नाता टुटेपछि पनि तिम्रै हैकम ?
केही समयअघि अमेरिकी धनाड्य बिल गेट्स र उनकी पत्नी मिलिण्डाबीच सम्बन्धविच्छेद भयो । उनीहरूले सार्वजनिक वक्तव्यमार्फत् सम्बन्धविच्छेदबारे दिएको जानकारीले न्यूज पोर्टलहरूमा निकै स्थान पायो । संयुक्त वक्तव्यमा उनीहरूले पतिपत्नीको सम्बन्ध टुटे पनि संयुक्तरुपमा स्थापना गरेको फाउण्डेशन मिलेर नै सञ्चालन गर्ने अभिव्यक्ति पनि दिए ।
बिल गेट्स दम्पतीको खबर पढिरहँदा मैले ती साथीलाई सम्झिरहेको थिएँ, जो सम्बन्धविच्छेदको पाँच वर्षपछि पनि सार्वजनिक स्थलमा पूर्वपत्नीलाई ‘मेरी श्रीमती’ भन्दै हिँड्छन् ।
अझ बच्चाको विद्यालय, कार्यालय जहाँ पुगेर अनावश्यक टिप्पणी गर्दा पूर्वपत्नीको बेइज्जत हुन्छ, त्यहीँ पुगेर जथाभावी टिप्पणी गर्दै हिँड्छन्, दुःख दिन्छन् । पूर्वपत्नीका साथीहरू जो छन्, उनीहरूको समेत नकारात्मक टिप्पणी गर्छन् ।
पूर्वपतिले दिएको हैरानीबाट आजित भएपछि उनले पटक-पटक प्रहरीको ढोका समेत ढक्ढक्याएकी थिइन् ।
ती साथीसँगै स्मृतिमा आइन् तनहुँकी साहिरा खातुन । २०६६ सालमा विहे गरेलगत्तै उनका श्रीमान रोजगारीका लागि कतार गए ।
साढे दुई वर्ष कतार बसेर काम गरे । कतार बसुन्जेल उनले फोनबाट साहिराको चरित्रमा टिप्पणी गरिरहे । तर, जब नेपाल घर फर्किए, उनले नै चत्रिहीन व्यवहार प्रस्तुत गरे ।
साहिराले सुनाएकी थिइन् । घर फर्किँदा श्रीमान्ले अर्की केटी लिएर आए । तिनैलाई मेरी श्रीमती हो भन्दै साहिरालाई थप पीडा दिन थाले । त्यसपछि साहिराले सम्बन्धबिच्छेदका लागि जिल्ला अदालत तनहुँमा निवेदन दिइन् ।
२०७१ सालमा अदालतले उनीहरूको सम्बन्धविच्छेद गरिदियो । श्रीमान् इमान्दार नभएपछि मक्किएको सम्बन्धको कानूनी बाटोबाट नै टुंगिएपछि ढुक्कले श्रम गरेर बाँच्छु अनि आफ्नो जीवन जिउँछु भन्ने साहिरालाई लागेको थियो । सम्बन्ध नै टुंगिएपछि उसँगै हिँडेको त्यो पीडादायी यात्रा बिर्सिन चाहन्थिन् साहिरा ।
तर, पूर्वपतिले भने उनीमाथि हैकम जमाउन चाहिरहे । साहिराले तीनवर्षअघि तनहुँमा भेट्दा भनेकी थिइन् ‘सम्बन्धविच्छेद भइसक्यो तर अझै अर्को विवाह गरे म र मैले विवाह गर्ने पुरुषलाई मारिदिने धम्की दिइरहन्छन् ।’
उनी थप्छिन्, ‘त्यससँको सम्बन्ध टुटिसकेपछि पनि मैले कसैसँग विवाह गर्न नपाउने कस्तो व्यवस्था हो ?’
विवाह सम्झौताको सम्बन्ध हो । जसले महिला र पुरुषलाई (केही देशले समलैंगिक सम्बन्धलाई पनि विवाह मानेका छन्) सार्वजनिक रुपमा संयुक्त जीवन बाँच्ने, सन्तान उत्पादन गर्ने कानूनी र सामाजिक स्वीकृति प्रदान गर्छ ।
फरक परिवेश र वातावरणमा हुर्किएका दुई विपरीत लिंगीबीच भावनात्मक सम्बन्ध कायम रहँदा वैवाहिक सम्बन्ध कायम रहन्छ । जब दुईबीच नै सम्बन्ध चिसो हुन्छ तब वैवाहिक सम्बन्धको कुनै अर्थ रहँदैन । भावनामा फरक रहेर, सौहार्दता कायम नरहेर पनि सम्बन्ध रहिरहने हो भने दुवैजनाले तनाव र अनुत्पादनक जीवन बिताउने अवस्था आउँछ नै ।
कमजोर सम्बन्धको तनावले अनुत्पादन रहनुभन्दा वैवाहिक सम्बन्ध टुंगाएकै वेश । जसरी बिल गेट्स दम्पतीले खुलेर सम्बन्ध टुंगाउने निर्णय गरे । यसो हुँदा कम्तिमा एकअर्काले आफ्नो स्वतन्त्र जीवन अघि बढाउन त सक्छन् ।
हामीकहाँ चाहिँ विवाहित महिलाको एक्लो जीवन सहज छैन । हुन त पछिल्लो समय बढ्दै गएका सम्बन्धविच्छेदको तथ्यांकले हामीलाई सामान्य जस्तो पनि लाग्न सक्छ । महिलाहरू सम्बन्ध टिकाउन खोज्दैनन् भन्ने सार्वजनिक भनाइहरू पनि आइरन्छन् ।
तर, नेपाली समाजमा आज पनि ‘बिना पारिश्रमिकको श्रमिक’ ठानिने बुहारीको अस्तित्व छैन । जब छोरीकोे सम्बन्धबाट फराकिलो श्रीमती, बुहारी, भाउजू… यस्तै सम्बन्ध थपिन्छन् तब आफ्नो पहिचान श्रीमान्बाट लिएर फेरि शुन्यबाट जीउनुपर्ने बाध्यतामा छन् महिलाहरू । कुनै कानून वा ऐनले निर्धारण नगरिदिए पनि समाजले तोकिदिएका परिभाषित बोझले सधैं थिचिरन्छ उनलाई ।
भावनाले जोडेको सम्बन्ध टुटाउन त्यति सजिलो त छैन । म अनुमान गर्छु, बिल गेट्स दम्पतीले सम्बन्ध टुटाउने वक्तव्य निकाल्नुअघि पक्कै सुझबुझपूर्ण ढंगमा सल्लाह गरे होलान् । सम्बन्ध अघि बढाउन नसक्ने बुझेर नै एकअर्काको स्वतन्त्र अस्तित्व स्वीकार गर्न दुवै तयार भए ।
हामीकहाँ विवाह नामक संस्था भावनात्मक र समझदारीको सम्बन्ध मात्रै होइन, महिलालाई अधीनमा राखिरहने बन्धन हो । देशका प्रतिष्ठित र सार्वजनिक ओहोदाका व्यक्तिको परिवारमा पनि श्रीमानको चरम बेवास्तालाई चुपचाप सहेर महिलाहरु बसिरहेको पनि सार्वजनिक वृत्तबाट छिपेको छैन ।
सम्बन्धबिच्छेदका घटनासम्म आइपुग्नुअघि मेरी साथी र साहिरालेझैं सम्बन्ध टिकाउन महिलाले आफ्नो सबै बुताले भ्याएसम्म गर्छन् । हिंसा सहन्छन्, कुटपिट खेप्छन्, बेइज्जतीलाई सहजै पचाउँछन् । २४ घण्टे दिनमा १४ घण्टा हाराहारी बिनापारिश्रमिकको श्रममा बिताउँछिन् । हदै भएपछि सम्बन्ध टुंग्याउन चाहेमा उनैले खेप्छन् चारैतिरबाट ‘पोइ रिझाउन नजानेकी, घर गरिखान नसक्ने…’ जस्ता अनगिन्ती टिप्पणी ।
मेरो नजिकमा एकजना बहिनी छिन् । जसले विवाहपछि एक छोरी जन्माइन् । त्यसपछि परिवार र श्रीमान्ले उनलाई मतलब गर्नै छाडे । जति कोसिस गरेपनि श्रीमान्को मन फर्काउन सकिनन् । न त परिवारले नै आड दियो ।
माइतीको आश्रयमा पुगिन् । त्यहीबीच सिलाइकटाइ सिकिन् । आफैं कमाउन सक्ने भइन् । तर, श्रीमान्सँगको सम्बन्ध भने त्याग्न तयार भइनन् । उनले एकपटक भनेकी थिइन्, ‘श्रीमान्ले मतलब नगर्दा त बाँच्न गाह्रो छ । अझ सम्बन्धविच्छेद नै गरेर त बाँच्नै सकिँदैन, यो छोरीलाई पनि कसरी हुर्काउनु दिदी ।’
सिलाइ कटाइ सिकेर कमाउन सक्ने भएपछि उनी श्रीमान्कै आश्रयमा फर्किएकी छन् । विवाहपछि डेढ वर्ष माइतीमा बिताएकी उनी पुनः श्रीमान्सँग सम्बन्ध अघि बढाउन आइन् । उनलाई वैवाहिक सम्बन्ध टुंग्याएर एकल पहिचानमा बाँच्नभन्दा आफ्नै परिश्रमले सही वैवाहिक जीवन नै उपयुक्त लागेको छ । अहिलेको हिंसा भन्दा भयंकर अप्ठ्यारो सम्बन्धबिच्छेदपछि आउने उनको बुझाइले पीडासहितको वैवाहिक सम्बन्ध स्वीकार गरेको हो ।
हिन्दू सम्प्रदायमा विवाहपछि महिलाको स्वतः पूरा अस्तित्व, पहिचान श्रीमान्सँग गाँसिन्छ । गोत्र नै सरेर अर्काकोमा गएपछि उनको बासस्थान स्वतः श्रीमान्को घर हुन्छ । नयाँ बनेको मुलुकी देवानी संहिताले नै विवाहित महिलाको हकमा श्रीमान्को घर नै स्वतः उनको घर कायम रहने व्यवस्था गरिदिएको छ ।
यसको अर्थ सकेसम्म सम्बन्ध टुंगाएर एकल अस्तित्वमा बाँच्न पाउने परिकल्पना हाम्रा व्यवहार, पारिवारिक सामाजिक संरचनाले गरेको छैन । रामायणमा त आफ्नो चरित्रको शुद्धता प्रमाणित गर्ने चुनौतीमा सफल भएपनि रामबिनाको अस्तित्व धारण नगरी सीताले आफूलाई धर्तीमा समाहित गराउँछिन् ।
यस्तै मिथहरुको अनुशरणबाट अघि बढेको हिन्दू आर्य समाजमा विस्तारै महिलाले विहेपछिको जीवन पनि आफ्नो हुन्छ भनेर सोच्ने स्थिति आएपनि स्थापित भइसकेको छैन ।
जस्तोसकै व्यवस्था भए पनि व्यवहार परिवर्तन नभएसम्म समानताको परिकल्पना सम्भव हुँदैन । पढेलेखेका, देश विदेशका परिवर्तित समाज बुझेकाहरु पनि अझै विवाहपछि श्रीमतीको स्वतन्त्र पहिचानलाई सम्मान गर्नुलाई पुरुषत्वमाथिको प्रहार ठान्छन् ।
सम्बन्ध सहज अघि नबढ्ने भएपछि वैवाहिक जीवनको लहरोबाट बाहिर निस्किन्छु भन्न महिलाका निम्ति सकस छ । हुन त विवाह पनि वस्तु छनौट गरेझैं गुण-दोष जाँचीजाँची गरिने समाजमा महिलाले एकल अस्तित्व स्थापित गर्न निकै गाह्रो त छँदैछ, अब त्यस्ता पुरुषहरुलाई महिला स्वयंले नाता टुटेपछि पनि तिम्रो हैकम स्वीकार्य छैन भन्न सक्नुपर्छ ।