एमाले महाधिवेशन आयोजक कमिटी भंग हुँदै, आज अन्तिम बैठक
काठमाडौं । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकले पार्टीलाई एकतबद्ध बनाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय गर्ने एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलाबाट नेकपा एकता बदर भएपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरि अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी खारेज गरेको थियोे ।
माधव नेपाल पक्ष भने यी प्रक्रियासँग असहमत रहेर समानान्तर पार्टीको अभ्यास गरिरहेको छ ।
एमाले एकताको लागि २०७५ जेठ २ को अवस्थाबाट पार्टी सञ्चालन हुनुपर्ने नेपाल पक्षको माग र सर्वोच्चले आयोजक कमिटीका कारबाहीलाई मान्यता नदिएपछि एमालेले आज अन्तिम बैठकबाट केही निर्णय गर्दै यो कमिटीलाई केन्द्रिय कमिटीमा रुपान्तरण गर्ने भएको छ ।
केन्द्रीय कमिटी बैठक शुक्रबार बस्नेछ जुन बैठकमा माधवकुमार नेपाल समूहलाई जेठ २ कै पदाधिकारी हैसियतले सहभागी गराइने भएको छ । मंगलबार साझको स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने निर्णय गरेको थियो ।