उच्च सुरक्षा घेराभित्रै हाइटीका राष्ट्रपतिको कसरी भयो हत्या ? – Nepal Press

उच्च सुरक्षा घेराभित्रै हाइटीका राष्ट्रपतिको कसरी भयो हत्या ?

प्रहरी कारवाहीमा चार आशंकितको मृत्यु

काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनल मोइसे बुधबार बन्दुकधारीहरुको आक्रमणमा आफ्नै निवासभित्र मारिए । उनकी पत्नी मार्टिन मोइसेसमेत घाइते भइन् । यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारजना आशंकितलाई गोली हानी मारेको छ ।

बुधबार सबेरै आक्रमणकारीहरुले राष्ट्रपति भवनमा हमला गरेका थिए । छातीमा गोली लागेका राष्ट्रपतिको घटनास्थलमै मृत्यु भयो । उनकी पत्नी भने बालबाल बाँचिन् । उनलाई उपचारका लागि फ्लोरिडामा लगिएको छ । हाल उनको अवस्था गम्भीर तर स्थिर रहेको बताइएको छ ।

घटनामा आक्रमणकारीतर्फ चारजना मारिएको र दुईजनालाई पक्राउ गरिएको प्रहरी प्रमुख लियोन चाल्र्सले बताएका छन् । टेलिभिजन वक्तव्यमा उनले आक्रमणकारीद्वारा बन्धक बनाइएका तीन प्रहरीको उद्धार गरिएको जानकारी पनि दिए ।

‘उनीहरु घटनास्थलबाट बाहिरिने क्रममा हामीले रोक्यौं, त्यसपछि सेनाले उनीहरुमाथि आक्रमण गर्यो,’ उनले भने ।

घटनापछि बोल्दै कार्यवाहक प्रधानमन्त्री क्लाउड जोसेफले संयमता अपनाउन आग्रह गर्दै देशब्यापी आपत्कालको घोषणा गरेका छन् । अमेरिकालगायत विभिन्न देशका राष्ट्रपतिले घटनाको निन्दा गर्दै शान्तिको आह्वान गरेका छन् ।

कसरी भयो आक्रमण ?

अमेरिकी महादेशको गरिब राष्ट्रमा पर्छ हाइटी । मोइसे गत सन् २०१७ मा हाइटीका राष्ट्रपति बनेका थिए । पछिल्लो समय उनले राजीनामाका लागि चौतर्फी दवावको सामना गर्नुपरिरहेको थियो । सैनिक कु, राजनीतिक अस्थिरता, हत्या-हिंसा तथा प्राकृतिक प्रकोपले यो देशलाई दशकौंदखि जर्जर तुल्याइरहेको छ ।

राष्ट्रपतिका रुपमा मोइसेको कार्यकाल सुखद थिएन । दुई महिनाभित्र राष्ट्रपपतिका लागि निर्वाचन गर्ने तयारी पनि भइरहेको थियो । मोइसेले नयाँ प्रधानमनत्रीमा एरियल हेनरीलाई नियुक्त गरेको २४ घन्टा नबित्दै यो आक्रमण भएका हो ।

कार्यवाहक प्रधानमन्त्री जोसेफका अनुसार आक्रमणकारीहरु विदेशी नागरिक हुन् जो अंग्रेजी र स्पेनिस बोलिरहेका थिए । हाइटीको आधिकारिक भाषा क्रिओल र फ्रेन्च हुन् ।

बुधबार स्थानीय समयअनुसार रातको एक बजे कालो लुगा लगाएका बन्दुकधारीहरु राष्ट्रपति निवासमा प्रवश गरेका थिए । उनीहरु अमेरिकी ड्रग एजेन्टको भेषमा भित्र पसेको केही समाचारहरुमा जनाइएको छ ।

अमेरिकाका लागि हाइटीका राजदूत मोचिट एममोन्डले यो एउटा कमाण्डो आक्रमण भएको बताएका छन् । उनका अनुसार आक्रमणकारीहरुले ‘ड्रग एजेन्ट’ को रुपमा आफूलाई प्रस्तुत गरेर डीइए अपरेसनका सिलसिलामा आफूहरु आएको बताएका थिए ।

सामाजिक सञ्जालमा एउटा भिडियो सर्कुलेट भइरहेको छ, जसमा अमेरिकी मुलका एक व्यक्ति मेगाफोनमा भनिरहेका छन्, ‘डीइए अपरेसन । सबैजना आआफ्नो ठाउँमा टाउकोले टेकेर खडा हुने ।’

मोइसेको निवास पर्लिन ५ जिल्लास्थित पेटिअनभिल्लेमा पर्छ, जुन उच्च सुरक्षा भएको भीआईपी एरिया हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर