ओलीको स्वास्थ्यसँगै बौरिएको राजनीतिक खिचातानी
ओलीविरुद्धको ‘महागठबन्धन’ : ओलीलाई हराउन कठिन भएको स्वीकारोक्ति !
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण सफल हुन्छ कि हुँदैन ? भन्ने संशयको विषय थियो । धेरैले उनको मिर्गौला प्रयारोपण सफल नहुने अनुमान गरेका थिए । थोरै सम्भावनाबीच प्रत्यारोपण सफल भयो ।
ओलीकाे मिर्गौला प्रत्यारोपणसँग देशको राजनीति जोडिनु स्वभाविक थियो । प्रत्यारोपण सफल नहुने आँकलन गर्दै केही राजनीतिक दल र तिनका नेताले राजनीतिलाई आफूअनूकुल बनाउने रणनीति बनाए । त्यहींअनुसार दलभित्र अनेक गुट-उपगुट निर्माण भए । तर जब ओलीको मिर्गौला प्रत्यारोपण सफल भयो, तब राजनीति बेग्लै ढंगले अघि बढ्यो । अझ भनौं, ओली बौरिएसँगै राजनीतिक खिचातानी पनि बौरियो ।
नियमित डायलासिस गरिरहेका ओलीले एक दिन भने, ‘कतिपयले म मर्छ भन्ठानेका थिए । तर म त झन् तन्नेरी हुँदै आएँ । जुँगा पनि झन् कालो हुँदै आयो ।’ उनको उक्त अभिव्यक्तिपछि ‘मृत्युको आश’ गरेर बसेकाहरु बेचैन भए । उनीहरुको पदीय लालच सतहमै छरपस्ट भयो । परिणमतः नेकपा फुट्यो, एमाले फुट्दैछ । जसपाको हालत त्यस्तै छ ।
अब महागठबन्धनको माध्यमबाट आफू फेरि राजनीतिको केन्द्रमा प्रवेश गर्ने प्रचण्ड दाऊमा कांग्रेस भित्रको कलहसमेत फुटको सतहमा आयो भने अचम्म हुने छैन ।
ओलीलाई सरकारबाट मात्रै हटाएर उनीहरुको अभीष्ट पूरा हुँदैन । ओली फेरि शक्तिशाली भएर आउने सम्भावना भएकाले विपक्षीहरु ओलीको भौतिक अन्त्य नै चाहन्थे, चाहिरहेका छन् ।
केही दिनअघि एकजना प्रदेश सांसदले संसदको रोष्टममै उभिएर ‘केपी ओली मार्नु पर्छ, कोही सक्दैनौ भने म आफैं तयार छु’ भने । यसले पनि ओलीलाई हेर्ने विपक्षी नजर प्रष्ट हुन्छ ।
हरेकचोटि केपी ओली मृत्युको मुखमा पुगेर फर्किंदा अथवा सम्भावित मृत्युलाई आंकलन गरेर चालिएका गोटीहरु फेल भएपछि अझ ठूलो राजनीतिक शक्ति लिएर पुनर्जीवित हुने गरेका छन् । यो पटक उनी विगतमा जस्तै राजनीतिमा पुनर्जीवित हुन्छन् कि हुँदैनन् ? हेर्न बाँकी नै छ ।
इतिहासमा बहुदल आएपछिको केही समय नेपालको राजनीति गिरिजाप्रसाद वपिरि घुम्यो । उनले के बोल्छन्, त्यसकै आधारमा राजनीतिक बहस हुन्थ्यो । माओवादी युद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि र पहिलो संविधानसभा चुनावमा ठूलो दल बनेपछि राजनीतिको केन्द्रमा प्रचण्ड भए । तर दोस्रो सविधानसभामा नराम्रो पराजय भोगेपछि र माओवादी विभिन्न टुक्रामा विभाजित भएपछि भने उनको भूमिका ‘साइड हिरो’ रुपमा रह्यो ।
तर संविधान बनेपछि, अझ विशेषगरी भारतीय नाकाबन्दीपछि नेपाली राजनीतिकको केन्द्रमा केपी ओली सशक्त रुपमा उदाए । उनको केन्द्रीय भूमिका अहिले पनि जारी छ र भविष्यमा पनि रहने देखिन्छ । कतिपय अवस्थामा अविचलित रुपमा आफूले लिएका अडानहरु, नेपाली जनताले बुझ्ने गरी आफ्ना कुरालाई सशक्त रुपमा प्रस्तुत गर्नसक्ने क्षमता, भारतीय हस्तक्षेपका विरुद्दको नेपाली मानसिकतालाई नेतृत्व दिन देखाएको तत्परता, र संविधान बनेपछि समृद्धिको अभियान चलाउनु पर्छ भन्ने खाका प्रस्तुत गर्न सफल भएका कारण नेपालको राजनीतिमा केन्द्रीय स्थान ओगट्न सफल भएका हुन्, उनी ।
एक खाले एमालेका नेता, कार्यकर्तामा ओलीको मृत्यु ठूलो भयका रुपमा छ । उनीहरुलाई ओलीपछि एमालेको नेतृत्व सशक्त हुने हो कि होइन भन्ने चिन्ता छ । कतै माधव नेपालको पछि लागेर माओवादीमा मिसिनु पर्ने त होइन ? भन्ने चिन्ता पनि झल्कन्छ । मूलतः समृद्धि र राष्ट्रियताको चिन्ता बोक्ने युवा पुस्ताले ओलीको विकल्प अरु देखेका छैनन् ।
तर केपी ओलीका प्रतिस्पर्धी र विपक्षीहरुका लागि भने उनको मृत्यु चाहना बनेको छ । ओलीपछि आफ्नो राजनीतिक स्पेस बढ्ने आश धेरेको छ । विपक्षीको नजरमा केपी ओली संसदीय राजनीतिमा माहिर देखिए, जनमत आफ्नो पक्षमा पार्न अहिले पनि सक्षमता देखाए, अघिल्लोचोटि संसद विघटन जस्तो अतिअप्रिय काम गर्दा समेत लाखौंलाख जनता आफ्नो पक्षमा सडकमा उतार्न सफल भए उनी ।
समृद्धिको अभियान भन्दै हजारौं भौतिक संरचनाहरुको शिलान्यास गरे र उद्घाटन गरे । यी कुराबाट केही न केही सकारात्मक प्रभाब जनतामा छाड्न सफल भएका छन् भन्ने विपक्षीले बुझेका छन् । केपी ओलीसँग ठूलो जनमत छ भन्ने बुझेका विदेशी शक्तिहरुले समेत उनलाई चिड्याउन चाहेका छैनन् भन्ने विपक्षीले ठानेका छन् ।
आउने चुनावमा समेत विपक्षीहरु केपी ओलीको विरोध गर्नमा मात्रै सीमित हुनुपर्ने अवस्था छ । नयाँ एजेण्डा, देशलाई रुपान्तरण गर्ने खाका, नयाँ अभियानहरु दिनसक्ने क्षमता र सामथ्र्य कसैले प्रस्तुत गर्न सकेका छैनन् । ओलीको विरोध गरेर मात्रै जनमत आफ्नो पकडमा आउला भन्ने विस्वास विपक्षलाई छैन । त्यसैले उनीहरु जसरी पनि ओलीलाई सिध्याउने चाहन्छन् ।
मृत्यु चाहना राख्दैमा हुने होइन तर मृत्युको चाहना राख्दै छचल्किएका अभिव्यक्तिले विपक्षीमा बढ्दो निरासा र खस्कँदो क्षमतालाई प्रष्ट पार्छ ।
विपक्षीले आफ्ना कार्यकर्ताहरुलाई हौसला दिन केपी ओली सकिए भनेर जति भने पनि ओलीको जनमतलाई सजिलै परास्त गर्न सकिँदैन भन्ने बुझेका छन् । त्यसैले उनीहरु महागठवन्धनको निर्माणमा लागेका छन् । ओली सजिलै सकिने आंकलन भएको भए यस्तो गठबन्धनको सम्भावना नै थिएन । अझ ओलीकै नेतृत्वमा रास्ट्रवादी, सांस्कृतिक, धार्मिक र सिके राउतदेखि विप्लवसम्मको नयाँ गठबन्धन बन्ने हो कि भन्ने डर पनि विपक्षीलाई छ ।
केपी ओलीको राजनीति उनकै मृत्युको वरिपरि घुम्न थालेको धेरै भइसकेको छ । एमालेको नवौं महाधिवेशनका बेला पनि ‘अब मरिहाल्छन्, एकचोटि जितेर फरक नपार्ला’ भन्नेहरु धेरै थिए । तर त्यहीं कारण ओली झन् शक्तिशाली भए ।
एमाले-माओवादी मिल्नेबेला पनि कतिपयले ओलीको मृत्युबारे अनेक आँकलन गरेका थिए । ओली र प्रचण्डको सत्तास्वार्थ मिलेका कारण भएको त्यो एकता विथोलिएको सत्ताकै कारण भएको प्रष्ट छ ।
चुनाव जितेर पाँच वर्षसम्म शक्तिशाली भएर सरकार चलाउने र देश निर्माणमा ठूलो योगदान गरेको देखाउने ओलीको चाहना थियो भने टुक्राटुक्रा भएको माओवादीलाई एमालेको शक्तिशाली संगठनमा मिसाउने अनि ओलीपछि पार्टी कब्जा गर्ने लोभ थियो । त्यो कुरा प्रचण्डले बेलाबखत दिने अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।
ओलीको मृत्युको सम्भावनालाई आँकलन गर्दै ओली गुटसँग माधव नेपालले दूरी बढाउने काम गरे । यसमा प्रचण्डको ठूलो हात छ । एमालेहरु एक भएर आफूलाई एक्ल्याउने खतरा देखेपछि प्रचण्डले माधव नेपाललाई प्रयोग गरे । नेपालको राजनीति अहिले त्यहीं दाउपेचपछि उत्पन्न परिस्थितिबीच रुमल्लिरहेको छ ।
त्यतिबेला नेपाली कांग्रेसलगायतले ओलीको सम्भावित मृत्युलाई राजनीतिक जोडघटाउमा गाँसेका थिएनन् होला । तर पछिल्लो समय कांग्रेसलगायतको शक्तिले ओलीसहितको एमालेसँग प्रतिस्पर्धा गर्न सजिलो छैन भन्ने आंकलन गरेको छ । अथवा ओलीबिनाको एमालेसँग आफूलाई सजिलो हुने अन्दाज हुनु स्वाभाविकै हो ।
ओलीको विरोधले भन्ने गरेका छन्- ‘ओली एकलौटी गर्छन्, घमण्डी छन्, कसैलाई टेर्दैनन्, सत्ता टिकाउन जे पनि गर्छन्, जस्तोसुकै सम्झौता गर्छन् ।’
पहिलोखाले आरोप प्रचण्ड र माधव नेपाल पक्षकाले लगाउने गर्छन् । देशको समृद्धि र प्रणाली स्थापनाका लागि आफ्नो पद नै दाऊमा राखेर अडान लिएका नेतालाई उनीहरुले घमण्डी देख्नु स्वभाविक हो । समयक्रमसँगै यो कुरा प्रष्ट हुने नै छ ।
आफू प्रधानमन्त्री हुँदा पार्टी पनि सरकार पनि आफ्नै मुट्ठीमा राख्ने बानी परेका प्रचण्डलाई पछिल्लो समय ‘पार्टीको जनवादी केन्द्रीयता’ ओलीमाथि लगाउन नपाएको झोंक र माधव नेपालको सुरुदेखिको आफ्नो भूमिका बढ्नु पर्छ भन्ने चाहनालाई ओलीले टेरेनन् । चुनाव जितेर आएको सरकार प्रमुखमाथि बाहिरी अंकुश धेरै हुनु हुँदैन भन्ने मान्यताबाट ओली चले । तर यो द्वन्द्व ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण सफल भएपछि मात्रै व्यापक भएर चर्केको थियो ।
आफ्नो सत्ता टिकाउन जे पनि गर्छन् भन्ने दोस्रो खाले आरोप पछिल्लो समय बढी उठ्न थालेको छ । कतै भारतीय आशीर्वादले अथवा प्रत्यक्ष दबाबले त ओलीले अहिलेका सबै काम गरेका छैनन् ? भन्ने शंका बढेको छ ।
देउवाको पालाको झझल्को दिने जस्तो भर्खरैको मन्त्रिमण्डल गठन, राजपालाई आधा जति मन्त्री दिनुपर्ने अवस्था, चुरे र महाभारत क्षेत्र उत्खनन् गर्ने योजना, हतार–हतार ल्याइएको नागरिकता अध्यादेश आदि कुराले अहिले उब्जेका शंकाहरुलाई मलजल गर्छन् ।
महामारीबीचमा भएका फोहोरी संसदीय खेललाई जनताले पटक्कै मन पराएका छैनन् । यो अवस्था किन आयो भन्ने कुरा जनतालाई प्रस्ट पार्ने काम केपी ओली कै हो । तर केपी ओली सबैतिरबाट एक्लिएका हुन् भने विपक्षीहरु महागठबन्धन नै बनाएर आउनुपर्ने अवस्था चाहिँ किन आयो ? सोचनीय विषय छ ।
केपी ओलीले सत्ताकै लागि जे गर्न पनि तयार भएका भए उनको लागि सबै भन्दा सजिलो प्रचण्ड र माधब नेपाललाई खुसी पार्ने, उनीहरुले भनेका मान्छेहरुलाई नियुक्ति दिने र कुनै भागबण्डा मिलाएर आफुू पाँच वर्ष झण्डै दुईतिहाइको शक्ति लिएर सरकारमा बसिरहन सबै भन्दा सजिलो हुने थियो । प्रचण्ड र माधव नेपालसँग विद्रोह गर्नु भनेको आफ्नो प्रधानमन्त्रीको पद धरापमा पार्नु हो भन्ने कुरा पक्कै केपी ओलीले नबुझेका होइनन् ।
आखिर जसले जे भने पनि अख्तियारमा कसलाई नियुक्ति गर्ने भन्ने कुरा नमिलेपछि विवाद उत्कर्षमा पुगेको हो । प्रचण्ड र माधव नेपाललाई खुसी पार्नतिर नलागी यो कठिन बाटो किन लिए होलान् ओलीले ? सत्ताकै लागि त यो बाटो लिन आश्यक थिएन ।
सारमा, ओलीलाई मार्नु पर्छ भन्नु चाहिँ हराउन गाह्रो छ भन्ने कुराको स्वीकारोक्ति नै हो ।