माधव नेपालविरुद्ध युवासंघ कार्यकर्ताको उग्र प्रदर्शन (भिडियो)
काठमाडौं । नेकपा एमालेको युवा संगठनका कार्यकर्ताले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध उग्र प्रदर्शन गरेका छन् ।
उनीहरुले नेपालविरुद्ध नारावाजीका साथै सांकेतिकरुपमा ‘शव दहन’ को प्रयाससमेत गरे । युवासंघको काठमाडौं क्षेत्र नम्बर २ का कार्यकर्ताले बालकुमारी पुलमा सो विरोध प्रदर्शन आयोजना गरेका हुन् । उनीहरुले शंख फुक्दै सांकेतिक शव यात्रा निकालेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
सोमबार संसदमा भएको मतदानमा नेपालसहित २२ जना एमाले सांसदले सरकारको पक्षमा मत खसालेका थिए । आफ्नो पार्टीको सरकार ढालेर विपक्षी नेताको नेतृत्वमा सरकार बनाउन सघाएको भन्दै नेपालविरुद्ध संस्थापन पक्षका कार्यकर्ता आक्रोशित छन् ।