिअनुसार निर्णय गर्दै जाने पुष्करले बताए ।
पाकिस्तानको सिको
स्मार्ट लकडाउन नेपालको लागि लागि नौलो शब्दावली भए पनि विश्वका अन्य देशले यसको प्रयोग गरिसकेका छन् । पाकिस्तानले यसअघि गत मार्चमा स्मार्ट लकडाउनको अभ्यास गरेको थियो ।
कराँची लगायत सहरहरूमा लागू गरिएको स्मार्ट लकडाउनमा बजार, सपिङमल, अफिस तथा रेस्टुरेन्टहरु बन्द गरिएका थिए । जबकि किराना पसल, हस्पिटल, फार्मेसी, बेकरी, मासु तथा दुध पसलहरु खोल्न अनुमति दिइएको थियो ।
पाकिस्तानले कोरोना संक्रमण उच्च दरले बढ्दा स्मार्ट लकडाउन लागू गरेको थियो । नेपालमा भने कोरोना घटेको बेला यो मोडलमा जाने कुरा गरिएको छ ।