सुरु भएको १० वर्षपछि सम्पन्न हुँदै माथिल्लो तामाकोशी आयोजना – Nepal Press

सुरु भएको १० वर्षपछि सम्पन्न हुँदै माथिल्लो तामाकोशी आयोजना

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । पहिलो युनिटको विद्युत जोडेर प्रसारण लाइन सुरु गरिने तथा प्रसारण लाइन व्यवस्थापनको काम अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए ।

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।

असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । प्रवक्ता डा न्यौपानेका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माण सुरु भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । प्राकृतिक विपत्ति तथा अनेकन समस्यासँग जुध्दै स्वदेशी लगानीकै सबैभन्दा ठूलो आयोजना अन्तिम चरणमा पुगेको हो ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेशनमा जोड्न लागिएको छ । ‘तामाकोशी करिडोरबाट आएको प्रसारण लाइनको बिजुली न्यू खिम्ती सबस्टशेनमा जोडिने भएको छ, सोही सबस्टेशनबाट बिजुली प्रणालीमा उपलब्ध हुनेछ’, डा न्यौपानेले भने । यसअघि बिजुली ढल्केबर सबस्टेशनमा जोड्ने तयारी थियो ।

नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले आज एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी गराएको छ ।

सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबरदेखि कोहरपुरसम्मका सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती हुुन सक्ने सूचनामा उल्लेख छ ।

प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथासक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरिने र औद्योगिक ग्राहकलाई पर्ने समस्या तथा असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ ।

माथिल्लो तामाकोशीको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम भइरहेको छ । आयोजनामा कूल ६ युनिट रहेका छन् । स्वदेशी लगानीको ठूलो आयोजना निर्माण सम्पन्न हुन लामो समय लाग्दा अनेकन आशङ्का पैदा भएका थिए । सरकारले सबै खालका साधन र स्रोत उपलब्ध गराएको भए पनि प्राकृतिक विपत्ति, कोरोनालगायत कारण पछाडि धकेलिँदै आएको थियो ।

आयोजना अन्तिम चरणमा पुगेपछि स्वदेशी लगानीमा नै ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वाससमेत आयोजनाले पैदा गरेको छ । शुरुआती लागत रु ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरमा आएको उतारचढाव, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै रु ८० अर्बको हाराहारी पुगेको छ ।

पछिल्लो पटक प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आयोजनास्थल पुगेर आवश्यक निर्देशन तथा बिजुली उत्पादनको तयारीका बारेमा जानकारी लिनुभएको थियो । पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर समस्या समाधानमा सहजीकरण गरेका थिए ।

सबैको साथ र सहयोगका कारण माथिल्लो तामाकोशी निर्माणको अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले प्रसन्नता व्यक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गरेका थिए ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर