तीन दिने क्रियाशील पत्रकारको तालिम एक दिनमै सकाएर अनियमितता – Nepal Press

तीन दिने क्रियाशील पत्रकारको तालिम एक दिनमै सकाएर अनियमितता

जनकपुरधाम । असारे विकासको क्रममा स्थानीय सरकारले तालिमको अवधि छोट्याएर रकम अनियमितता गरेको समाचार धेरै पत्रकारले लेखे । तर, एक संस्थाले शुक्रबार धनुषाका क्रियाशिल पत्रकारलाई नै झुक्याई तीन दिने तालिम एक दिनमै सकाएको खुलेको छ ।

तुलसादेवी हरिहर फाउन्डेशन ललितपुरले युनेस्कोको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा शुक्रवार विहान ‘क्रियाशिल पत्रकारहरुका लागि आचारसंहिता तालिम कार्यक्रम’को सुरु भयो ।

तालिमको प्रमुख अतिथि बनेका प्रदेश २ का नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले उद्घाटन गरे । करिब १२ बजे सुरु भएको तालिम डेढ÷डेढ घण्टाको दुई सत्र अर्थात ३ घण्टामै सकियो । तालिममा करिब २५ जना क्रियाशिल पत्रकार सहभागी थिए । उनीहरुलाई खाना खुवाएर एउटा सानो कमसम ब्याग र ५ सयका दरले भत्ता बाँडियो । साथै प्रमाणपत्र पनि दिइएको छ ।

जुलाई २३ देखि २५ गतेसम्म तालिममा सहभागी भएकोमा धन्यवाद भन्दै सहभागी पत्रकारलाई बाँडेको प्रमाणपत्रमा प्रमुख अतिथि नीति आयोगका उपाध्यक्ष डा. झा, प्रशिक्षक डा. सुरेश आचार्य, युनेस्कोका प्रतिनिधि डा. बाबुराम अधिकारी र आयोजक संस्थाका अध्यक्ष सरु सुवेदीको हस्ताक्षर छ ।

कार्यक्रममा प्रयोग गरिएको ब्यानरमा पनि तालिम दिन दिने भएको प्रष्टसँग उल्लेख छ । प्रदेश १ र २ (विराटनगर) भनेर ब्यानरमा उल्लेख गरिएपनि धनुषाका पत्रकार मात्र सहभागी थिए । ब्यानरमा उल्लेख भए अनुसार तालिम विराटनगरमा हुनुपर्ने र प्रदेश १ का पत्रकार पनि सहभागी हुनुपर्ने हो । तर, प्रदेश २ का पनि नभएर धनुषाकै पत्रकारलाई सहभागी गराएको पाइएको छ ।

तालिम तीन दिन दिनुपर्ने हो तर कोरोना महामारीका कारण एक दिनमै सकाउनुपर्ने बाध्यता रहेको आयोजक संस्थाका प्रतिनिधिले उद्घाटन सत्रमा जनाएका थिए । त्यसपछि पत्रकारहरु आक्रोशित बनेपछि पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिका झाले थामथुम पारेकी थिइन् ।

स्रोतका अनुसार झाले नै तालिममा २५ जना पत्रकारलाई सहभागी गराएकी थिइन् । तीन दिनको तालिम एक दिनमै सकाउँदा पनि केहि नहुने आश्वासन अध्यक्ष झाले आयोजक संस्थालाई दिएकी थिइन् । तालिममा सहभागी एक पत्रकारले भने, ‘अध्यक्ष मनिका झाले नै आफूहरुलाई केहि नबोल्न भनेपछि चुप लागेँ । उहाँले नै भनेपछि सादा कागजमा पनि हस्ताक्षर गरिदिए ।’

पत्रकार महासंघ धनुषाकै मिलोमतोमा आयोजक संस्था फाउन्डेशनले तालिमको नाममा भ्रष्टाचार गरेको जनाइएको छ । तालिम एक दिनमै सकाएपछि प्रमाणपत्रमा प्रदेश २ का नीति आयोगका उपाध्यक्ष डा. झाले पनि हस्ताक्षर गरेपछि आश्चर्य लागेको पत्रकारहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *