एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक जारी (तस्बिरहरू)
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक बसिरहेको छ ।
एमाले एकताको लागि २०७५ जेठ २ को अवस्थाबाट पार्टी सञ्चालन हुनुपर्ने माधव नेपाल पक्षको माग र सर्वोच्चले आयोजक कमिटीका कारबाहीलाई मान्यता नदिएपछि एमालेले आज अन्तिम बैठकबाट केही निर्णय गर्दै यो कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दैछ ।
बैठकले पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय गर्ने एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।
सर्वोच्च अदालतको फागुन २३ को फैसलाबाट नेकपा एकता बदर भएपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरी अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी खारेज गरेको थियो ।
एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । जुन बैठकमा माधवकुमार नेपाल समूहलाई जेठ २ कै पदाधिकारी हैसियतले सहभागी गराइने भएको छ । हिजो साँझको स्थायी कमिटी बैठकले पार्टी जेठ २ मा फर्किने निर्णय गरेको थियो ।
तस्बिर: राजन काफ्ले ।