समावेशी आयोग नै असमावेशी ! पदाधिकारी सबै खस-आर्य – Nepal Press

समावेशी आयोग नै असमावेशी ! पदाधिकारी सबै खस-आर्य

काठमाडौं । संवैधानिक आयोगका रुपमा स्थापना भएको समावेशी आयोग जातीय हिसाबले आफैं असमावेशी देखिएको छ । संवैधानिक परिषदबाट नियुक्त एक अध्यक्षसहित ५ सदस्यीय आयोगमा सबै पदाधिकारी खस आर्यबाट नियुक्त भएका छन् ।

आयोगको अध्यक्षमा पोखराका डा. रामकृष्ण तिमिल्सेना नियुक्त भएका थिए । सदस्यमा मकवानपुरकी बिष्णुमाया ओझा, बैतडीका हरिदत्त जोशी, पर्वतका पुष्पराज तिमिल्सिना र बझाङका मानबहादुर क्षेत्री छन् । उनीहरु सबै खस आर्य हुन् ।

समावेशी आयोग नै असमावेशी किन भन्ने प्रश्नमा आयोगका प्रवक्ता समेत रहेका उपसचिव पुष्कर भट्टराइले यसमा आफुले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।

उनले भने, ‘पदाधिकारी सिफारिस गर्ने भनेको संवैधानिक परिषदले हो । परिषदले सिफारिस गरेपछि सरकारले नियुक्त गर्ने हो । यसमा हाम्रो केही पनि भूमिका रहदैँन तपाईंलाई थाहा नै भएको कुरा हो ।’

त्यसो त आयोगमा यो र यस्तो व्यक्ति तथा वर्ग समेटिनुपर्ने भनेर कतै भनिएको छैन । पदाधिकारी जोसुकै आए पनि आयोगले समावेशीताको क्षेत्रमा काम गर्दै आएको प्रवक्ता भट्टराइले बताए ।

उनले भने, ‘पदाधिकारी जो सुकै आए पनि केही फरक पर्दैन । आयोगले काम गर्ने भनेको खस, आर्य, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, कर्णाली प्रदेश तथा सुदूरपश्चिको क्षेत्रमा हो । त्यो गर्दै आएको छ नै ।’
आयोगका पदाधिकारी नियुक्त नहुनुअघि पिछडावर्गको क्षेत्रमा काम गर्दै आएको व्यक्ति र अधिकारकर्मीले पिछडावर्गको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *