झापामा कांग्रेस महाधिवेशनको चहलपहल, यी हुन् जिल्ला सभापतिका दाबेदार – Nepal Press

झापामा कांग्रेस महाधिवेशनको चहलपहल, यी हुन् जिल्ला सभापतिका दाबेदार

झापा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा झापामा सो पार्टीको चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दाबी गर्न सुरु गरेका छन् ।

पार्टीका जिल्ला उपसभापति राम कट्टेलले आसन्न जिल्ला अधिवेशनमा सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनी कांग्रेस झापाको कोषाध्यक्ष हुँदै उपसभापति पदमा बसेर काम गरिसकेका छन् । पार्टीमा लामो अनुभव प्राप्त गरिसकेका उनी पुराना कांग्रेसी नेताका रुपमा परिचित छन् ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माले झापामा कार्यकर्तासँग भेटघाट र बैठकलाई तीव्रता दिइरहेका छन् । उनीहरुको सक्रियता पार्टीको केन्द्रीय महाधिवेशन तथा प्रदेश, जिल्ला र स्थानीय तहका अधिवेशनतर्फ केन्द्रीत छ । कोरोना महामारीका कारण पार्टीको जिल्ला समितिले नेताद्वय सिटौला र शर्मालाई सहभागी गराएर भर्चुअल बैठक पटकपटक सञ्चालन गरिसकेको छ । बैठकमा महामारीले सिर्जना गरेको अप्ठेराका बीच कसरी महाधिवेशन र अधिवेशन गर्ने भन्ने विषयमा छलफल हुने गरेको छ ।

करिब ३४ हजार क्रियाशील सदस्य रहेको झापामा पार्टीका जिल्ला सभापति उद्धव थापाले आफू दुई कार्यकाल सभापति बनिसकेको हुँदा अब तेस्रो पटक उम्मेदवार नबन्ने बताउँदै आएका छन् । उनले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान ओगट्ने झापामा कांग्रेसको नयाँ नेतृत्व आउने बताए । उनले भने- ‘अब नयाँ साथीहरु नेतृत्वमा आउनुहुन्छ ।’

पार्टीका उपसभापति राम कट्टेलबाहेक अरुले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छैनन् । तर, पार्टीका पूर्वउपसभापति देउमान थेबे, पूर्वसचिव भगिरथ पोद्धार, सचिव प्रेम सम्बाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे र प्रचार विभाग प्रमुख लोकराज ढकाल पनि सभापतिको आकांक्षी हुन् । पूर्व उपसभापति थेबेले क्रियाशील सदस्यको टुङ्गो लागिसकेपछि उम्मेदवारीका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताए । कांग्रेस केन्द्रीय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार झापामा पार्टीको जिल्ला अधिवेशन आगामी साउन २६ गते हुनुपर्नेछ ।

कोभिड-१९ को महामारी नियन्त्रण नभइसकेको हुँदा कुन प्रक्रियाबाट जिल्ला अधिवेशन गर्ने भन्ने विषयमा छलफल चलिरहेको सभापति थापाले जानकारी दिए । उनले प्रत्यक्ष रुपमा भौतिक उपस्थितिभन्दा पनि प्रविधिको प्रयोग गर्दै अधिवेशन गर्ने कि भनेर विकल्पको खोजी भइरहेको जानकारी दिए । ‘परम्परागत ढङ्गले अधिवेशन हुने सम्भावना छैन, विकल्प के हुन सक्छ भनेर छलफल गरिरहेका छौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर