अतिरिक्त शुल्क फिर्ता गर्न अभिभावक महासंघको माग – Nepal Press

अतिरिक्त शुल्क फिर्ता गर्न अभिभावक महासंघको माग

रुपन्देही । रुपन्देहीका केही निजी विद्यालयहरूले अनलाइन कक्षा शुल्कबाहेक अन्य अतिरिक्त शुल्क विद्यार्थीबाट लिएको भन्दै नेपाल अभिभावक महासंघले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोना महामारी र त्यसपछि सञ्चालन भएका निजी विद्यालयहरूले चर्काे शुल्क लिएको र भौतिक रुपमा विद्यालयमा उपस्थित नभएका विद्यार्थीबाट कम्प्युटर, नृत्य, यातायात लगायतको शुल्क लिएकोप्रति अभिभावक महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली तथा लुम्बिनी प्रदेश अध्यक्ष हेमबहादुर थापाले संयुक्तरुपमा विज्ञप्ति निकालेर निजी विद्यालयले अतिरिक्त विषयमा विद्यार्थीबाट लिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ निजी विद्यालयले अतिरिक्त शुल्क लिने र अर्काेतर्फ अघिल्लो कक्षामा उत्तिर्ण भएका विद्यार्थीहरूलाई मार्कसिट र चरित्र सर्टिफिकेट नदिने तथा आफ्नै विद्यालयमा जवरजस्ती भर्ना गर्न बाध्य बनाउने कार्यले अभिभावक महासंघको ध्यानाकर्षण भएको छ ।’

निजी तथा संस्थागत विद्यालयले नियम विपरीत चर्काे शुल्क लिएको र त्यसलाई सच्याउन पनि महासंघले माग गरेको छ । निजी विद्यालयले उक्त निर्णयलाई नसच्चाए आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

नयाँ शैक्षिक सत्रसँगै आवश्यक पर्ने पाठ्यपुस्तकहरू सहज र सुलभ रुपमा विद्यार्थीले प्राप्त गर्ने वातावरण मिलाउनसमेत महासंघले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *