नख्खु जेल ब्रेकको कथा : अनि ६ वटा खरायो ढालेर भोज खायौं…
चालिसौं वर्ष पाइला टेकेछ । दशकौं पुराना पाइलाहरू हिजोझैं, आजझैं लाग्ने । त्यो एउटा अँध्यारो रात, सम्झनामा सल्बलायो । कतिऔं दिन, कतिऔं रात बिते । एउटा मानिसको जीवनको उर्वर वर्ष ।
वर्षेनि आँउथ्यो, जान्थ्यो- त्यो चैत्र महिना । सम्झना हुन्थ्यो- त्यस रातको, अनि विस्तारै विलीन हुन्थ्यो । लोकले चर्चा गर्थ्यो, कथाहरू बुनिन्थ्यो, अनि फेरि ओझेल पर्दै जान्थ्यो ।
स्मरण हुने, अझ नयाँ चेतमा स्मरण हुने, लोक–चर्चा थपिँदै जाने, त्यसरी नै गोधूली पर्दै विलीन पनि हुने । त्यो बेलाको अर्कै संसार, थियो अर्कै नेपाल । कति जोर भोटा–कछाड फाटे, कतिऔँ क्युसेक पानी बहे । र अहिलेको यो संसार, यो नेपाल । इतिहास रहेछ यो त, बिर्संदै नबिर्सने ऐतिहासिक । वर्षहरू थपिँदै जान्छन्, पत्रपत्र भएर थपिँदै नै जान्छन् ।
यो वर्ष– २०७३ साल चैत्र १२ भने केही भिन्न भएरै आयो । कताकति केही लिएरै आयो । ‘ओल्ड इज गोल्ड’ भने जस्तो जति पुरानो उति चमक लिएर आयो । ४० वर्ष भएछ है कमरेडहरू नख्खु जेल ब्रेक…!’ घडीको सुई देखाउँदै हुनुहुन्थ्यो कमरेडहरु । धन्य–धन्य कमरेडहरू उहाँहरू मेरो मनमा छपक्कै बस्नुभयो ।
कौतुहल मनले भन्न मन पनि लाग्यो । यो चालिसौं वार्षिकोत्सव मेरा जीवनका अनन्त पाइलाहरू.., वर्षहरूका लामा–लामा मालाहरू र मेरी श्रीमतीकै उमेर पछ्याउदै आएका आगामी पाइलाहरूले नयाँ सन्देश दिएरै जाओस् ।
नक्खु जेल- राजनीतिक बन्दीगृह । जहाँ हामी झापाली कम्युनिष्टहरूलाई थुनिएको थियो । झापालीहरूलाई थुन्न पाउँदा शासकहरू हाइसञ्चोमा थिए ।
र, झापा विद्रोह सधैंका लागि दमन गर्यौं भनी सोचेका थिए । तर शासकहरूलाई यो मालुमै भएन कि हामी अर्कै तत्वका मानिस हौं । हामी जेल–ब्रेकको अनुकूल समय पर्खिरहेका थियौं । त्यो समय पनि अनेकौं गौंडा छिचोल्दै लुक्तै—छिप्तै आयो । त्यस समय नक्खु जेल कमिटी (कोके) को सचिव म थिएँ । जेल–ब्रेकको छलफल चल्दा–चल्दै एकदिन हाम्रो पंक्तिमा नियास्रो छायो । यसकारण कि जेल प्रशासनले अन्यायपूर्वक कमरेडहरू एमसी, आरके र केपीलाई जेल सरुवा गर्यो ।
र पनि हाम्रो योजनालाई मूर्तरूप दिन हामी लागिरह्यौं । एउटा थाती रहेको काम थियो– पार्टी सदस्यता प्रदान । कमरेडहरू सूर्य कन्दब्वा, धर्म घिमिरे, भीष्म धिमाल र नारद वाग्लेलाई पार्टी सदस्यता प्रदान र मुस्लो समूहका कमरेडहरू गोपाल शाक्य, प्रदीप नेपाल, माधव पौडेल र वीरबहादुर लामाको पार्टी सदस्यता नवीकरणका साथ सामूहिक सपथ ग्रहण भयो ।
चौकिदार-नाइके र जेल प्रशासनले भेउ पाउने हो कि ? एक-एक सास र एक-एक मुटुको चालमा निगरानी गर्नुपर्थ्यो । जेलको वातावरण सहज बनाउन, दैनन्दिनकै रुटिङले सरल बनाउन सबै कमरेडहरू रत्तिभर चुक्नुभएन ।
त्यसपछि जेलब्रेकको प्रस्तावमाथि केन्द्रित भयौं । ब्रेकका अनेकौं बाटाहरूको छलफल संगसंगै कमरेड वीरबहादुर र माधवले सुरुङको आइडिया पेस गर्नुभयो । यो बाटो सफल भए कम क्षति हुने वा पूर्ण सफल हुने देखियो । अन्य बाटाहरूलाई तपसिलमा राख्दै सुरुङको अभ्यासमा जाने मत पास गरियो । अभ्यासमा जाँदा असम्भव हुने भए अन्य बाटाहरूलाई मध्यनजर दिने टुंगो भयो । तुरुन्तै जेल कमिटीले सुरुङ खन्ने योजना बनायो र चार नम्बर ब्लकबाट खन्ने निर्णय भयो ।
कार्य नेतृत्वको निम्ति मैले सचिवको कार्यभार कमरेड सीपीलाई हस्तान्तरण गरेँ । अब ठोस निर्णय भएपछि ठोस कार्यमा जुट्नु थियो । हामी कोही पनि इन्जिनियर पढेका थिएनौं । सुरुङबारे हाम्रो प्राविधिक ज्ञान पनि थिएन । न त कसैलाई सुरुङ खनेको अनुभव थियो । चिनियाँ क्रान्तिमा सुरुङ युद्धको कथा पढेका–सुनेका चाहिँ थियौं । हामीले सुरुङको खाका तयार गर्यौं र आफ्नै अभ्यासमा खन्ने निधो गर्यौं । सुरुङ खन्ने कोठामा आँखा छल्न खरायो पाल्नुपर्थ्यो ।
एक गोठ खरायो र सुरुङ खन्न लाग्ने जिन्सी सामानहरूको जोरजाम कमरेड हर्कले गर्नुभयो । तीनवटा खरायोको खोर बनिसकेको थियो र दसवटा खरायो खेल्न थालिसकेको थियो । अब झट्टै कमरेड सीपी, हर्क, वीरबहादुर र म कोठामा छिर्यौं । एउटा खोरबाट सुरुङको ढोका निर्माण गर्नु थियो । कमरेड हर्क र वीरबहादुर किसान चरित्रका व्यावहारिक मान्छे । उहाँहरूले तीन फिट खनी सुरुङको मुख बनाउनुभयो । सुरुङमा घर्राको ढोका पनि निर्माण गर्नुभयो । यो काम हाम्रो पंक्तिभित्र पनि अत्यन्त उच्च गोपनीयताका साथ भएको थियो । यो थियो– फागुन १० गतेको दिन, जहा सुरुङको शिलान्यास भयो- जेल विद्रोह जिन्दावाद ! मुठ्ठी कस्दै एक स्वरमा गुञ्जियो ।
त्यो योजना ।मेलम्चीको सुरुङ जस्तो कथैकथा पनि थिएन । अनि ठेकेदार र इन्जिनियरको जस्तो ढिलासुस्ती गर्नु पनि थिएन । वैज्ञानिक उपकरणहरू, मेसिनहरू, औजारहरू हाम्रा हातमा थिएनन् । थियो त सिर्फ एउटा खेलौनाजत्रो सानो कुटो, एउटा फलामे सानो बूढो पुन्यु र एउटा सानो कसैले फालेको थोत्रे छाताको डन्ठी ।
पन्युँ त फेरि बिहान-बेलुकी भात पकाउन पनि प्रयोग गर्नुपर्ने । हाम्रा हातमा यिनै तीन सामान मात्र थिए । यिनै तीन हतियार पुज्य बन्यो, महादेवले तथास्तु भनी पठाए जस्तो । मेलम्चीको सुरुङबारे हामीले सुनेकै छौं । यो चाहिँ जेलको सुरुङ बारेको कथा हो । त्यो र यो सुरुङ दुवै सुरुङ नै हो । अब यहा त्यो मेलम्चीको होइन, अर्कै मेलम्चीको सुरुङ बन्दै थियो । पानी लैजाने होइन, मान्छे लैजाने सुरुङ । अब सुरुङले तेर्सो बाटो हिँड्न थालेको थियो । एवं रितले एक रात दुई रात, एक दिन दुई दिन गर्दै सुरुङ परपर पुग्दै थियो । हाम्रो इन्जिनियरिङ मेल खाँदै थियो, जेलको पहरा फेल खाँदै थियो । निरन्तर खन्नेमा कमरेड जीवन, वीरबहादुर, माधव, भीष्म र गोपाल हुनुहुन्थ्यो । अन्य कमरेडहरूले पनि आंशिक रूपमा खन्नुभयो ।
खन्ने टिमको नेतृत्व जेल कमिटीले मलाई दिएको थियो । सुरुङ धस्सिएर ज्यान जाने, ज्यानकै बाजी थियो । नक्खु खोला छेउको जेल, बालुवा–ढुंगा मिसिएको गेग्रान माटो, जति–जति खन्यो, सुरुङ भास्सिने हो कि नजर लाइरहनुपर्ने । भास्सिएमा जिब्रो टोक्नुपर्ने, जीवित फर्किने कुनै उपाय थिएन । कडा जोखिम मोलेर खन्नुपर्थ्यो । एक-एक घडी, एक-एक पाइला, एक-एक सास ज्यानको खतरा थियो ।
हंस कोठामै छाडेर, मृत्यु पातमा राखेर खन्नुपर्थ्यो । सुरुङ जति लामो हुँदै गयो, उति अक्सिजन कम हुने र निस्सासिनुपर्ने । एक पटक सुरुङ धस्सिन थाल्यो । अब के होला ? के गर्ने ? तुरुन्तै बैठक बस्यो । समाधान निकालियो- सुरुङको दुवै छेउ ईंटाको गारो लगाई, छतमा दाउराको चाङ लगाई, थोत्रा लत्ता-कपडा कोची रोकथाम गरियो । सुरुङ खन्दा होसियारी राख्नुपर्ने, गोलाकार खन्नुपर्ने, लेबल हेर्नुपर्ने र एक मान्छे लामो खनेपछि घुमफिर गर्ने सेल्टर बनाइन्थ्यो ।
कहिलेकाहीँ पानी उम्रिन्थ्यो र ढुंगा छापी बुजो लगाइन्थ्यो । हाम्रो हातमा कमसल औजार ! रातोदिन खन्दा पनि एक हात मात्र । एक हात खन्दा पनि माटा-रोडाको थुप्रो, एउटा ढिस्को नै बन्ने । ती टनका टन माटा-ढुंगा छुमन्तरमै गायव गरिन्थ्यो ।
चौकिदार-नाइके र जेल प्रशासनले भेउ पाउने हो कि ? एक-एक सास र एक-एक मुटुको चालमा निगरानी गर्नुपर्थ्यो । जेलको वातावरण सहज बनाउन, दैनन्दिनकै रुटिङले सरल बनाउन सबै कमरेडहरू रत्तिभर चुक्नुभएन ।
बन्दीहरूसँग गफगाफ गर्ने कमरेड हर्क-धर्मको टोलीले आकाश-पातालको गफ लडाएरै मख्ख पार्ने, भलिबल-टेबलटेनिस-चेस खेल्ने कमरेड घनेन्द्र-नरेशको टोलीले खेलेरै ढुक्क पार्ने र कमरेड प्रदीपको टोलीले गीति कार्यक्रम गरेरै छक्क पार्ने । उनीहरुलाई लाग्यो- झापाली कमरेडहरू गफमा, खेलमा, गानाबजानामा मख्खै छन्, मस्तै छन् । अनि उनीहरूलाई विश्वास भयो– कम खाना, गम रहना, चटपट न करना, धुसा ओढना, मस्त सोना, तब कटेगा जेलखाना’ (यी पंम्ति जेलका कहावत हुन्)मै चुर्लुम्म डुबेका छन्, मज्जाले रत्तिएका छन् ।
त्यहाँ हामीले नाटक खेलेका थियौं, उनीहरूले हाम्रो नाटकको मूलकथा बुझ्नै सकेनन् । उता शनैः शनैः सुरुङ झन् लामो, झन् लामो हुँदै थियो । योजनाले राम्रो लक्षण देखाउँदै थियो ।
जेल साविकझैं चलिरहेथ्यो । कुनै हलचल थिएन । हामी खुसीले उफ्रिदै थियौं । एकदिन त आम्मै हौ हुरुरुरु…पुलिस र नाइकेहरू आए, सुरुङ खनेको कोठा र बाहिर सुरुङ खनेको जमिनमाथि ढ्यापढ्यापेले । ढ्याप-ढ्याप, ढ्याप-ढ्याप’ पारी त हाल्यो । लौ सत्यानाश भो ! हामी असिना-पसिन भयौं । हामी त्यस्ता मान्छे हुदै होइनौं, हामीले क्यै गरेकै छैनौं, शंका लिनै पर्दैन’ भन्न बाध्य भयौं । (मनमनै चाहि औंलाले देखाउँदै ! त्यहाँ हामीले सुरुङ खनेकै छैनौं, तर सुरुङ खनेको त हो है !) अनि उनीहरूका ढ्यापढ्यापेले नि फेल खायो, बेकामे साबित भयो । (डीएसपीले कुकुर ल्याको भे चाहिँ हाम्रो दाल गल्थ्यो होला, कञ्चटबाट महाकाली तेल चुहिन्थ्यो होला !) उनीहरू फुस्रो भएर फर्केपछि हामीले सञ्चले लामो सास तान्यौं । यो अचानकको जाचपडतालले ढ्यांग्रो बजाइसकेको थियो । अब अरु उच्च सतर्कताको खाँचो भयो । हाम्रो एकता र सहकार्य झन् बलियो भयो । दुई दिन सुरुङ खन्न बन्द गर्यौं ।
शंकाको तुष हट्यो र फेरि खन्न थाल्यौं । खन्दै- खन्दै सुरुङ बाहिरी पर्खालमा ठोक्कियो । जग रहेछ ढुंगै-ढुंगाको, सुरुङ ठोक्कियो सुरुङकै मुखजत्रो ढुंगामा । फेरि दुर्भाग्य आइलाग्यो । समाधानका लागि बैठक बस्यो । भरसक ढुंगा निकाल्ने, नत्र छेउबाट सुरुङ घुमाउने । म पसे सुरुङमा । ढुंगाको चारैतिरको नक-नक र कोर खोतल्नुपर्थ्यो खोस्रिँदै गए । त्यस रात आधामात्रै नक खोलियो । भोलिपल्ट फेरि सुरु गरे । रात भरिमा नक र कोर खोले । अब ढुंगा तान्नुपर्ने, तान्दा घ्याच्च पर्खाल धस्सिने हो कि ! मनमा गहिरा कुरा खेल्यो । हंस कोठामा टाँसेर आएकै थिए, ज्यान कर्कलोको पातमा चढाएकै थिए । भएभरको बलले ताने ढुंगा, अहो खुल्यो भाग्य ! बडेमानको ढुंगा- बाहिर ल्याउनु सम्भव थिएन र मनासिव पनि थिएन, त्यहींभित्र चिहान खनेर दफ्नायौं ।
म जेल विद्रोहपछि झापा पार्टी सम्पर्क गरी पुनः भूमिगत भएँ । म सर्वस्वहरणसहित जन्मकैदको कैदी थिएँ । पछि नाबालक भनी अर्ध–कैद सुनायो । दुई वर्षअघि जन्मेको भए सुखानीतिर डोहोर्याउने रहेछन् । क्रान्तिमा गोली भनेको के हो, छातीमा अनुभव हुन्थ्यो होला । त्यसबाट बचियो । अर्को इतिहास रच्ने अवसर मिल्यो । आजका दिनसम्म विगतको त्यो विश्वास र आस्थालाई संगालेरै जीवन अगाडि बढ्दो छ ।
अब सुरुङले जेल बाहिरको सररर… यात्रा थाल्यो । हाम्रो इन्जिनियरिङले सुरुङ बयरको झ्याङमुनि पुग्यो । एकदम सही निसानामा सुरुङ टुंगियो । बाहिरी स्थिति ज्ञातका लागि सुरुङको सानो आँखी-प्वाल बनाइयो र दुर्बिनलेझैं हेरियो । अहा ! क्या राम्रो लहलह….आलुबारी ! सुरुङ उद्घाटनदेखि समापनसम्मको यात्राले बत्तिसौं दिन खाएछ।
ढिलो गर्नु र शूली चढ्नु एउटै अर्थ हुन्थ्यो । बिहान झटपट बैठक बस्यो । त्यसै रात अर्को संसार टेक्ने निर्णय भयो । त्यसदिन ६ वटा खरायो ढाली भोज खाइयो । भएको रुपैयाँ दामासाहीले बाडियो । जिन्सी पनि बाँडफाँड भयो । मेरो घरबाट आएको, मायाले नलाई-नलाई राखेको रातो ज्याकेट कमरेड प्रदीपले पहिरिनुभयो । भलिबल, टेबल टेनिस खेल्न किनेको मेरो नयाँ स्पोर्ट जुत्ता कमरेड नारदले लाउनुभयो । अन्य कमरेडहरूलाई के के भाग पर्यो, मलाई चाहिँ पर्यो- कमरेड अशोकको थोत्रो, औंलामा प्वाल परेको, साँघुरो जुत्ता ।
आफ्नो होइन, अरुको सेवा गर ! भन्ने नीति नै थियो । छोटो दिन हो कि लामो दिन हो, घाम पनि ढल्किँदै-ढल्किँदै पर झन् पर पुग्दै थियो । त्यो दिन, अन्तिम जेल बसाइ हुँदै थियो । त्यसै रातदेखि जेल सम्झना र बिर्सनाको तरेलीमा पुग्दै थियो । दिनै खप्टिएर लामो भ’को महसुस भइरहेथ्यो । अनि अन्तिम पलसम्म के कसो होला । विजय-पराजय के होला । कस्ता समस्या आइपर्ला । के-के भोग्नुपर्ला । घामले पनि फर्पिङ डाँडा छिचोल्यो । हामीले पनि नेटो काट्नु थियो ।
खासमा सुरुङ खन्ने कमरेडहरूको बलिदानी आत्मत्याग, चौकिदारचाहिँ खलनायक’, कमरेड हर्कचाहिँ चौकिदारको भूमिकामा र कमरेड सीपीको सबल वैचारिक नेतृत्वले यो सम्भव हुँदै थियो । मेहेनतले खनेको सुरुङ पनि संग्रहालयमा परिणत हुँदै थियो । अब केही मिनेटमै जेल प्रशासन थाङ्नामा सुकला हुँदै थिए । र कांग्रेस मित्रहरू पनि नराम्ररी भुस बन्दै थिए । अनि भोलिका दिन राज्यसत्ताका राजाहरूलाई फिलिम हेर्याझैं लाग्ने…! चारैतिर झमक्कै रात परिसकेको थियो, विद्रोहको समय सामुन्ने आउँदै थियो । र हामी मैदानमा फुटबल खेलाडीझैँ आ-आफ्नो पोजिसनमा सल्बलाउन थाल्यौं ।
‘डढ्याम्म….!’ छत्तीस नम्बरको ग्रिने पड्किएझैं आवाज आयो जेल अत्याउने गरी । खैलाबैला भयो र गल्याङ– मल्याङको आवाज आउन थाल्यो । माफ गर्नुहोला, यो पड्केको ग्रिनेड थिएन । यो बिजुलीको मेन ट्रान्समिटर बक्स पड्किएको थियो, ग्रिनेड जसरी । जेल झ्याप्प कालो-नीलो रङमा अँध्यारो भयो । अँधेरी रातमा झन् अँध्यारो खप्टिएको थियो ।
अगाडिको आकृति अकिञ्चन ठम्याउन नसकिने मुस्लो अन्धकार छायो । केही मिनेटको खलबल पनि विस्तारै हावामा हराउँदै गयो । नाइकेहरू भोलि मात्र बिजुली आउने भन्दै थिए । जेलै कालो भएपछि नाइके–प्रहरीहरू हाइ–अलर्ट ड्युटीमा थिए । मान्छेका स्वरहरू पनि दबिसकेका थिए र सन्नाटा छायो ।
शान्त र चकमन्न रात दोहोरियो । वास्तवमा त्यहाँ, त्यसबेला, खतराको पल र जटिल समयमा हामीलाई प्राकृतिक चिठ्ठा परेको थियो । प्रकृतिले हामीलाई अनुकूलता प्रदान गरेको थियो । योजना त थियो बिजुली सर्ट-अफ गर्ने । त्यस टोलीमा कमरेड नारद, अशोक, गोपाल लागिरहनुभएको थियो ।
उहाँहरूले शौचालयबाट रडले सर्ट गर्नुभयो । तर शौचालयदेखि अघिको कनेक्सनमा मात्र सीमित ठाउँमा बिजुली गयो । चार दिवार पर्खालको चार ठाउँको पाच सय वाटसहित अन्य ठाउँमा बत्ती गएन । जेल झलमल्ल थियो । हामी समस्यामा फसिरहेका थियौं । यत्तिकैमा एउटा चमत्कारै भयो । हाम्रो लागि प्राकृतिक शक्ति बलवान भएर आयो । हाम्रो पक्षमा हावापानी, आँधी-बतास, हुरी-हुन्डरी आइदियो ।
चार दिवारको नाङ्गो तार झ्याम-झ्याम जुध्न थाल्यो, बत्ती झिलिप-झिलिप हुन थाल्यो र चटट-चटट आगोका झिल्काहरू फाल्न थाल्यो । तुरुन्तै करेन्ट सर्ट भई ट्रान्समिटर ग्रिनेडझैं पड्कियो । जेललाई अँध्यारो कालले घ्याप्प छोप्यो । पहिले पहिले पनि त्यहाँ आँधी–हुरी–हुन्डरी आउँदा लाइन जान्थ्यो र भोलिपल्ट मात्र बत्ती आउँथ्यो ।
अहिले पनि हामी देख्छौं, आँधी-हुरी-हुन्डरी आउँदा लाइन सर्ट हुन्छ नै, बत्ती जान्छ नै । संसारमा प्राकृतिक शक्ति दिग्विजयी छ । यहाँ यस्तै भएको थियो प्रकृतिसँग जेलले हार्यो र कैदीले जित्यो । प्रकृतिले हामीलाई शुभ साइत दिलायो । जेल विद्रोहको खेल अँध्यारो मैदानमा खेल्नु थियो । अँध्यारोमै छक्याएर गोल हान्नु थियो । बल हाम्रो खुट्टामा थियो । पास खेल्दै नेटमा छिराउनु थियो ।
चैत्र १२ गतेको त्यो रात । अग्ला-अग्ला चार दिवार । दिवारमाथि नाङ्गो तारको झन्झनाहट । नाइकेहरू कराउँदै थिए- खबरदार! खबरदार !! प्रहरीहरू चिच्याउँदै थिए- होशियार ! होशियार !!
दिवार बाहिर राइफलधारीहरू ‘लेफ्ट-राइट, लेफ्ट-राइट’ फन्को लाउँदै थिए । अग्लो-अग्लो चार बुर्जाका सेन्ट्रीहरू हतियार ठ्याक–ठ्याक, ठुक–ठुक पार्दै ’ठिक छ, ठिक छ’ भन्दै थिए ।
रात परेपछि उनीहरूको बेग्लै फुर्तीफार्ती देखिन्थ्यो । लडाइँमा मार्चपास गरे जस्तो, लडाइँ लड्न तयार भए जस्तो, लडाइँ नै लडिरहे जस्तो । त्यहाँ थियौं हामी झापा विद्रोह गर्ने झापाली विद्रोही कम्युनिष्टहरू । जमिनमाथि उनीहरूको सतर्कता, जमिनमुनि के सतर्कता ? जमिनमाथि शक्ति देखाएर त नाँचेकै थिए । हाम्रो योजनाको गोपनीयता र जमिनमुनिको चक्रव्यूहको के भेउ नि ? यो जमिनमुनिको लडाइँ थियो । हो, सुरुङ विद्रोहबाट शासक परास्त गर्नु थियो ।
त्यो १० बजेको कालो रात । १५ जनाको हाम्रो पल्टन अब अगाडि बढ्यो, सामनेको मृत्यु त्यान्द्रोसरी वरण गर्दै । सामूहिक त्यागले सफलता प्राप्त गर्नु थियो । जेल कमिटीको आपतकालीन बैठक बस्यो । सबै कमरेडहरू आफैं छिटो निस्किने ध्याउन्नमा थिए । सबैलाई अघि पठाइ आफूलाई कमरेड सीपीले अन्तिम लिस्टमा राख्नुभयो । मैले त्यो लिस्ट अनुचित ठानेँ र काटेँ । सबै मूल्यांकन गरेर चार समूहको लिस्ट बनाए । त्यो प्रस्ताव अनुमोदन भयो । सुरुङ पार गर्न अब चार समूह तम्तयार थियो । एक-दुई-तीन समूह पालो–पालो गर्दै सुरुङतिर लम्कियो । क्रान्तिलाई, पार्टीलाई सलाम गर्दै कमरेड सीपीको समूह पार भयो ।
लगत्तै कमरडे नरेशको समूह पार भयो । तुरुन्तै कमरेड हर्कको समूहले सुरुङ पार गर्यो । र अन्तिम मेरो समूह थियो । मेरो समूहका कमरेडहरूले पनि निमेष भरमै सुरुङ पार गर्नुभयो । बाहिर भूमिगत पार्टीमा–केन्द्रमा कमरेड सीपीको महत्व थियो र अन्य बौद्धिक कमरेडहरूको । सबै कमरेडलाई अघि लगाएँ । म अन्तिममा– जे सहुँला, भोगुँला, सहीछाप ठोकेँ । अनि म पनि लम्किएँ सुरुङतिर, सबै कमरेडको तर्फबाट जेललाई बिदा गर्दै ।
सुरुङभित्र पसे । सुरुङको घर्रामा झ्यासझुस राखे र घर्रा लगाए । सुरुङको भित्तामा कमरेड माओत्सेतुङको फोटो टाँसें । चार पाउ घस्रिँदै बाहिरी मुखमा पुगेँ, टाउको निकालेर आँखा डुलाएँ र कान थापेँ । सब ठीक पाएँ । प्रहरी आफ्नै तालमा, म आफ्नै सुरमा । गुरिल्ला चालमा फुत्त निस्किए । कुइनाले आलुबारी घस्रिए ।
नक्खु खोला पार गरेँ र डिलमा पुगेँ, जहा कमरेडहरूलाई मेरो प्रतीक्षा थियो । म पुग्नासाथ सफलताको खुसी हामीमा छायो । हाम्रो योजनाले चरण–चरणको खुड्किलो चढ्दै, संगीन जोखिम मोल्दै विजय पाउन सफल भयो । त्यो क्षण राज्यसत्ताको जेलनेल, ऐन–कानुन कागजको खोस्टो भएको थियो । हामीलाई खुला आकाशले स्वागत गर्दै थियो । हामी मुक्त जमिन टेक्दै थियौं । र जनताको काखमा पुग्न आतुर थियौं । बाइ– बाइ नक्खु जेल ! हामीले छिटो–छिटो कदम अगाडि बढायौं ।
जेल विद्रोह त भयो, तर खुसीले उफ्रनु थिएन । अब पाइला–पाइला दु्खकष्ट र संकट आइलाग्दै थियो । कहाँ खानु– पिउनु, कहाँ आराम गर्नु, कता हिँड्नु, कता पुग्नु, के भन्नु, के गर्नु, बडो विरोधाभास । समूह, जोडा र एक्ला–एक्लै खतरा पन्छाउदै हिड्यौं ।
म दायाँ–बायाँ छलिँदै, भावभंगिमा बदल्दै, हाउभाउ फेर्दै झापा पुगेँ र पार्टीको सम्पर्कमा रहेँ । जनताको न्यानो पाउँदा हर्षित भएँ । दुश्मनलाई छकाउँदा र मुर्ख बनाउँदा रोमाञ्चित भएको थिएँ । जब जेलभित्रको बन्दी जीवन होइन, बाहिरी संसारी जीवन, पार्टी र जनताको जीवन जिउन सुरु भयो । जसै मेरो खुसी क्षणभर टिकेन, तसै पानी–पानी भयो । हामी १५ जना विद्रोहीमध्ये ५ जना विद्रोही नरेश, घनेन्द्र, धर्म, भीष्म र नारद पुनः पक्राउ परेको खबरले दुःखी भए ।
मन जलन भयो । के जेल विद्रोह असफल भएको हो ? भन्ने दोमन भयो । संघर्ष हो जीवन, जीवन संघर्ष हो ! चन्द्रमा नि आफ्नो कक्षमा घुम्दा–घुम्दै खुँडो पर्छ, संघर्षमा नि क्षतिको भाग रहेकै हुन्छ । हो त नि ! मन बुझाएँ ।
जे गरियो, जो भयो, जस्तो भइपरी आयो । भनौं नक्खु जेल विद्रोह सफल रह्यो । नेपाली जनताले अनुमोदन गर्यो । श्रेय पार्टी को–अर्डिनेसन केन्द्रलाई गयो । बस् ! जेल विद्रोह गरेर टाउकोको नाम्लो बिसाइएको थियो, मनमा जेलका केही तर्कनाहरू आए । नक्खु जेलमा (अन्य जेलमा हुँदाको प्रयासपछि) हामीले यस्तो कदम चालिरहेका थियौँ, जसमा राजशाही– तानाशाही पञ्चायती सरकारलाई एउटा कडा टक्करको चुनौती दिइरहेका थियौँ- जेलब्रेक मार्फत् ।
कम्युनिष्ट आन्दोलनमा विरलै हुने, पार्टीको जीवनमा दुर्लभ घट्ने घटना हुँदै थियो । झापा विद्रोहपछि अर्को विद्रोह– जेल विद्रोह रचियो । प्रतिक्रियावादीका सामु झापालीहरूको अदम्य साहस पोखियो । देश र जनताको निम्ति जीवित रहने कि बलिदान दिने संगिन मोड रहेको थियो ।
अन्त्यमा हामीले दायाँ–बायाँ, अघि–पछिका विघ्नबाधा परास्त गर्दै विजय प्राप्त गरेका थियौं । होइन हौ, यो हर्क खड्काले १० जना जिमदारको टाउकाको माला लाको रे ! खतरै मान्छे हो है ! जेलभित्र कसै–कसैले गाइगुइँ कुरा गरेको सुनिन्थ्यो । हुन पनि हो, अग्ला हट्टाकट्टा ज्यानको, झापा सब्घर्षका कमाण्डरै हुन् । किन विश्वास नहुदमे हो ? यो सीपी मैनाली भन्नेको टाउको (दिमाग !) त ५ जनाको टाउको बराबर ऊ एक्लैको छ रे, वाफ रे ! जेलभित्र एक कान, दुई कान चर्चा गरेको सुनियो ।
विश्वास पनि किन नहोस् ? कमरेड ‘सीपी’ नाम किंवदन्ती भइसकेको थियो । यो जेलमा कति कम्युनिष्ट आए–गए, वास्तै भएन । तर यी झापाली कम्युनिष्टहरु फरक खालको देखिए । दिलदेखिको कम्युनिष्ट भावनाले जेलब्रेक सम्भव भएको थियो । जहाँ कम्युनिष्ट बन्दी, त्यहीं जेल विद्रोहको तानाबाना । क्रान्तिको सदावहार अभिन्न अंग । जेल विद्रोहको झापाली लाइन, कम्युनिष्ट पार्टीको लाइन, पार्टी केन्द्रको निर्देशन थियो । नक्खु जेल यो चिन्तनबाट अछुतो रहने कुरै भएन ।
म जेल विद्रोहपछि झापा पार्टी सम्पर्क गरी पुनः भूमिगत भएँ । म सर्वस्वहरणसहित जन्मकैदको कैदी थिएँ । पछि नाबालक भनी अर्ध–कैद सुनायो । दुई वर्षअघि जन्मेको भए सुखानीतिर डोहोर्याउने रहेछन् । क्रान्तिमा गोली भनेको के हो, छातीमा अनुभव हुन्थ्यो होला । त्यसबाट बचियो । अर्को इतिहास रच्ने अवसर मिल्यो । आजका दिनसम्म विगतको त्यो विश्वास र आस्थालाई संगालेरै जीवन अगाडि बढ्दो छ ।
(झापा क्रान्तिका योद्धा जीवन मगरको सोमबार निधन भएको छ । सीपी मैनाली,प्रदीप नेपालहरूसहित नख्खु जेल ब्रेक गरेर गौरवगाथा बनाएका जीवनको गुमनाम मृत्यु भयो । उनीसँगैका झापा क्रान्तिका योद्धाहरू केपी शर्मा ओली,सीपी मैनाली,प्रदीप नेपाल, राधाकृष्ण मैनालीहरू राज्यसत्ताको नेतृत्वमा पुगे । मगरले लेखेको जेलब्रेकको कथाको यो अंश उनको श्रद्धाञ्जलीमा समर्पित)
साभार- नख्खु जेल विद्रोह