बकर इदका दिन बाँकेको मुस्लिम परिवारमा बज्रपात
रूपन्देही । बकर ईदको दिन बाँकेका तीन मुस्लिम परिवारलाई बज्रपात परेको छ । यो पर्वमा रमाउँदै कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन युवाको मृत्यु भएको छ।
मुस्लिम समुदायको महान पर्व बकराईदका दिन कोहलपुर, १० मा रहेको उक्त स्थानमा रमाइलो गर्ने उद्देश्यले नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा बुधबार पौडी खेल्ने क्रममा खोलामा डुब्दा तीन जनाको मृत्यु भएको र दुई युवकलाई प्रहरीले उद्धार गरेर बचाएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज–११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिभ जसगढ रहेका छन् ।
उनीहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेर जोगाउन सफल भएको डीएसपी खनालले जानकारी दिए ।
पौडी खेल्ने क्रममा युवा डुबेको खबर पुग्ने वित्तिकै कोहलपुर प्रहरीको टोलीले त्यहाँ पुगेर खोजी गर्दा तीन जनाको मृत्यु भइसकेको थियो । दुई जनाको उद्धार गर्न सकिएको प्रहरीले जनाएको छ ।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी तीनै जनाको शव पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ ।