विप्लव नेतृत्वको नेकपाद्वारा काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न – Nepal Press

विप्लव नेतृत्वको नेकपाद्वारा काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न

माइला लामा भन्छन्–नागरिकलाई संकट पर्दा पार्टी साथमा छ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेकपा काठमाडौँले आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाल रेडक्रसको केन्द्रीय रक्तसंचार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा करिब २ सय पार्टीका नेता कार्यकर्ता र समर्थक तथा शुभचिन्तकले रक्तदान गरेका छन् । कोरोनाका कारण राष्ट्र र नागरिकलाई परेको समस्यामा पार्टी पनि सहभागी भएको नेकपाका केन्द्रीय सदस्य माइला लामाले बताए । उनले केन्द्रीय रक्तसंचार केन्द्रमै रगतमा अभाव हुँदै गएको भन्ने जानकारी पाएपछि रक्तदान आयोजना गरिएको बताए ।

“कोरोनाका कारण रगत अभावका कारण नागरिकको ज्यान गइरहेको सुन्नमा आएको छ । राष्ट्र र नागरिकलाई आएको संकटमा सहभागीमा हुन्छौं भनेर पार्टीका नेता, कार्यकर्ता, तथा युवायुवतीहरुको उत्साहजनक सहभागी हुनुभएको छ । कोरोनासँगको लडाइँमा रक्तदानले सहयोग हुनेछ” माइला लामाले भने । आफ्नो पार्टी जनताप्रति उत्तरदायी भएको हुनाले रक्तदान आयोजना गरिएको लामाले बताए । उनले रक्तदानले नागरिकको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास गरे । “कोभिड–१९ जो विपत्ति खडा गरेको छ, यो विपत्तिसँग लड्न भावनात्मक रुपमा एकता रक्तदानले सहयोग गर्ने विश्वास लिएका छौं” लामाले भने ।

नेकपाका काठमाडौँ इन्चार्ज समेत रहेका लामाले अहिले नेपालका राजनीतिक पार्टी र सरकार जनताको स्वास्थ्यप्रति गम्भीर हुने बताए । उनले संसदभित्र रहेका पार्टीहरुलाई जनताको स्वास्थ्यभन्दा सत्ताको लुछाचुडी गरिरहेको बताउँदै अहिलेको व्यवस्थाप्रति निरासा र चिन्ता बढेको बताए । उनले आफ्नो पार्टीले वैज्ञानिक समाजवादमार्फ जनताका सबै खाले समस्या समाधान गर्न खोजेको बताए ।

लामाले आफ्नो पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको बताए । “सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे कार्यान्वयन नहुँदा हाम्रा धेरै नेता कार्यकर्ता जेलमै हुनुहुन्छ । तीन बुँदामा हाम्रो पार्टीले गरेको प्रतिवद्धताअनुसार हाम्रो पार्टी गइरहेकै छ । तर, सरकारले आफ्नो प्रतिवद्धता पूरा नगरेकोले आक्रोस बढेको छ” लामाले भने ।

त्यसैगरी नेकपाका काठमाडौँ सेक्रेटरी तुलसीनारायणले रक्तदानमा सहभागी हुने र समन्वय गर्ने रेडक्रसलाई धन्यवाद दिए । कोरोना संकटमा रगतको अभाग हुँदै गइरहेको पार्टीले रक्तदान आयोजना गरेकोमा नेता कार्यकर्ताले खुसी व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *