पूर्वमा बढ्दो ‘फूड ट्रक’ क्रेज, निषेधाज्ञाले व्यावसायी समस्यामा – Nepal Press

पूर्वमा बढ्दो ‘फूड ट्रक’ क्रेज, निषेधाज्ञाले व्यावसायी समस्यामा

मलेसियाबाट फर्केर ‘फूड ट्रक’ व्यवसाय थालेका इन्द्र व्यवसायप्रति सन्तुष्ट

इटहरी । इटहरी १७ को चारतलेका इन्द्र दाहाल हरेक दिनजसो चार बजेपछि गाडी हाँकेर इटहरी आउँछन् । धरान जाने सडक किनारमा गाडी साइड लगाउँछन् । गाडीको बडी खोलेर कुर्सी निकाल्छन् । कुर्सीलाई लस्करै गाडीभन्दा दायाँतिर मिलाएर राख्छन् ।

गाडीमा विभिन्न पाकवान सजाएर राखिएको हुन्छ । खानाका परिकार छेवैमा मेन्यू झुण्ड्याउँछन् । अनि वुफरमा धन्काउँछन्, सुमधुर नेपाली गीतसंगीत । यससँगै सुरु हुन्छ उनको ‘फूड ट्रक’ व्यापार ।

दाहालले मलेसियाबाट फर्केर साडु दाइसँगको सहकार्यमा सुरु गरेको यो व्यापार अहिले निकै फस्टाएको छ । उनको ‘फूड ट्रक’मा खाजा खान टाढाटाढाबाट ग्राहक आउँछन् । तर पछिल्लो समय जारी निषेधाज्ञाका कारण उनको व्यवसाय प्रभावित भएको छ ।

दाहाल सन् २०१५ देखि २०१९ सम्म मलेसिया बसेका थिए । उनले मलेसियामा सिकेको ज्ञानलाई स्वदेश फर्किएर प्रयोग गरे । उनी रोजगारीका सिलसिलामा सन् २०१२ देखि २०१४ सम्म दुबई पनि बसेका थिए । उनले स्वदेश फर्किएर सुरु गरेको उक्त व्यवसायका लागि तालिम प्राप्त कुकहरु राखेका छन् । किचन पनि व्यवस्थित र आकर्षक बनाएका छन् ।

उनको ‘फूड ट्रक’मा तीन दर्जनभन्दा बढी परिकार पाइन्छन्, जुन अत्यन्त स्वादिलो हुने ग्रहकहरु बताउँछन् ।

यसरी सुरु भयो ‘फूड ट्रक’ व्यवसाय

उदयपुर गाइघाटका रैथाने दाहाल मलेसियाबाट आएर ‘फूड ट्रक’ व्यापार गर्न कसिए । फिल्ड भिजिट गर्ने क्रममा चितवनको नारायणी किनार पुगे । त्यहाँ उनले फूड ट्रक शैलीकै ‘भेजी एक्सप्रेस’ भेटे । इटहरी फर्किए अनि ‘फूड ट्रक’ सुरु गरे ।

दाहालको फूड ट्रकमा दैनिक २० देखि २२ हजार रुपैयाँसम्मको व्यापार हुन्छ । जहाँ दाहालसहित चार स्टाफले फूलटाइम जागिर पाएका छन् । पाँच जनाको दाहाल परिवार यसैमा आश्रित छ ।

उनको फूड ट्रक साँझ ४ बजेदेखि बेलुका दश बजेसम्म चल्छ । २० वटा कुर्सी अधिकांश समय भरिने उनी बताउँछन् । नयाँ वर्षलागयतका विभिन्न उत्सवहरुमा भने खानाका पारखीलाई सेवा दिँदै राति एघार बज्ने दाहाल बताउँछन् ।

फूड ट्रकमा सबैभन्दा सस्तो २० रुपैयाँको पानी र आलु तथा मसरुम स्टिकदेखि २१० रुपैयाँमा चिकन फ्राइ राइससम्म पाइन्छ । दाहाल भन्छन्, ‘ठेलामा भन्दा महङ्गो हुन्छ भन्ने भ्रमले सुरुमा मान्छेहरु आउँन डराउँछन्, तर एकचोटि आएपछि मान्छेहरु पल्किन्छन् ।’

फूड ट्रक संचालन गरेबापत दाहालले इटहरी स्थानीय सरकारलाई दैनिक ६० रुपैयाँ पार्किङ शुल्क तिर्छन् ।

दाहालले २०७६ फागुन १४ बाट सुनसरीमा फूड ट्रक व्यवसाय सुरु गरे । सुरुका केही दिन धरान गए, पछि इटहरीमै गरे । चैतमा लकडाउन भयो । नौ महिना बन्द भयो । गत पुसदेखि फेरि सुरु भएको व्यवसाय वैशाख तेस्रो हप्ताको सुरुबाटै भएको लकडाउनले अहिले पुनः बन्द छ । दाहाल लकडाउन खुल्ने दिनको प्रतीक्षामा छन् । भन्छन, ‘कोभिडले सबैको व्यापार चौपट पार्यो । स्थिति सामान्य भएपछि सबै काम पहिले जस्तै हुन्छ ।’

कोभिडले निम्त्याएको लकडाउन मात्रै होइन, स्टाफ पाउन र सवारीको बेला हुने समस्या हुने गरेको उनी बनाउँछन् । सडकको धुलो, हिलो र धुँवा पनि समस्या भएको उनको भनाइ छ ।

सुनसरीमा फूड ट्रक चलाउने दाहालको टीम पहिलो हो । पछिल्लो समयमा नयाँ थपिने तयारीमा छन् । युवा स्वरोजगारको पैसाबाट यस्तै व्यवसाय गर्ने तयारी गरेको बताउँछन् इटहरीका युवा उद्यमी जितेन्द्र थापा । उनी भन्छन्, ‘इटहरी, धरान, इनरुवा, दुहबी र बराहक्षेत्रका विभिन्न क्षेत्रमा यस्तो गर्ने तयारी छ । तर, लकडाउनले असहज गर्यो ।’

फूड ट्रकको इतिहास र नेपाल कनेक्सन

होटलमा पुगेर खान समय र पैसा नहुने तथा विभिन्न उद्योगका कर्मचारी तथा यात्रुलाई लक्षित गरी फूड ट्रकको जन्म भएको मानिन्छ । मान्छेको भीड जता हुन्छ त्यही कुदाएर लान सकिने भएकोले फूड ट्रक व्यस्त श्रमजीवि र यात्रुहरुलाई राम्रो विकल्प भयो ।

घुम्ती खानपान एवम् फूड ट्रक बारेमा लेख्ने पोर्टल मोबाइल कुजिन डटकमका अनुसार सत्रौं शताब्दीको अन्त्यतिरबाट अमेरिकन खानपानमा फूड ट्रक संस्कृति भित्रिएको हो ।

अहिले देखिने जस्तो फूड ट्रकको सुरु भने सन् १९५० को दशकबाट सुरु भएको हिस्ट्री डटकमले लेखेको छ । आइक्रिम ट्रकको रुपमा फूड टक सुरु भएको उक्त पोर्टल बताउँछ । युरोपमा फूड ट्रक सन् १९६० को दशकमा राम्रोसँग सुरु भएको फ्युचरिस्टो डट इडियुले लेखेको छ । अहिले विश्वका विभिन्न देशहरुमा फूड ट्रक मेलाहरु नै पनि आयोजना हुनेगर्छ ।

एसियमा भने जापान, दक्षिण कोरियामा फूड ट्रकको राम्रो ट्रेन्ड भित्रिएको मानिन्छ । त्यसपछि क्रमशः दक्षिण एसिया र नेपालमा यो संस्कृति भित्रिएको हो ।

नेपाल भित्रिएको पनि धेरै नभएको बताउँछन् नेपालका वरिष्ट सेफ तथा नेपाली ‘फूडगुरु’ सुरेश बस्नेत । तीन दशकदेखि सेफ र सन् २०१६ देखि नेपाली खाना प्रबद्र्धन गर्ने ‘ग्यास्ट्रोनोमी नेपाल’का अभियन्ता बस्नेतले व्यवस्थित फूड ट्रक भने आइनसेको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा भित्रिएको यो व्यवसाय व्यवस्थित हुन बाँकी नै छ ।’

उपभोक्ताको स्वाद र संस्कृति निर्माण गर्नसक्ने दक्षता भएकाहरुले मात्रै नेपालमा फूड ट्रक राम्रोसँग चलाउन सक्ने बस्नेत बताउँछन् ।

पर्यटन गन्तव्यमा ‘फूड ट्रक’ राम्रो विकल्प

अहिले नेपालमा क्रमशः फस्टाउँदै गएको फूड ट्रक संस्कृतिसँग धेरै खुशी छन्, धरानका पर्यटन व्यावसायी वाशुदेव बराल । होटल, ट्राभल एजेन्सीदेखि एडभेन्चर पार्कका संचालक बराल फूड ट्रक संस्कृतिले नेपाली खानपान पर्यटन क्षेत्रमा धेरै संभावना बोकेको बताउँछन् ।

‘स्तरीय होटल नभएका ठाउँमा यो राम्रो विकल्प हो’, उनी भन्छन्, ‘कतिपय पर्यटन क्षेत्र आसपास त सबै सार्वजनिक र सरकारी जग्गा मात्रै हुन्छ । त्यस ठाँउमा न निजी व्यवसाय खोल्न सकिन्छ न सरकारले संरचना बनाएर भाडामा लगाएको पाइन्छ । त्यसको विकल्प फूड ट्रक हुनसक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *