कर्मचारी नेताको आक्रोश : नेवानीलाई खसी बेचे झैं बेच्न खोज्ने ?
महाप्रबन्धकको राजीनामा नआएसम्म आन्दोलन रोकिँदैन
नेपाल वायुसेवा निगमलाई ‘पब्लिक कम्पनी’ बनाउने प्रस्तावविरुद्ध निगमका कर्मचारी आन्दोलित भएका छन् । निगमले पर्यटन मन्त्रालयसँग ‘पब्लिक लिमिटेड’ बनाउन प्रस्ताव गरेसँगै निगमका तीन कर्मचारी संगठनले संयुक्तरूपमा आन्दोलन गरिरहेका छन् । प्रस्ताव फिर्तासँगै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको निगमका कर्मचारीको आधिकारिक ट्रेड युनियनका कार्यकारी अध्यक्ष ऋषिकेश पन्थीसँग आन्दोलनको कारण, समस्या र समाधानको बाटोबारे पवित्रा ढकालले गरेको कुराकानी नेपाल प्रेसको नेपाल टकमा ।
– तपाईंहरू आन्दोलनमा उत्रनुको खास कारण के हो ? प्रष्ट पार्दिनुस् न !
जेठ २८ गते अर्थमन्त्रालयले निगमलाई कसरी सुदृढीकरण गर्दै नाफामा लैजान सकिन्छ भन्नेबारे असार १५ सम्ममा जवाफ पठाउन पत्र लेख्यो । पत्र प्राप्त भएपछि निगममा संचालक समितिका अध्यक्ष नभएको बेलामा असार १० गते पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा बोर्डको बैठक बस्यो । त्यो वैठकले बोर्डका सदस्य किशोर प्रधानको संयोजकत्वमा बोर्ड सदस्य ईश्वरी पौडेल र नूरलामा शेर्पासहितको तीन सदस्यीय समिति गठन गरियो ।
उक्त समितिले निगमलाई कम्पनीकरण गर्दा सही हुन्छ भनेर मोडलसहित पर्यटन मन्त्रालयमा पत्र पठायो । तर, निगममा भएका तीनवटा क्रियाशील कर्मचारी ट्रेड युनियनसँग कुनै छलफल नै भएन ।
निगम कम्पनीकरण भयो भने कर्मचारीको रोजीरोटी खोसिने कुरा त छँदैछ, छापामार शैलीमा प्रबन्धपत्र बनाएर सीमित स्वार्थ समूहलाई निगम बेच्ने गरी प्रस्ताव लैजानु नै गलत छ । राज्यको एउटा संस्थालाई खसी बेचे जसरी बेच्ने प्रस्ताव गर्न मिल्छ ?
त्यस्तै प्रस्तावमा ५१ प्रतिशत कुनै समूहलाई दिने भनिएको छ । एक हजार कित्ता सेयर किन्नेबित्तिकै एउटा समूह बन्ने गरी व्याख्या गरिएको छ । अन्य शेयर विभिन्न नाममा छुट्याइएको छ, जुन सही छैन ।
यो कानूनीरूपमा पनि अत्यन्त घातक निर्णय छ । अहिले हामी जागिर जोगाउनमात्रै होइन, निगम जोगाउन लागिपरेका छौं । र यो आन्दोलन त्यसकै लागि हो । हामी उक्त प्रस्ताव फिर्ता नभएसम्म र महाप्रबन्धकको राजीनामा नआएसम्म आन्दोलन जारी राख्छौं ।
– निगमलाई कम्पनीकरण गर्ने प्रस्ताव र महाप्रबन्धकको राजीनामाबीच के सम्बन्ध छ ?
अहिले महाप्रबन्धकसँग संस्था चलाउने क्षमता नै छैन । उहाँ आएदेखि नै निगम ओरालोयात्रामा छ । उहाँ लामो समय रहनु भनेको निगमलाई झन् घाटामा लानु हो ।
उहाँसँग कर्मचारीसँग समन्वय गर्ने क्षमता पनि रहेनछ । उहाँको कार्यकक्षमा सुन्दर कार्पेट विच्छ्याइएको छ । उहाँ महंगो गाडी चढ्नुहुन्छ । तर, संस्थाले लिएको ऋणको ब्याज तिर्न पुगेको छैन । उहाँसँग मिसन, भिजन केही पनि छैन ।
हामीले विभागीय मन्त्रालयदेखि प्रधानमन्त्रीसम्म उहाँको राजीनामाको कुरा पुर्याएका छौं । अब उहाँले नैतिकताका आधारमा राजीनामा दिनु नै उत्तम हुन्छ ।
– निगमलाई कम्पनीकरण गर्ने प्रयासमा चाहिँ उहाँको भूमिका के छ ?
उहाँले नियुक्त भएकै दिनदेखि यो प्रयास गर्नुभएको हो । यहाँ ठूलो ‘हवाई माफियाको ग्याङ’ छ । उहाँ त्यसकै लहैलहैमा लाग्नुभयो ।
– को हुन् हवाई माफिया चाहिँ ?
नाम लिन मिल्दैन तर उनीहरू कहिल्यै निगमको हित चाहँदैनन् ।
– तपाईंहरूको आन्दोलनले निगमको कम्पनीकरण रोकिएला र ?
संस्थालाई निजीकरण गर्न चार चरण पार गर्नुपर्छ । त्यसमध्ये तीन चरण पूरा भइसकेको छ । अब अन्तिम चरण भनेको कर्मचारीलाई मनाएर सहीछाप गराउने हो । तर हामी कुनै हालतमा उक्त प्रस्ताव मान्न तयार छैनौं ।
हिजो बासबारी जुत्ताचप्पल कारखाना, हिमाल सिमेन्टलगायतका ३० वटा सरकारी संस्थानलाई कम्पनीकरण गरियो । तीमध्ये १८ वटा समाप्त नै भइसकेका छन् । र, यसलाई पनि ती कम्पनी जस्तै बनाउन लागिएको हो ।
त्यसैले हाम्रा माग पनि धेरै छैनन् । एउटा उक्त प्रस्ताव फिर्ता हुनुपर्यो, अर्को महाप्रबन्धकले राजीनामा दिनुपर्यो ।
– संस्था निरन्तर घाटामा गएपछि विकल्प खोज्नु त स्वभाविक होइन र ?
निजीकरण नेपालमा फेल भइसक्यो । हामीलाई चाहिएको कुशल व्यवस्थापन हो । हिजो ४० हजार तिरेर भारतमा उपचार गर्न जाने तपाईं हामी नै हो । तर, नेपाल वायुसेवा निगमले भारतमा उडान भर्न थालेपछि टिकटको मूल्य सात हजारसम्म झार्न सफल भयौं । क्यान्सरको बिरामीलाई त हामीले निःशुल्क टिकट दिइरहेका छौं । निजी कम्पनीको मनोपोली रोक्न पनि यो संस्था चाहिन्छ ।
अहिले दुर्गम क्षेत्र- हुम्ला, जुम्लामा नेपालको वायुसेवा निगमले सस्तो दरमा सेवा दिइरहेको छ । साथै, त्यहाँ औषधोपचारदेखि सबै सामन नेपाल वायु सेवाले बोकिरहेको छ । त्यहाँ यति र हिमालयन एयरलाइन्स गएको देख्नु भएको छ ?
– उसो भए निगमलाई अहिलेकै स्थितिमा छाड्दा ठीक हुन्छ भन्ने तपाईंहरुको बुझाइ हो ?
होइन, सुदृढीकरण गर्नुपर्छ । यसको अर्थ बेच्नु पर्छ भन्ने होइन । अहिले विश्वभरका एयरलाइन्स कोरोनाका कारण घाटामा छन् । र, नेपाल वायुसेवा निगम पनि कोरोनाको मारमा परेको छ । तर, सधैँ यस्तो भइरहने होइन ।
अहिले यसलाई निजीकरण गर्ने होइन, राम्रो व्यवस्थापकीय प्रणाली बनाएर चलाउनु पर्छ । राम्रो व्यवस्थापक हुँदा सरकारी संस्था पनि नाफामा जान सक्छ भन्ने कुरा त नेपाल विद्युत् प्राधिकरणलाई हेर्दा थाहा हुन्छ ।
विगतमा हामीले १५ घण्टासम्मको लोडसेडिङको मार खेपिरहेका थियौं तर, कुशल व्यवस्थापक आएपछि आज प्राधिकरण नाफामा गएको छ । यस्तै कुशल व्यवस्थापक ल्याएर निगमलाई पनि नाफामा लैजान सकिन्छ ।
– निगम घाटामा जानुका पछाडि कर्मचारीको पनि हात छ भनिन्छ नि !
कसरी कर्मचारीको हात हुन्छ ? अहिले भइरहेको ३६ वटा संस्थानमध्ये निगमका कर्मचारी प्रविधिकरूपमा सक्षम छन् । सर्वसाधारणले निगममा देखिएका सबैलाई कर्मचारी नै ठान्छन् । तर, यहाँको वास्तविकता फरक छ ।
यहाँ सबै लोकसेवा पास गरेर आउँदैनन् । राजनीतिक नियुक्ति हुन्छ । त्यस्ता मान्छेमा विषयवस्तुको ज्ञान हुँदैन । उनीहरूले नीति तथा योजना बनाउँछन् । त्यसकारण निगम सफल हुन सकेको छैन । नेतृत्व राजनीतिक नियुक्तिबाट ल्याउने चलन हटाए निगम सफल हुन्छ ।
– निगम घाटामा जानुको मूल कारण नै राजनीतिक नियुक्ति हो त ?
नेपाल वायुसेवा निगमले स्थापनाकालदेखि अहिलेसम्म धेरै उतारचढावको सामना गरेको छ । २०४६ सालसम्म यसको अवस्था निकै राम्रो थियो । २०५१ मा अलिकति उत्तरचढाब भयो । त्यसपछि २०६२ सालसम्ममा पनि राम्रैसँग चलेको हो ।
२०६२/६३ मा अलि कमजोर भएको थियो । यो जहाज उडाउने कम्पनी हो तर, सरकारले न जहाज किन्यो न किन्न दियो । यसरी हेर्दा निगम घाटामा जानुको प्रमुख कारण राजनीतिक हस्तक्षेप नै हो ।
यहाँका बोर्ड सदस्यदेखि कार्यकारी सबै राजनीति नियुक्तिका छन् । योग्यता, विषयवस्तुमा ज्ञान भएको मान्छे नै ल्याउँदैनन्, पार्टीका मान्छे भर्ती गर्छन् । अनि कसरी निगम उँभो लाग्छ त !
– खासमा तपाईंहरूलाई संस्थाको चिन्ता कि जागिरको ?
हामीलाई जागिरको चिन्ता छैन । हामी जे गरेर पनि खान सक्छौं । तर, राष्ट्रको गौरवमय इतिहास बोकेको यो संस्था जोगिनु पर्छ भन्ने हो । यो त प्रत्येक नागरिकको करबाट स्थापित गरिएको संस्था हो ।