घरबहाल प्रकरणमा तर्कवितर्कः तिमीले कोठा पाएनौं, हामीले कोटा पाएनौं !
काठमाडौं । दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा दिन अस्वीकार गर्ने घरबेटीलाई प्रहरीले पक्राउ गरेसँगै सामाजिक सञ्जालमा यो विषयले निकै चर्चा पाएको छ । देशकै राजधानीमा जातका आधारमा विभेद हुनु लाजमर्दो भएको टिप्पणी धेरैले गरेका छन् ।
यद्यपि, योभन्दा फरक मत राख्नेहरुको पनि कमी छैन । कानूनले वर्जित गरेको जातीय छुवाछुत गलत भए पनि कोठा भाडामा नदिएकै आधारमा घरबेटी पक्राउ पर्नु चाहिँ अर्को अतिवाद भएको एकथरिको बुझाइ छ । संविधानले प्रत्येक नागरिकलाई आफ्नो सम्पत्तिमाथिको अधिकार सुनिश्चित गरेकाले आफ्नो घर भाडामा दिने-नदिने घरबेटीको निजी विषय भएको उनीहरूले तर्क गरिरहेका छन् ।
घरबहाल सम्बन्धी बहसमा सहभागी हुँदै वरिष्ठ पत्रकार नारायण वाग्ले लेख्छन्, ‘थर सोधेर भाडामा बस्न नदिने घरबेटीका विभेदजन्य व्यवहार भुक्तभोगी दलित युवाका अनुभव सुनेपछि आज लाग्दैछ, नेपाली समाज कति बलियो आन्दोलनको पर्खाइमा छ ।’
थर सोधेर भाडामा बस्न नदिने घरवेटीका विभेदजन्य व्यवहार भुक्तभोगी दलित युवाका अनुभव सुनेपछि आज लाग्दैछ नेपाली समाज कति बलियो आन्दोलनको पर्खाइमा छ!
— narayan wagle (@narayanwagle) June 20, 2021
वाग्लेको ट्वीटमा प्रतिक्रिया जनाउँदै दुर्गा थापाले लेखेका छन्, ‘छोइछिटो र विभेद गर्ने दानवताविरुद्ध हत्यारा अपराधीलाई जस्तै कडा कानूनी व्यवस्था नभएसम्म समाजमा विभेदको श्रृंखला रोकिँदैन ।’
सुमन न्यौपानेले समस्या समाधानको यस्तो उपाय सुझाएका छन् – ‘बहालका घरहरू मार्केट सिस्टममा राख्ने, मार्केटले मात्र फेयर वितरण गर्छ । बिना कुनै विभेद, सेयर बजारमा जस्तै । पूँजीवादले पैसा तिर्ने र नतिर्नेलाई बाहेक अन्य केही विभेद गर्दैन । अर्थ आर्जनको बाटो बनाउँदा पनि समाधान छ । तर, पूँजीवादलाई नै गाली गर्छन् ।’
वाग्लेले केही नकारात्मक प्रतिक्रियाको पनि सामना गर्नुपरेको छ ।
चित्रविचित्र ट्विटर ह्याण्डबाट लेखिएको छ, ‘तिमी पैसाको लागि आन्दोलन गर या समाजमा जातिय द्वन्द्व चलाएर समाज तहसनहस पार तर, मेरो घरमा कसलाई भाडामा बस्न दिने कसलाई नदिने म आफैंले निर्धारण गर्ने हो, तिमीलाई बाल मतलब ?’
कुमार आचार्य लेख्छन्, ‘तिम्रा आन्दोलनले केही फार्दैन ! आफ्नो घर, आफ्नो हक ! केको आन्दोलन ? आफ्नो घरमा बाहुन-क्षेत्री-नेवारलाई कोठाभाडा दिउँन कि खाली राखुन् ?, किन टाउको दुखाई ?
नारायण अधिकारीको प्रतिक्रिया रमाइलो छ ।
‘हामीले पढ्ने छेका (बिहे नभएको बाहुन केटो) बराम्चा- लाई कोठा भाडामा दिन्नथे – छोरी भगाइदिन्छ भनेर । तर हामीले उजुर गरेनौं- बरु अन्यत्र लागियो ।’
ट्विटरमा मानवी पौडेलले ७ वटा थ्रेडमा आफ्नो विचार राखेकी छन् ।
उनी लेख्छिन्, आमरूपमा हेर्दा बाहुन-क्षेत्रीले कुनै जात वा धर्मलाई ईंगित गरेर जातीयता र क्षेत्रीयताबारे कसैलाई प्रत्यक्ष गाली गरेको वा द्वेष राखेको देखिदैँन। तर, जातीय अवहेलनाका मुद्दा वा प्रसंग जोडिने बित्तिकै बाहुन क्षेत्रीलाई धारेहात किन लगाइन्छ ?’
उनको ट्विटमा जैनेन्द्र जीवनले प्रतिक्रिया जनाएका छन् :
‘जातजातीका कुप्रथालाई पनि बाहुनबाद भनेर परिभाषित गर्ने,बाहुनको जातिबाचक यो शब्दलाइ गालीका रुपमा प्रयोग नगर भन्दा उल्टै हप्कीदप्की गर्ने कथित प्रगतिशीलको जातीय घृणा अभियान विरुद्ध बाहुनहरूले पनि यसैगरी बोल्नुपर्यो अब ।’
यता फेसबुकमा पत्रकार राधिका अधिकारीले राखेको स्टाटस पनि रोचक छ । दलितले कोठा नपाउने समस्यालाई आरक्षणसँग तुलना गरेकी छन् ।
उनी लेख्छिन्, ‘दलित भनिएकै कारण तिमीले कोठा पाएनौ । बाहुन भनिएकै कारण मैले कोटा पाइन । कस्तो विभेदकारी छ यो राज्य । आउ हात मिलाऔ अनि हटाऔ असमानता !’
उनको स्टाटसमा मिश्रित प्रतिक्रिया छन् । खासगरी दलित समुदायका व्यक्तिहरूले उनको चर्को आलोचना गरेका छन् ।
श्रीप्रसाद परियारको प्रतिक्रिया यस्तो छ, ‘३३ प्रतिशत महिला कोटा खाने महिलाले नै कोटाको विरोध । हेर त यति राम्री मान्छेको सोच कस्तो घिनलाग्दो’
सीता सानुले लेखेकी छन्- ‘महिलाको ३३ प्रतिशत कोटा कस्ले पाउन्छ हजुर ? खसआर्य, पछाडि पारिएको क्षेत्रबाट कस्ले पाउन्छ ? कोटा सबैलाई छ, किन अर्काको भाग देख्नु भो ? कोटा राज्यले दिएको अधिकार हो । कोठा नपाउनु विभेद हो। कृपया मजाकमा उडाए थप पीडा नथप्नुहोला ।’
जेबी अधिकारीले लेखेका छन्- ‘आफ्नो घरमा कोठा नदिँदा गिरफ्तार हुन्छन् तर हाम्रो गाउँमा त घरको कोठामात्रै होइन पिँढी पनि दिँदैन । खोइ त प्रहरीले गिरफ्तार गरेको ?’