पूर्वमन्त्री साहको ‘पाँच प’ अभियान : पानीदेखि पुस्तकालयसम्म
काठमाडौं । नेपालका प्रायः राजनीतिज्ञहरूका लागि राजनीति पेशा हो । उनीहरू राजनीतिलाई नै आम्दानीको स्रोत बनाउँछन् वा बनाउन चाहन्छन् । तर, यसमा अपवाद पनि छन् । जस्तै गणेश साह ।
पूर्वविज्ञान तथा प्रविधिमन्त्री साह माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हुन् । लामो समयदेखि सक्रिय राजनीति गरिरहेका उनी पार्टीका हरेकजसो बैठकमा गएकै हुन्छन् । तत्कालीन राजनीतिक परिवेशमाथि सञ्चारमाध्यममा क्रिया-प्रतिक्रिया दिन पनि भ्याएकै छन् । तर, उनी राजनीतिमा मात्रै सीमित छैनन् ।
रुसको जनमैत्री विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा डिग्री गरेका साह पार्टी पार्टीको कामबाट फुर्सद हुनासाथ अन्य काममा लागेको देखिन्छ । उनले राजनीतिबाहिरका कामलाई ‘पाँच प’ मा सूत्रबद्ध नै गरेका छन् । त्यसलाई उनी आफ्नो अभियान भन्न रुचाउँछन् ।
१. प-पानी
नेपाल सरकारको खानेपानी तथा ढलनिकास समितिमा पहिलो मेकानिकल इन्जिनियरका रुपमा काम गरेका साहले पानीलाई निकै प्राथमिकता दिएका छन् ।
आफ्नो दश वर्षे जागिरे जीवन (२०३२ देखि २०४२ सम्म)मा ‘फुड, इनर्जी र वाटर नेक्सस’ को महत्व जान्ने अवसर पाएको उनी बताउँछन् । इन्जिनियरका रुपमा नेपालमा पहिलो व्यावसायिक पानी ट्याङ्कर सञ्चालन गर्ने अवसर पनि आफूले पाएको उनको भनाइ छ ।
‘खानेपानी तथा ढलनिकास समितिमा पहिलो पानी ट्यांकर किन्ने मान्छे म हुँ,’ साह सम्झिन्छन्, ‘त्यतिखेर सरकारबाहेक अरुले पानी बेच्ने चलन थिएन । सेना र केही राजदूतावासले एक-दुईवटा पानी ट्याङ्कर राखेका थिए । अन्त कतै पनि पानी ट्याङ्कर थिएनन् त्यो बेला ।’
जहाँ–जहाँ पानीको अभाव छ, त्यहाँ वितरण गर्नलाई त्यो ट्याङ्कर किनिएको उनी बताउँछन् ।
धेरै वर्षपछि काठमाडौंमा आइपुगेको मेलम्ची खानेपानी आयोजनाको अवधरणा उहिल्यै बनेको र त्यसको परिकल्पनामा आफ्नो पनि केही न केही योगदान रहेको उनको दाबी छ ।
‘बिहान उठेदेखि साँझसम्म ६ वटा भाषण गरेँ, ती सबै खानेपानी तथा सरसफाइ सम्बन्धी थिए,’ उनले सुनाए । अब विश्वयुद्ध भए पानीकै लागि हुने ठान्ने उनी जहाँ पानी हुन्छ, त्यहाँ सुःख, समृद्धि र शान्ति हुने मान्यता राख्छन् ।
‘उपत्यकाका बालाजु, फर्पिङ र चापागाउँमा नेपालकै ठूलो वाटर पम्प मैले नै चलाएको हो,’ उनले भने ।
जागिरे जीवन छोडेर राजनीतिमा पूर्णकालीन भएपछि पनि उनले खानेपानी तथा ढल निकास सम्बन्धी कामलाई निरन्तरता दिइरहे ।
६ वर्षअघि वल्र्ड ट्रेड सेन्टरमा उनले अभिनेता राजेश शमाल र अभिनेत्री झरना थापालाई बोलाएर ‘वाटर एक्सपो’ आयोजना गरेका थिए ।
खानेपानी तथा सरसफाइमा सम्बन्ध राख्ने विभिन्न संस्थामा उनी आबद्ध छन् । ‘सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स’का उनी संस्थापक सदस्य हुन् । अहिले सदभावना दूत पनि छन् ।
त्यस्तै स्मार्ट वास सोलुसनका उनी सल्लाहकार हुन् । रिन्यूयवल इनर्जी कन्फिडिरेसन अफ नेपाल (इकोन) र नेपाल बायो ग्याँस प्रोडुसर्स एसोसिएसनमा पनि उनी सल्लाहकारका रुपमा आवद्ध छन् ।
हरेकको घरमा सुद्ध र सफा पानीका लागि उनको जोड छ । विश्व पानी दिवसका अवसरमा गत २२ मार्चमा उनी निकै सक्रिय भए ।
‘बिहान उठेदेखि साँझसम्म ६ वटा भाषण गरेँ, ती सबै खानेपानी तथा सरसफाइ सम्बन्धी थिए,’ उनले सुनाए । अब विश्वयुद्ध भए पानीकै लागि हुने ठान्ने उनी जहाँ पानी हुन्छ, त्यहाँ सुःख, समृद्धि र शान्ति हुने मान्यता राख्छन् ।
२. प-प्रविधि
साहको अर्को अभियान विज्ञान तथा प्रविधि हो । यही क्षेत्रको नेतृत्व गर्दै उनी मन्त्री पनि भए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकारमा उनी ९ महिना मन्त्रीको कुर्सीमा बसेका थिए ।
छोटो समय मन्त्री हुँदा धेरै काम गर्न नपाए पनि विज्ञानबिना देशको समृद्धि हुँदैन भन्ने राजनीतिक भाष्य तयार पारेका उनी बताउँछन् ।
‘धेरै वर्षपछि नेपालको विज्ञान, प्रविधिबारे नयाँ नीति तर्जुमा गरेको पनि मैले हो,’ साहले भने ।
अहिलेको डिजिटल नेपाल फ्रेमवर्कको आधार पहिले आफूले ल्याएको ‘ई-गर्भमेन्ट’ भएको उनको भनाइ छ ।
‘मन्त्री हुँदा ई-गर्भमेन्टको कुुरा ल्याएको थिएँ, अहिले आएको डिजिटल नेपाल फ्रेमवर्क त्यसकै बेसमा आएको हो,’ उनले भने, ‘नौ महिना मात्रै मन्त्री भएँ । तैपनि त्यसबेला मैले विज्ञान र प्रविधि सम्बन्धी विद्यालय, विश्वविद्यालय र संस्थालाई प्रोत्साहित गरेँ ।’
साह विज्ञान तथा प्रविधि सम्बन्धी केही संस्थामा पनि आवद्ध छन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का उनी सद्भावना दूत हुन् । त्यस्तै कम्युटर एसोसिएसन अफ नेपाल (क्यान) को सल्लाहकार छन् ।
साइन्स टिचर्स एसोसिएसन अफ नेपालमा पनि सल्लाहकारका रुपमा आबद्ध छन् । युनेस्केको नेपालमा विज्ञान, प्रविधि हेर्ने आयोगको उनी बोर्ड सदस्य पनि हुन् ।
‘यस्ता संस्थामा आवद्ध भएर मेरो मुल काम उत्प्रेरित गर्ने हो,’ उनी प्रष्ट्याउँछन्, ‘विज्ञानबिना नेपालको समृद्धि हुँदैन, त्यसमा लगानी गरौं भनेर मान्छेलाई उत्प्रेरित गर्ने गर्छु ।’
नेपाल अहिले औद्योगिक क्रान्तिको पाँचौं चरणमा प्रवेश गर्न लागेको विश्लेषण सुनाउँदै उनी भन्छन्, ‘हामी अहिले औद्योगिक क्रान्तिको चौथो चरणमा छौं । यो सकिएर पाँचौं चरणमा जाँदै छौं । यो भनेको ‘डिजिटिलाइजेसन’ हो । अहिले व्यापारदेखि जनजीवन सबै ‘डिजिटाइज्ड’ भइरहेको छ ।’
विज्ञान तथा प्रविधि क्षेत्रमा सरकारको प्रतिवद्धता भए पनि लिनुपर्ने जति गति लिन नसकेको उनको ठम्याइ छ । प्रविधि आत्मसात् र सिर्जनामा युवा पुस्ताको भूमिका भने उनी सन्तोषजनक नै देख्छन् । आईटी शिक्षा पनि अहिले नेपालको राम्रो हुँदै गइरहेको उनको बुझाइ छ ।
नेपालका राजनीतिक पार्टीहरू खासै प्रविधिमैत्री नभएको साहले बताए । ‘नेपालका मुख्य राजनीतिक पार्टी हेर्ने हो भने अझैं पनि त्यति प्रविधिमैत्री छैनन्,’ साह सुनाउँछन्, ‘तुलनात्मक रुपले एमाले प्रविधिमैत्री छ । तर, अरु पनि विस्तारै त्यसलाई स्वीकार भने गर्दै छन् ।’
विज्ञानलाई तल्लो तहका जनतासँग जोड्नुपर्नेमा उनको जोड छ । ‘विज्ञानलाई पनि म जनविज्ञान बनाउने अभियानमा छु,’ भन्छन्, ‘यसले कुरिती र अन्धविश्वास पनि तोड्छ । समाजले पनि विज्ञानको महत्व बुझोस्, प्रविधिलाई सम्झोस् भन्ने हो ।’
आफूलाई चाहिने विज्ञान सबैले सिक्नुपर्ने बताउँछन् उनी । भन्छन्, ‘विज्ञानमा जुन–जुन देशले लगानी गर्यो, ती देश अगाडि बढेका छन् । गरिबलाई धनी बनाउन झन् विज्ञान चाहिन्छ ।’
३. प-पुस्तकालय
उनको अभियानको अर्को प पुस्तकालय पनि हो । राजधानीको भृकुटीमण्डमा रहेको सामुदायिक पुस्तकालयको उनी बोर्ड सदस्य छन् । नेपाल लाइब्रेरी फाउन्डेसन उनले आफ्नै अध्यक्षतामा खोलेका छन् ।
त्यस्तै गैरआवसीय नेपालीहरुसँग सहकार्य गरेर नेपालका धेरै ठाउँमा ई-लाइब्रेरी खोल्ने काम गरिरहेको साह बताउँछन् । ज्ञान निर्माणको आधार नै भएकाले पुस्तकालयलाई आफूले अभियान नै बनाएको उनको भनाइ छ ।
४. प-पर्यटन
आन्तरिक पर्यटनको विकास पनि उनको अर्को अभियान हो । उनी यसलाई आर्थिक उर्पाजनभन्दा पनि नेपाल घुम्ने, देश बुझ्ने कुरासँग जोड्न चाहान्छन् ।
‘जबसम्म तपाईं देश घुम्नुहुन्न तबसम्म देशको भेषभुषा, संस्कृति थाहा पाउनुहुन्न,’ उनी भन्छन्, ‘मेरो मुल जोड चाहिँ आन्तरिक पर्यटनमा हो । यो देशको कला, संस्कृति, भूगोल र जैविक विविधता बुझ्नेसँग जोडिएको छ ।’
५. प-पार्क एन्ड ओपन स्पेस
२०७२ सालमा भूइँचालो आउँदा पार्क र खाली स्थानको अभाव गहिरो गरी महसुस गरेका साहले आफ्नो अभियानमा पार्क र खुला स्थानलाई पनि जोडेका छन् ।
‘हाम्रो सहर धेरै भद्दा भयो,’ उनी भन्छन्, ‘काठमाडौं सहर क्रंकिट जंगल जस्तै छ । पार्क एन्ड ओपन स्पेस अभियानमा म लागेँ तर माफिया, भूमाफिया र सहरीकरणले त्यो त्यति अगाडि बढ्न सकेको छैन ।’
साहले आफ्नो अग्रसरतामा केही वर्ष पार्क दिवस पनि मनाए । नेपालमा पार्कहरुको राष्ट्रिय संजाल बनाउने अभियानमा पनि उनी हिँडे ।
रत्नपार्कमा शौचालय सफा गर्न गएर चर्चामा आएका उनले मन्त्री हुँदा राजधानीमा ‘मोबाइल ट्लाइलेट’ पनि भित्र्याएका थिए । सार्वजनिक स्थानमा शौचालय नहुँदा सर्वसाधाणलाई धेरै पीडा हुने भन्दै उनी सार्वजनिक धारालाई पनि त्यतिकै महत्व दिन्छन् ।
‘सार्वजनिक शौचालय नहुँदा उत्पन्न हुने पीडा धेरै हुन्छ,’ उनको भनाइ छ, ‘आम जनताका लागि सार्वजनिक शौचालय र सार्वजनिक धाराको धेरै महत्व छ ।’
सहरीकरणका नाममा काठमाडौंका सार्वजनिक धारा मासिएको उनको भनाइ छ ।
‘पहिले काठमाडौंमा टोल–टोलमा सार्वजनिक धारा थिए,’ साह सम्झन्छन्, ‘जसले गर्दा गरिबहरु त्यो धारामा गएर पानी थाप्थे । तर, अहिले सहरीकरणका नाममा जमीन पनि सबै खाइदिए, धारा पनि खाइदिए । पानीको आधारभूत आवश्यकता सार्वजनिक धाराबाटै पुरा गर्नुपर्छ भन्नेमा म अहिले पनि छु ।’
भूमाफियाका कारण ‘पार्क एन्ड ओपन स्पेस’ को अभियान खासै सफल हुन नसकेको उनी बताउँछन् ।
‘हाम्रो सहर धेरै भद्दा भयो,’ उनी भन्छन्, ‘काठमाडौं सहर क्रंकिट जंगल जस्तै छ । पार्क एन्ड ओपन स्पेस अभियानमा म लागेँ तर माफिया, भूमाफिया र सहरीकरणले त्यो त्यति अगाडि बढ्न सकेको छैन ।’
आफूले चलाएको ‘पाँच प’ कोे सबै प्रयोग सिंगापुरमा भएको उनलाई लाग्छ । धेरैपटक सिंगापुर घुम्न गएका उनलाई त्यहाँका धरै कुराले छुन्छ ।
आफ्नो अभियानको मुल्यांकन गर्दै उनी अन्तमा भन्छन्, ‘पानी, प्रविधि र पुस्तकालयमा हामी प्रगति गरिरहेका छौं । विस्तारै नेपालीमा घुम्ने संस्कार बढेको छ । नयाँ पुस्ताले अब नेपाल बुझ्छ । तर, दुर्भाग्य ‘पार्क एन्ड ओपन स्पेस’ छैन ।’
यसमा पाँचाै प चाहि के रैछ ? पर्यावरण हाे ?
आफ्नै अध्यक्षतामा नेपाल लाइब्रेरी फाउण्डेशन कहिले खोल्नु भएछ गणेश साहले ? नेपाल लाईब्रेरी फाउण्डेशनको नेपालको संस्थापक अध्यक्ष त शरदबाबु श्रेष्ठ हो भने नेपाल लाइब्रेरी फाउण्डेशन (क्यानाडा)को नरेश कोइराला हुन् । यो आलेख सतही छ, अलि बुझेर मात्र लेख्दा हुन्थ्यो कि । नेपाल लाइब्रेरी फाउण्डेशन(नेपाल)को एकपटक अध्यक्ष भने हुनुभएको हो है गणेश साह ।