‘नेपालको निजी क्षेत्र जिम्मेवार छ, यसले सम्मान पाउनुपर्छ’ – Nepal Press
नेपाल टक

‘नेपालको निजी क्षेत्र जिम्मेवार छ, यसले सम्मान पाउनुपर्छ’

काठमाडौं । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले एक सय वर्ष लामो इतिहास भएको औद्योगिक घरानाको प्रतिनिधिलाई अध्यक्षको रुपमा पाएको छ । नेपालकै सबैभन्दा पहिलो उद्योग स्थापना गर्ने उद्योगीका नातिले अहिले महासंघको बागडोर सम्हालेका छन् ।

महासंघको विधानअनुसार यसअघि वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा अहिले अध्यक्ष बनेका हुन् । उनले महासंघको नेतृत्व सम्हाल्दा देशको उद्योग–व्यवसाय डामाडोल अवस्थामा छ । कोरोनाका कारण लगाइएको निषेधाज्ञाले निजी क्षेत्रलाई अस्तव्यस्त तुल्याएको छ ।

यो अवस्थामा महासंघले निजी क्षेत्रलाई अगाडि बढाउने के–कस्तो पहल लिँदैछ ? सरकारसँग महासंघका के–के अपेक्षा छन् ? यी यावत विषय तथा अध्यक्ष गोल्छाका निजी जीवनका कुराहरु पनि समेटेर हामीले उनीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, गोल्छासँग गरिएको कुराकानी नेपाल टकमाः

तपाईं ठूलो औद्योगिक घरानामा जन्मेको व्यक्ति । बाल्यकाल र शिक्षादिक्षा कस्तो रह्यो ?

म काठमाडौंमा नै जन्मेको र हुर्केको हुँ । मेरो पारिवार पहिलेदेखि नै उद्योग–व्यवसायमा थियो ।

मैले एसएलसी सेन्ट जेभिएर्स स्कुलबाट दिएँ । भारतबाट पाँच वर्षमा ग्र्याजुएसन गरेँ । थप शिक्षा भने बेलायतमा लिएको हुँ ।

पारिवारिक व्यवसायलाई निरन्तरता दिने बाहेक सानो छँदा के थियो तपाईंको सपना ?

म सानो छँदा पाइलट बन्ने सपना थियो । अहिले पनि हवाइ उड्ड्ययनमा रुची राख्छु । यसमा चुनौतिहरु के-के छन् भने विषय बुझि नै रहेको हुन्छु ।

मेरो जीवनमा व्यवसाय भनेको प्राकृतिक रुपमै आएको छ । व्यवसायिक घरानामा नै जब जन्म भएपछि सानैबाट उद्योग-व्यवसायमा झुकाव हुन्छ । कसरी व्यवसाय गर्ने, जोखिम कसरी उठाउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा नै कुरा हुन्छ । डाइनिङ टेवलदेखि नै व्यवसायका मात्रै कुरा हुन्छन् ।

तपाईं सानो छँदा पारिवारिक व्यवसायको अवस्था के थियो ? तपाईंले कहिलेबाट जिम्मेवारी सम्हाल्नुभयो ?

मेरो हजुरबाले राणाकालमा नै नेपालको पहिलो उद्योग स्थापना गर्नुभएको थियो । त्यसपछि हामी निरन्तर उद्योग स्थापना, रोजगारी सिर्जना र भ्यालु एडिसनमा छौं । देशमा सय वर्षभन्दा लामो व्यवसायिक पृष्ठभूमि रहेको छ हाम्रो ।

म व्यवसायमा आएपछि केही फरक गर्न चाहेको थिएँ । गोल्छा ग्रुपमा पुराना म्यानुफ्क्याचरिङ, स्टील, खाद्यान्न, जुट र चिनी उद्योग रहेका थिए । मैले केही गरौं भनेर सोचेँ । हामी अहिले मूख्य फाइनान्सिङ, मोटरसाइकल, अटोमोटिभ व्यवसाय, बीमा र बायोटेक लगायतमा केन्द्रित छौं ।

आफ्नो बुवालेभन्दा फरक के गर्नुभयो ?

मूख्य कुरा मैले अहिले जुन-जुन व्यवसाय गरेको छु, त्यो आफैले सुरु गरेको हुँ । गोल्छा ग्रुप ठूलो थियो, तर त्यसमा भएका उद्योगमा मेरो संमलग्नता थिएन ।

मैले बाहिर बस्दा अन्तर्राष्ट्रिय व्यवसायिक संस्कार कसरी नेपालमा ल्याउन सकिन्छ भन्ने सोच्थेँ । बाहिरको अनुभवलाई नै नेपालमा मैले अहिले लागू गर्ने प्रयास गरिरहेको छु ।

व्यवसायमा असफल भएका, निराशा उत्पन्न भएका क्षणहरु पनि छन् ?

पक्कै पनि । मलाई लाग्छ, त्यस्तो कुनै व्यक्ति विश्वमा छैन होला जसले सफलता मात्रै प्राप्त गरेको छ । सफलताको बीच र पछाडि धेरै असफलताहरु जोडिएको हुन्छ । मेरो जीवनमा पनि धेरै त्यस्ता असफलताहरु छन् । तर मैले असफलताबाट पाठ सिकेको छु । निराश भने बनाएको छैन ।

कोरोनाले तपाईंका ब्यापारलाई कति असर गर्‍याे ?

जसरी अरु व्यवसायमा कोरोनाले असर गरको छ, त्यसरी नै मेरो व्यवसायमा पनि असर गरेको छ । गत वर्षको ३ महिनाको बन्दाबन्दी र एक महिनाको निषेधाज्ञाले व्यापार-व्यवसाय ठप्प नै थियो । अहिले करिब दुई महिनाको बन्दमा पनि त्यही अवस्था छ ।

अबका तपाईं व्यक्तिगत योजना के-के छन् ?

म अहिले सार्वजनिक जीवनमा छु । महासंघको नेतृत्व गरिरहेको छु । अहिले मेरो फोकस भनेको नेपाल उद्योग वाणिज्य महासंघको साख कसरी बढाउन सकिन्छ भन्ने नै हो । महासंघलाई अझ धेरै व्यवसायिक कसरी बनाउन सकिन्छ भनेर नै लागेको छु ।

महासंघमा मेरो दुई वर्षको कार्यकाल सकिएपछि ‘अनगोइङ’ कामहरुलाई अझ सुदृढ गर्दै जाने छु । गोल्छा अर्गनाइजेसनको ‘स्ट्रेन्थ’ बढाउने काम गर्ने हो ।

तपाईंका सन्तान कुन क्षेत्रमा छन् ? उनीहरु उद्योग–व्यवसायभन्दा बाहिर लागेको हेर्न चाहनुहुन्छ ?

मेरो एक छोरा र एक छोरी छन् । छोरा मसँगै बिजनेस गरिरहेको छ । उसले आफ्नो नयाँ योजनाहरु बनाएर अगाडि बढिरहेको छ । छोरी बेलायतमा काम गरिरहेकी छन् ।

नेपालमा उद्योगी-व्यवसायीले राज्यबाट र नागरिकबाट आवश्यक सम्मान पाउन नसकेका हुन् ?

सोच परिवर्तन हुन आवश्यक छ । हामी देशमा समृद्धिको कुरा गरिरहेका हुन्छौं । समृद्धि ल्याउने भनेको निजी क्षेत्रकै कामले हो । निजी क्षेत्रले कर, राजस्व, रोजगारी सिर्जना र भ्यालु एडिसन गर्ने काम पनि गरिरहेको हुन्छ ।

निजी क्षेत्रलाई जुन देशमा सम्मान गरिएको छ, त्यो देशले राम्रो उन्नति पनि गरेका छन् । जहाँ निजी क्षेत्रलाई अविश्वासले हेरिन्छ, त्यहाँ लगानी पनि राम्रोसँग आएको छैन । हाम्रो देशमा पनि परनिर्भरता वृद्धि हुँदै गइरहेको छ ।

नेपालको निजी क्षेत्र जिम्मेवार छ । जीडीपी र रेभिन्यु हुर्ने हो भने दक्षिण एसियामा राम्रो नै छ । नेपालको निजी क्षेत्र मात्रै होला सर्वाेच्च अदालतले अहिले कर तिर्न पर्दैन भन्दा पनि अगाडि बढेर ‘जसले तिर्नसक्छ तिरौं र नसक्नेलाई केही राहत दिऊ’ भन्ने । यस्तो निजी क्षेत्रलाई सम्मान हुनुपर्छ भन्ने हाम्रो माग हो ।

धेरै आम मानिसहरु धनी हुने सपना देख्छन् । धनी मानिसहरु चाहिँ कस्तो सपना देख्छन् ?

सबै मान्छेले देख्ने सपना एउटै हुन्छ । धनीले अलि राम्रो देख्ने, अरुले नराम्रो देख्ने भन्ने हँुदैन । सबैले आफुले देखेको सपनाअनुसार काम गर्नुपर्छ । मैले दिउँसो देख्ने सपनाको कुरा गरिरहेको छु ।

आफुले देख्ने सपनालाई योजनाबद्ध बनाएर अगाडि बढ्नु पर्छ । धनी र गरिव सबैले आफ्नो कामलाई वा सपनालाई निरन्तरता दिने काम गर्छन् ।

कहिल्यै आँशु बगाएर रुनुभएको छ ?

पक्कै पनि । धेरैपटक आँशु झारेर रोएको छु । सबैभन्दा धेरै मेरो बुवाको मूत्यु हुँदा रोएको थिएँ । अत्यधिक पिडा त्यही बेला भएको थियो । म साधारण मान्छे नै हो । म अरु जस्तै हाँसेको र रोएको छु ।

तपाईंको रुचीका कुराहरु के छन् ? फुर्सदको समयमा के गर्नुहुन्छ ?

मेरो प्यासन भनेको ट्रेकिङ र हाइकिङ हो । म हरेक दिन २ देखि ३ घन्टा ट्रेक गर्छु । समय मिल्दा म विश्वका विभिन्न ठाउँमा ट्रेकिङ र हाइकिङमा जान्छु । नेपालमा पनि मैले प्रायः सबै ठाउँमा ट्रेक गरिसकेको छु । अन्य ठाउँको कुरा गर्दा अफ्रिकाको सबैभन्दा अग्लो पहाड चढिसकेको छु । साउथ अमेरिकाको धेरै पहाडहरु चढिसकेको छु ।

भगवानप्रति कति आस्था राख्नुहुन्छ ? पुजापाठ र मन्दिर कति धाउनुहुन्छ ?

मेरो धर्ममा भन्दा पनि अध्यात्ममा विश्वास छ । मलाई लाग्छ ९९ प्रतिशत मान्छेको जीवनमा आध्यात्म हुन्छ । एक प्रतिशत धर्म हो । मान्छे अध्यात्मिक नभइ धार्मिक पनि हुन सक्दैन । म अध्यात्मक कितावहरु पढ्छु । जीवनलाई पनि अध्यात्ममा ढाल्ने प्रयास गर्छु ।

उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हाल्नुभएको छ, आफ्नो कार्यकालमा के-के छन् त योजना ?

हामीले मूख्य भनेको भिजन पेपर ल्याएका छौं । त्यो भिजन पेपर अनुसार काम पनि सुरु भइसकेको छ । त्यसबाहेक आन्तरिक संरचनालाई अझ सुदृढ बनाउने काम गरिरहेका छौं । मेरो दुई वर्षको समयमा लगानी सम्मेलन लगायत र महासंघको नयाँ विधान बनाएर महासंघलाई आन्तरिक तथा बाह्य सुधार गर्ने उद्देश्य र लक्ष्य रहेको छ ।

लोडसेडिङ हटेपछि पनि नेपालको उद्योग क्षेत्र किन माथि उठ्न सकेन ? सबै उद्योगी किन व्यापारमै सीमित भइरहेका छन् ?

विश्वको निजी क्षेत्र जस्तै नेपालको पनि छ । हामी नाफामूलक नै छौैं । व्यापारमा नाफा भएर नै आकर्षण भएको होला । उद्योगमा चुनौतिहरु धेरै छन् । महासंंघले सन् २०३० भिजन पेपर ल्याएको छ, त्यसले नेपालमा उद्योग स्थापना गर्न के–के समस्या छन् र त्यसको समाधान के–के हुन् भन्ने प्रष्ट पार्ने छ ।

भिजन पेपरमा उत्पादन मूल्य कसरी घटाउन सकिन्छ, उद्योग स्थापना कसरी वृद्धि गर्न सकिन्छ भन्ने नै छ । अहिले निजी क्षेत्रलाई दोष दिनुभन्दा पनि नेपाल सरकारले आफुभित्र भएको कमजोरीहरुलाई हटाउनतिर लाग्नु पर्छ । नेपालमा उद्योग स्थापनाको लागि के–के समस्या छन् र त्यसको समाधान के के हो भने खोज्नु पर्ने अवस्था रहेको छ ।

उद्योग व्यापारमा सफल हुन चाहनेका लागि के सल्लाह दिनुहुन्छ ?

उद्योग र व्यापारमा सफल हुनका लागि योजनावद्ध रुपमा अगाडि बढ्नु पर्छ । युवाहरु प्यासनको रुपमा मात्रै अगाडि बढेको देखेको छु । प्यासनसँगै योजना पनि चाहिन्छ । योजना र प्यासनलाई मिलाउन सकेमा सफलता मिल्छ । सबै व्यापार–व्यवसायमा सफलता नै मिल्छ भने हुँदैन । असफलता भए पनि निरन्तर काम गरी नै रहनु पर्छ । असफलतालाई नै अंगालेर अगाडि बढ्दा विस्तारै सफलता मिल्छ ।

नेपालमा लगानी गर्न आएका धेरै विदेशी लगानीकर्ता लगानी नै नगरी फर्किन्छन् । के अझै लगानीको वातावरण नभएको हो ?

नेपालमा लगानीको लागि धेरै कुराहरु सुधार भइरहेका छन् । नेपालमा विदेशी लगानीका लागि नीति स्पष्ट छ । ठूलो इकोसिस्टम जोडिएका क्षेत्रमा लगानी लिएर आउँदा स्टेकहोल्डरहरुसँग छलफल गरौं भन्ने कुरा हामीले राखेका छौं । नेपालमा लगानी गर्न आएका उद्योगहरुको लागि हामीले उत्पादन शुल्क कम गर्ने, विद्युतलगायत दशवटा कुरामा सुधार गर्नुपर्ने छ । यसरी सुधार गर्ने हो भने नेपालमा धेरै विदेशी लगानी आकर्षण गर्नसक्छौं ।

नेपालको व्यापार घाटा धेरै छ । दैनिक उपभोग्य बस्तु उत्पादन कसरी बढाउन सकिएला ?

महासंघको भिजन पेपरले सन् २०३० सम्ममा के–के मा आत्मनिर्भर हुनसक्छ भन्ने विषयमा काम गर्ने छ । नेपालमा नै उत्पादन वृद्धि कसरी गर्न सकिन्छ भन्ने कुरा त्यसमा उल्लेख भएको छ ।

कोरोनाको कारणले महासंघले सार्वजनिक गरेको भिजन पेपरलाई कस्तो असर पर्छ ?

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व आएपछि हामी सतही कुरा मात्रै नगरौं, केही नयाँ काम गरौं भन्ने भएर नै भिजन पेपर आएको हो । ‘भिजन पेपर सन् २०३०’ भनेर निकालेका हौं । यसको मूख्य लक्ष्य भनेको २०३० सम्ममा हाम्रो अर्थतन्त्रलाई कसरी एक सय अर्ब पुर्याउन सकिन्छ, धेरैभन्दा धेरै रोजगारी वृद्धि र देशको व्यापार घाटा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको छ । भिजन पेपरले नेपालको अर्थतन्त्रलाई माथि उठाउन के–के समस्या छन् र ती समस्याको समाधानका लागि के–के गर्नुपर्ने हो, भन्नेमा काम गर्ने छ ।

हामीले भिजनपेपर अनुसार नै बजेटका लागि सुझाव दिएका थियौं । अहिले मौद्रिक नीतिका लागि पनि त्यहीअनुसार सुझाव दिएका छौं ।

कोरोनाले सबैभन्दा मारमा परेको यातायात र पर्यटनलाई उकास्न महासंघले के पहल गरेको छ ?

पहिला ३ महिलाको लकडाउनमा त्यो क्षेत्र समस्यामा परेको थियो । पहिलेको मौद्रिक नीतिले माग गरेअनुसार राष्ट्र बैंकले कमर्सियल बैंकमा भएको तरलता व्यवस्थापन गरेको थियो । तरलता व्यवस्थापनले नै हामी पहिलेको बन्दमा चाडै तङ्ग्रीन सकेका थियौं । अहिले पनि हामी त्यसरी नै अगाडि बढ्नु पर्छ भन्ने छ ।

धेरै क्षेत्र तङ्ग्रीए पनि पर्यटन, होटल, यातायात, मसलन्द उद्योग र मनोरञ्जन लगायतका क्षेत्र अति प्रभावित भएका छन् । त्यी क्षेत्रलाई विशेष राहत हुनुपर्छ भन्ने माग हामीले राखेका छौं । हाम्रो बजेटले पनि त्यो क्षेत्रलाई राहत दिएको छ । अझ पनि सहुलियत दरमा लोन र आफ्नो व्यवसायलाई निरन्तरता दिन अन्य प्रकारका सुविधाहरु पनि आवश्यक भएकाले व्यवस्थापनाका लागि हामीले कुरा गरेका छौं ।

महासंघले ठूला व्यापारी र उद्योगीको मात्रै कुरा सुन्यो भन्छन् नि साना उद्योगी र व्यवसायीले ?

हैन । हाम्रो संरचना नै हेर्ने हो भने पनि प्रतिनिधिमुलक छ । उहाँहरुकै भोटले हामी नेतृत्वमा आएका छौं । ठूला मात्रै हैनन्, हामीले साना उद्योगी र व्यवसायीको मागलाई बोकेर हिँडेका छौं । मौद्रिक नीति र बजेटको सुझावमा हेर्ने हो भने साना र मझौला उद्योग-व्यवसायलाई नै केन्द्रित गरेर अगाडि बढिरहेका छौं ।

साना र मझौला उद्योग–व्यवसाय नै देशको मेरुदण्डको रुपमा रहेका छन् । पुनःकर्जाले साना र मझौलालाई कसरी विस्तार गर्न सकिन्छ भनेर नै लागेका छौं । बजेटले पनि साना, मझौला र स्टार्ट अफ क्षेत्रलाई महत्व दिएको छ । बिनाधितो कर्जा, १ अर्बको च्यालेन्ज फन्ड र अन्य सुविधा पनि महासंघको पहलमा भएको हो । साना र मझौला व्यवसायीलाई हामीले अर्थतन्त्रमा अझ धेरै आकर्षण र औपचारिक क्षेत्रमा ल्याउन सकिन्छ ।

तपाईले महासंघको नेतृत्वमा आउनुअघि र आएपछि के फरक पाउनुभयो ?

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व भनेको आफैंमा महत्वपूर्ण जिम्मेवारी हो । देशभरका उद्योगी-व्यवसायीले यस नेतृत्वबाट आफ्नो समस्या समाधानको लागि अपेक्षा गरेका छन् ।

मेरो पारिवारिक सम्बन्ध पनि महासंघमा एकदम नजिक छ । महासंघको स्थापनाकालदेखि नै मेरो स्वार्गीय बुवा यसमा जोडिनुभएको थियो । पछि मेरो दाइ पनि महासंघमा नै सक्रिय रहनुभयो । र अहिले मैले नेतृत्व गर्न पाएको छु । यसको नेतृत्व धेरै महत्वपूर्ण छ । सम्पूर्ण निजी क्षेत्रको महासंघमा अपेक्षा कति छ भनेर बोध छ मलाई । त्यो आधारमा मैले काम गरिरहेको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर