सुजिताकी आमा भन्छिन्- घरबाट निस्केपछि छोरीले फोन गरेर गुहार मागेकी थिई
‘फोटो खिच्ने मात्र होइन, अपराधीको खोजतलास होस्’
चितवन । आइतबार जंगलमा भृत भेटिएकी चितवनकी सुजिता भण्डारीले आफू अपहरणमा परेको भन्दै फोन गरेर गुहार मागेको आमा अम्बिकाले बताएकी छन् । उनले आफ्नी छोरीको हत्यारा पत्ता लगाएर सजाय दिलाउन अनुनय गरिन् ।
राप्ती नगरपालिका-३ झुरझुरेस्थित घरबाटै ११ दिनदेखि सम्पर्क भएकी २२ वर्षिया सुजिताको हिजो शव फेला परेको थियो । घरबाट चार किलोमिटर पर ब्रम्हस्थानी सामुदायिक वनको झाडीभित्र उनको शव भेटिएपछि हत्यारा पत्ता लगाउन माग गर्दै पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन भइरहेको छ ।
आमा अम्बिकाले छोरी ‘अपहरण’ मा परेको दिन आफूहरू बिहानै रोपाइँमा गएको बताइन् ।
उनले भनिन्, ‘हामी रोपाइँमा गएका थियौँ । घरबाट छोरी अपहरणमा परेपछि मात्रै थाहा भयो । उसले फोन गरेर आफूलाई बचाउन गुहार मागेकी थिई तर सकिएन ।
अम्बिकाको भनाइ जस्ताको तस्तै :
… नानी यहाँबाट हिँडिछे । आफूलाई थाहा छैन । धानको रोपाइँ भएकाले हामी हिँड्नु परिगो । नानीहरू घरमै थे । उनीहरू बिहान आफ्नै सुरले उठ्ने हो । मैले हेर्दा पनि हेरिनँ । त्यो दिन नानी कतिखेर गई मलाई थाहा छैन । बुबालाई, दिदीलाई पनि थाहा छैन ।
नानी गई । यहाँबाट गइसकेपछि साथीको घर पुग्नेबित्तिकै बीचमा त्यस्तो भएछ । १२ बजे दिदीलाई कल गरिछे । आँखामा पट्टी बाँधेको छ, एसिड छर्केको छ, टाउकोमा हिर्काको छ, मलाई कता लगे कता, छिटो बचाऊ भनिछ नानीले । त्यसपछि गाउँघरमा सबैतिर गएर धेरै खोजीतलास भयो । नानी भेटिइन् ।
उसको खुशीले हिँडेको पनि हुन सक्छ नि, अपहरण भएको होइन भन्ने कुरा भयो । अपहरण गरेको व्यक्तिले कसरी फोन गर्छ भन्ने भयो । साँच्चिकै मार्न लगेको रहेछ । हामीलाई के थाहा र ?
जसरी हुन्छ चाँडोभन्दा चाँडो अपराधी पत्ता लगाइदिनुस् । खोजितलास गरिदिनुस् । फोटो खिच्ने, लेख्ने मात्रै नगर्नुहोस् । प्रहरी आज आउँछ, यही घरको मान्छेलाई थाहा छ भन्छ । भोलि आउँछ, त्यसै भन्छ । उसले पनि खोजेको हो, नखोजेको होइन । हामीले थाहा पाएको भए आफ्नो छोरी किन लुकाउनु थियो र ?
हिँड्ने मान्छेले फोन गरेर मलाई बचाऊ मरे पनि भन्दैनथ्यो । कहिले पनि भन्दैन । रुँदै फोन गरेको छ मलाई बचाऊ भनेर । हामीले बचाउन सकिएन । त्यस्तोमा लगेर छोरी मारिदिए ।’