अमेरिकाले प्रस्ताव गरेको बीथ्रीडब्लुमा नेपाल सहभागि हुनुपर्छ : ज्ञवाली
काठमाडौं । चीनको पूर्वाधार परियोजना बीआरआईलाई चुनौति दिन जी-सेभेन राष्ट्रले अघि सारेको बीथ्रीडब्लु अवधारणाको बहस नेपालमा पनि थालनी भएको छ ।
आफूद्वारा लिखित पुस्तकहरुको लोकार्पण समारोहमा बोल्दै पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बीथ्रीडब्लु सन्तुलित, उच्चस्तरीय तथा पारदर्शी मोडेल भएको बताए ।
अमेरिकाले जी-सेभेनमा प्रस्ताव गरेको उक्त परियोजनामा नेपाल पनि सहभागि हुनुपर्ने ज्ञवालीले बताए । ‘हामीलाई कनेक्टिभिटी चाहिएको छ । पूर्वाधार चाहिएको छ’ उनले भने, ‘हामी विश्वसँग जोडिन चाहन्छौं । हामी बीआरआईमा जोडिएका छौं । हामी यसबाट अधिकतम लाभ लिनुपर्छ ।’
चीन र अमेरिकाबीचको प्रतिस्पर्धालाई पन्छाएर नेपालले आफ्नो हितमा अघि बढ्नुपर्ने धारणा ज्ञवालीको थियो । देशको हितमा निर्णय गर्न डराउन नहुने ज्ञवालीको भनाई छ ।
गतसाता बेलायतमा सम्पन्न जी-सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ पूर्वाधार परियोजनालाई चुनौति दिने गरी बीथ्रीडब्लु अवधारणा पेश गरेका थिए ।