दिपक मनाङे प्रचण्ड निवासमा, राजनीतिक घटनाक्रमबारे ‘बृहद् छलफल’
काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले काठमाडौं आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।
फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ बताएका छन् ।
गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालयको बार्गेनिङ गरिरहेका मनाङे त्यसकै लविङका लागि प्रचण्डलाई भेट्न आएको अनुमान गरिएको छ ।
गण्डकी मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले मनाङेसहित चार जनालाई मन्त्री नियुक्त गरे पनि कुनै मन्त्रालय दिन सकेका छैनन् ।
११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निधो भइसकेको छ । त्यसपछि आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङे संघर्षमा छन् ।
प्रचण्डलाई भेट्न मनाङे मनाङ मर्स्याङ्दी क्लबको जर्सी लगाएर खुमलटारस्थित उनको निवासमा पुगेका थिए ।