देउवालाई ‘दाग मेट्ने’ अवसर
पाँच वर्ष सरकार चलाउने म्यान्डेट पाएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले करिब आधा कार्यकालभन्दा बढी सरकार चलाउन पाएनन् ।
अनेक राजनीतिक खिचातानी र दाउपेचको परिणामस्वरुप प्रधानमन्त्रीबाट केपी शर्मा ओली हटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आए ।
राजनीतिमा के–के भयो ? थाहा छैन । तर, परिणाममा ओली हटे, देउवा आए । हामीले अब एकाध वर्षमै सरकार परिवर्तन हुने रोगबाट कहिले मुक्ति पाउने ? यो प्रश्न गम्भीर छ ।
अब देउवा प्रधानमन्त्री हुने पनि बढीमा डेढ वर्ष हो । विगतमा बदनाम छवि बनाएको उनको यो कार्यकाल पनि कार्यकर्ता पोस्न र फेरि चुनाव जित्ने दाउमा मात्रै सीमित नहोओस् भन्ने आमचाहना छ ।
देउवा नेपालको राजनीतिमा नयाँ नाम होइन । यसअघि चारपटक प्रधानमन्त्री भइसकेका देउवाले खासै उन्नत काम गर्लान् भन्ने आश कमै छ । ओली हटेर देउवा आउनु ‘नयाँ बोतलमा पुरानो रक्सी’ जस्तो मात्रै नहोस् ।
देउवा २०५२ सालमा पहिलोचोटि प्रधानमन्त्री हुँदा म ६ वर्षको थिएँ, अहिले पाँचौपटक देउवा प्रधानमन्त्री हुँदा मेरो छोरा ६ वर्षको भएको छ । योबीचमा धेरै मान्छे प्रधानमन्त्री भए । तर परिणाम उस्तै छ । अब मेरो छोराले यो देशको राजनीतिक नेतृत्वबाट के सिक्ने, के पाउने ?
हिजो संसदको करिब दुईतिहाई मत पाएर प्रधानमन्त्री भएका ओली अल्पमतमा परेर बाहिरिनु पर्यो । अहिले देउवाले पनि उल्लेख्य मत पाएका छन् । हिजो ओलीलाई प्रधानमन्त्री बनाउने बेला प्रचण्डले खुबै ओलीको गुणगान गाएका थिए । अहिले निकाल्ने बेला उछितो काडे ।
हिजो आफ्नौ टाउकाको मूल्यका तोकेका देउवालाई प्रधानमन्त्री बनाउनुलाई प्रचण्डले जित ठानेका छन् । हिजो राजाको पाउमा संसद बुझाएका र राजाले चुनाव गर्न नसकेर असक्षम घोषणा गरेका देउवा अहिले प्रचण्डको नजरमा सक्षम र निर्विकल्प भएका छन् । यो नेपाली राजनीतिको रोचक सत्य हो ।
देउवा प्रधानमन्त्री हुनेवित्तिकै औधी फुर्कनुपर्ने कारण छैन । किनकि, उनी प्रधामन्त्री बनेको जग दह्रो देखिए पनि निकै कमजोर छ । गठबन्धनका पाँच दल र आफ्नै पार्टीभित्रको गुट मिलाएर अघि बढ्न देउवालाई कम्ति चुनौती छैन ।
कोरोना महामारीले ग्रस्त देशको अर्थतन्त्र र नागरिकको जीवनलाई लयमा फर्कउन देउवाले निकै कसरत गर्नुपर्ने छ । हिजो ओलीलाई गाली गर्न जस्तो सजिलो काम गर्न हुँदैन ।
राजनीतिका कुरा छाड्ने हो भने ओलीले राम्रो कति गरे एउटा कुरा हो, तर देशमा नराम्रो गरेका थिएनन् । कुनै गम्भीर राष्ट्रघाती सम्झौता गरेनन् । विषम परिस्थितिका बाबजुत पनि ओलीले देशमा विकासको तरंग ल्याएकै हुन् । विकास बहस चलेकै हो । नेपाली सीमा फराकिलो भएको नक्सा जारी गरेकै हुन्, चीनसँग पारबहन सन्धी गरेकै हुन् । यस्ता केही उल्लेख्य काम गरेका ओलीलाई हटाउनैपर्ने कारण अर्कोलाई प्रधानमन्त्री बन्ने वा बनाउने लोभभन्दा अरु केही हो जस्तो लाग्दैन ।
संसद विघटन गर्नु गलत भए पनि त्यो उनको बाध्यता जस्तो पनि थियो । चारैतिरबाट आक्रमण भएपछि शक्ति हुनेले आफ्नो अस्त्र प्रयोग गर्नु वा गर्न खोज्नु स्वभाविक नै थियो ।
विगतमा कहिल्यै केही राम्रो नगरेरका देउवाबाट धेरै आश नगरेका कारण निराश पनि कम हुनुपर्ला । तर, ओलीको अभाव देउवाले पूर्ती गर्न सक्दैनन् । आफ्नै पार्टीको सरकार ढालेर विपक्षीको पोल्टामा सुम्पने प्रचण्ड र माधव नेपालले देउवालाई पनि जुनकुनै बेला धोका दिन सक्छन् ।
जनता रोग, भोकको चपेटामा छन् । देशको स्वास्थ्य, शिक्षालगायत सबै क्षेत्र तहसनहस छ । जताततै बेथिति नै बेथिति छ । योबेला देउवाले जनताले सोचे वा चाहेभन्दा राम्रो काम गर्ने हो भने उनलाई हेर्ने आमनजर परिवर्तन हुनसक्छ ।
देउवासँग काम गर्न चुनौतीसँगै केही सुन्दर अवसर पनि छ । विगतका आरोप र अहिलेका शंकालाई चिर्दै देउवाले देश र जनताका हितमा व्यापक काम गर्न सकुन् । विगतमा लागेका सबै दाग मेट्नका लागि उनको यो कार्यकार सफल होस्, शुभकामना ।