बाढीले कमला नदीको तटबन्ध भत्कायो, भत्किएपछि मर्मतका लागि बजेट ! – Nepal Press

बाढीले कमला नदीको तटबन्ध भत्कायो, भत्किएपछि मर्मतका लागि बजेट !

जनकपुरधाम । कमला नदीमा आएको बाढीले धनुषाको सबैला नगरपालिका १३ स्थित तटबन्ध भत्काएको छ । मंगलबार बिहानदेखि तटबन्ध कटान सुरु भएको थियो । बाढीले बुधबार दिउँसोसम्म सयौं मिटर तटबन्ध कटान गरिसकेको छ ।

तटबन्ध कटान भएपनि नदीमा पानीको बहाब घटेकाले बाढी गाउँ पसेको छैन । तर सो क्षेत्रका बासिन्दा त्रसित छन् । सबैलाका मोहन पासवान भन्छन्, ‘तटबन्ध बाढीले बगाउने हल्ला हिजोदेखि नै चलेको थियो । त्यसैले रातभर सुत्न पाएनौं । बिहान तटबन्ध भत्कियो तर पानी घटेकाले गाउँसम्म आइपुगेको छैन ।’

उनका अनुसार तटबन्ध तत्कालै निर्माण नगरे यस क्षेत्रमा बाढीले निकै क्षति गर्न सक्छ । ‘अहिले बाढी आउने समय छ । कहिँ बाढी आयो भने सबैला नगरपालिकाका हजारौं घर त डुब्छ नै । कमला, शहिदनगर र जनकनन्दनीसम्म क्षति पुर्याउँछ’ उनले भने, ‘बाढीले हजारौं विघाको धानबाली नष्ट गर्नेछ ।’ समयमै तटबन्धको मर्मत नभएका कारण बाढीले भत्काएको उनको भनाइ छ ।

कमला नदी नियन्त्रण आयोजना प्रमुख एकराज भट्टराईले बाढीले करिब ३ सय मिटर तटबन्ध पूर्णरुपमा कटान गरेको बताए । उनले भने, ‘मंगलबार बिहानैदेखि तटबन्ध जोगाउने प्रयास गर्यौं । तर सकेनौं । ५ मिटर गहिरो पानी छ । स्थानीहरु काम गर्न पनि डराउँछन् । सुरक्षाकर्मीहरुले जसोतसो काम गरिरहेका छन् ।’

तटबन्ध भत्किएपछि मर्मतका लागि बजेट

तटबन्ध जीर्ण बनेकोले बाढी आएपछि भत्काउने र गाउँ नै डुबानमा पर्ने भन्दै मर्मत सम्भारको पहल गरिदिन स्थानीयले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग पटक–पटक गुहार गरे । तर उनले वास्ता गरेनन् । मंगलबार जब बाढीले तटबन्ध कटान सुरु गर्यो, अनि प्रमुख जिल्ला अधिकारी बास्तोला निरीक्षण गर्न पुगे ।

तटबन्धको निरीक्षण गर्न पुगेका पूर्वमन्त्री तथा सो क्षेत्रबाट निर्वाचित माओवादी सांसद मातृका यादवले तत्कालै ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाललाई टेलिफोन गरे । तटबन्ध बाढीले भत्काए कैयौं हजार घर डुबानमा पर्ने कुरा सांसद यादवले भनेपछि मन्त्री भुसालले तत्कालै ५० लाख बजेट पठाउने आश्वासन दिएकी थिइन् ।

मन्त्री भुसाालले जनाएको प्रतिबद्धताअनुसार कमला नदी नियन्त्रण आयोजना कार्यालयमा बजेट आएको छ । आयोजना प्रमुख भट्टराईले विभागले ५० लाख परिधिभित्र रहेको तत्कालै तटबन्ध निर्माण र मर्मत गराउन पत्र पठाएको बताए । पत्र पाएलगत्तै तटबन्ध निर्माण र मर्मतका काम सुरु गरिसकेको उनको भनाइ छ ।

उनका अनुसार तटबन्धको अन्य ठाउँसमेत जीर्ण भएकाले तत्काल मर्मत गर्नुपर्ने हुँदा अझै बजेट अभाव छ । ‘अहिले भत्काएको ठाउँका लागि ५० लाखले पुग्छ’, उनले भने, ‘तर पूरै तटबन्ध तत्कालै मर्मत गर्नका लागि अझै बजेट आवश्यक पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *