चितवनको ग्यास उद्योग डुबानमा – Nepal Press

चितवनको ग्यास उद्योग डुबानमा

चितवन । खैरहनी नगरपालिका वडा नम्बर-१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्‍याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्‍याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर बगाएका छन् ।

उनले भने, ‘यहाँका सिलिण्डर वगाएर सौराहा सम्म पुगेका छन् ।’ बाढीले उद्योगको संरचनामा नोक्सान पुर्‍याएको छ । उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहन्छ । के कति सिलिण्डर बगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए । स्थानीय खोलाहरु बढेर पुलहरु उच्च जोखिममा रहेको उनले बताए । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर-३ शान्ति चोक डुबानमा परेको छ । कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको उनले बताए । लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले वगाएको छ । लोथर र राप्ती खोलासमेत बढ्दै गएको भन्दै उनले सौराहा पनि डुबानको खतरामा रहेको जानकारी दिए ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *