जनकपुर-जयनगर रेलवे ट्र्याकमा गति परीक्षण आज
जनकपुरधाम । सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि आज रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने भएको छ ।
जयनगर (भारत)-जनकपुर-कुर्था रेल्वे ट्रयाकमा आइतवार भारतको इस्ट-सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए ।
उनका अनुसार परीक्षणको क्रममा रेलको स्पिड १२० किलोमिटर प्रतिघण्टा हुनेछ । उनले सामाजिक सञ्जालमार्फत स्पिड परीक्षण गर्नुपर्ने भन्दै आइतवार रेल्वे ट्रयाक खाली गर्न सर्वसधारणसँग अनुरोध गरेका छन् ।
रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न आग्रह गरेका छन् । ट्रयाक आसपासका बस्तीमा माइकिङ समेत गरिएको छ । सूचनाको अवज्ञा गर्दा कुनै दुर्घटना भएमा ब्यक्ति स्वयं जिम्मेबार हुने र कानून अनुसार कारबाहीसमेत गरिने चेतावनी उनको छ ।
सशस्त्र प्रहरीको टोली परिचालन गरेर १० महिनादेखि इनरवा स्टेशनमा रेल थन्क्याएर राखिएको छ ।सरकारले पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखेको थियो ।
तर, जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर मात्र रेल ट्रयाक निर्माण भएको छ । कुर्थादेखि बर्दिवाससम्म रेल्वे ट्रयाक निर्माणाधीन अवस्थामा छ ।