सधैं दुखिरहने बुढीखोलाको बाढी ! – Nepal Press

सधैं दुखिरहने बुढीखोलाको बाढी !

घरमा बाढी पसेपछि इटहरीका सांसद साँवा भन्छन्- आफैँ जनप्रतिनिधि कसलाई गुहार्ने ?

इटहरी । शुक्रबार राति आएको बाढी इटहरीका प्रदेश सांसद सर्वध्वज साँवाको घरमा पनि पस्यो । इटहरीको वडा नम्बर-४ स्थित आफ्नो घरमा बाढी पसेपछि उनले शनिबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा दु:खेसो पोखे ।

‘त्यस्का बाजे बाढी पसेर घर त चुरलुप्पै भयो । आफै जनप्रतिनिधि कस्लाई गुहार गुहारररर भन्नु ?,’ उनले लेखेका छन् ।

सुनसरी क्षेत्र नम्बर २ ‘क’का सांसद साँवाको यो पोस्टले इटहरी विपत्तिलाई प्रष्ट पार्छ ।

विभिन्न खोलाहरूले घेरिएर बनेको शहर हो, इटहरी । पूर्वतर्फको सिमानामा इटहरीको सबैभन्दा ठूलो बुढी खोला छ । इटहरीको मुख्य बजार क्षेत्रमै दुई खोला बग्छन्, टेङ्गा र खेती खोला । इटहरीको मुख्यचोक नजिकैबाट पूर्वमा टेङ्गा खोला बग्छ । अनि, पश्चिममा खेती खोला । पानीपिया, खर्सला लगायतका अरू केही खोलाहरू इटहरी भएरै बग्छन् । र, बेलाबेला यी खोलाले विपद्सँगै लिएर आउँछन् ।

६ जनाको ज्यान लिने ७४ सालको त्यो बाढी

२०७४ साउन २७ को मध्यरात इटहरीको पूर्वी सीमाको बुढी खोलामा विशाल बाढी आयो । अरुबेला बालबालिकाले पनि सजिलै पार गर्नसक्ने खोला बाढी आएपछि बढेर छेउका बस्तीकाे  छानामाथि पुग्यो । इटहरी-४ को गैरीगाँउका धेरै घरहरू डुबे । त्यसै बाडीमा परेर ६ जनाले ज्यानै गुमाउनु पर्‍यो । कोही रुखमा झुन्डिएर बाँचे । कोही जस्ताको छानो दुलो पालेर उक्लिएर बाँचे ।

सानुमाया राई त इटहरीबाट ३ घण्टा बगेर हुत्याइएकी थिइन् । मध्यरातको बाह्र बजे बाढीले उनलाई बगाएर ८ किलोमिटर टाढा खोला किनारमा पुर्‍याएको थियो । उनलाई बिहान तीन बजे स्थानीय युवाहरूले बेहोस अवस्थामा उद्धार गरेका थिए ।

अहिले त्यही गैरीगाँउमा बसेकी राई बर्खाको समयमा बाढीकै डरले राति घरमा सुत्दिनन् । ‘अहिले म आफन्तकोमा गएर सुत्छु, ज्यान त जोगाउनै पर्‍यो,’ उनी भन्छिन् ।

त्यही बाढीमा दिदी-भिनाजु र उनीहरूका एक छोरा बाढीले लगेको पीडा अझैसम्म सानुमायाको मानसपटलमा बल्झिरहेको छ । दिदीको बाहेक अरू कसैको लाससम्म भेटिएन । त्यसको अझै कत्ति-कत्ति । पीडामाथि पीडा परेको सानुमाया सुनाउँछिन् । उनी भन्छिन्, ‘७४ सालको बाढी आएको धेरै पछिसम्म मलाई रातमा निन्द्रै परेन ।’

अव्यवस्थित शहरीकण र अतिक्रमणले बढाएको बाढी विपद्

इटहरीका पाकाहरूलाई केही दशक अगाडिसम्म इटहरीमा बाढीकै कारण मान्छेको उठीबास लाएको सम्झना नै छैन । इटहरीका पाकाहरू भन्छन्- ‘२०१० सालमा इटहरी चोकमा दुई दर्जन घरहरू जलेर नस्ट हुनु नै पुरानो इटहरीमा आइपरेको सबैभन्दा ठूलो विपद् थियो । पछिल्ला दिनहरूमा बाढी इटहरीको नयाँ विपद्को रूपमा आएको छ । पछिल्लो समय बाढीको जोखिम बढ्नु अव्यवस्थित शहरीकरण र नदि अतिक्रमणको मुख्य कारण भएको बताउँछन् ।

‘खोला बग्ने प्राकृतिक धारमा घर र अन्य संरचनाहरू ठडिएका छन्, सार्वजनिक जग्गा मिचिएका छन्, कुलो र पैनी मासेर बाटो बनेको छ’, स्थानीय प्रमोद भट्टराई भन्छन्, ‘यसरी मिच्नेहरू विभिन्न व्यक्तिदेखि संस्थाहरूसम्म छन् । यसको पनि विपद् निम्त्याउनमा ठूलो नकरात्मक भूमिका छ ।’

इटहरीका अधिकांश घरहरू बाढीको समयमा डुबानको समस्यामा पर्ने र खोला किनारका गौरीगाँउ जस्ता सुकुम्बासी बस्तीका घरहरू बगाउने समस्या बढ्दो छ । कालान्तरमा यसले इटहरी बजारनै समस्यामा पर्न सक्ने अर्का स्थानीय बद्रि भिखारी बताउँछन् । उनी भन्छन्, ‘धार्मिक, सांस्कृतिक आस्थाहरू समेत जोडिएका नदिनालालाई संरक्षण गरेर उनीहरूलाई प्राकृतिक बाटोमा हिँड्न दिनुपर्छ । अवरोध सबै हटाउनु पर्छ । यसले बाढी र डुबानको विपद् धेरै कम गर्छ ।’

इटहरीको खेती खोला, इटहरी पश्चिम लाइनको स्यार्सेकालीदेखि इटहरीको खेती खोला क्षेत्रमा अवैध संरचना हटाउन केही दिन डोजर चल्यो । तर, त्यो निरन्तर हुन सकेन । इटहरी उपमहानगरपालिकाको सबैतिर खोला-पैनी मिचेर ठड्याइएका संचरनाहरू अझैसम्म भत्किएका छैनन् ।

हाल निर्माण हुने क्रममा रहेको इटहरीका खोला, नाला र पोखरी शीर्षक डकुमेन्ट्रीमा बोल्दै मेयर द्धारिकलाल चौधरीले अवैध संरचना भत्काउने काम अभियानकै रूपमा लान नसकिएको स्वीकारेका छन् । उनी भन्छन्, ‘यसमा मेसिन उपकरण जस्ता प्राविधिक समस्याहरू छन् । घरहरूको पनि संरचना हटाउनुपर्ने हुँदा इटहरीको बृहत् सहमती चाहिन्छ । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *