भीम रावल बालुवाटारमा, स्थायी कमिटी बैठकबारे छलफल हुँदै
काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको पूर्वनिर्धारित बैठकमा भाग लिन माधव नेपाल पक्षधर वार्ता टोली संयोजक डा. भीम रावल बालुवाटार पुगेका छन् । अन्य नेताहरू पनि बालुवाटार जाने क्रम जारी छ ।
बैठकअघि सबैलाई समेट्नबारे नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ । बैठक स्थगित गर्ने कि सहमतिलाई अनुमोदन गरेर पार्टी एकताको सन्देश दिने भन्नेबारे छलफल भइरहेको छ ।
यता सर्वोच्च अदालतको फैसलापछि विकसित घटनाक्रमलाई लिएर पार्टीमा विकसित सहमति भाँडिन नदिन आज निर्धारित स्थायी कमिटी बैठक स्थगित गर्न माधव नेपाल निकट केही नेताहरूले आग्रह गरेका छन् ।
वार्ता कार्यदलले हस्ताक्षर गरेर तयार पारेको सहमतिको मस्यौदा पारित गर्न आज साँझ बोलाइएको बैठक थप छलफलपछि राख्न आग्रह गरिएको वार्ता टोली सदस्य सुरेन्द्र पाण्डेले बताए ।
पाण्डेले नेपाल प्रेससँग भने, ‘धेरै मेहनत गरेर माधव कमरेडले दुई दिन पर्खौ भन्दा भन्दै पनि हामीले सहमति गरेका हौं । यसलाई भत्किन दिनु हुँदैन र पार्टी एकता टुट्न नदिन हामी दृढ छौं । आजको बैठक स्थगित गर्ने कुरा विष्णु पौडेलले भन्नुभएको थियो, खबर आएको छैन ।’
जसलाइ प्रधानमन्त्री बनाउनको लागि बिग्रह गरेको त्यही व्यक्ति प्रधानमन्त्री हुने भएपछि एमालेमा एकता किन जरूरी भयो र ? माधव नेपाल कामरेडले फैसलाको स्वागत गरी सक्नु भएको छ । अब त बाँकी भनेको काँग्रेसले यी कम्युनिष्टहरू भनेर डण्डा लगाउन मात्र बाँकी छ । त्यही बेला हेराैँला कसले जितेको भनेर । अब के का लागि एकता ? न विचार न सिद्धान्त, जुन विचारको पार्टीसँग राजनीतिक प्रतिष्प्रर्धा गर्नु थियो त्यसैलाइ प्रधानमन्त्री बनाउन रातदिन एक बनाएर गरेको मेहीनेतको फल त सर्वोच्चले दिइ सक्यो ।