विजय शाहीबाट ठगिएकाे गुनासाे गर्दै अमेरिकी मेमोरी मास्टर नेल्सन डेलिसले राखे भिडियो
काठमाडौं । अद्भुत स्मरणशक्ति भएको दाबी गर्दै आएका बिजय शाहीबाट आफू ठगिएको अमेरिकी मेमोरि मास्टर नेल्सन डेलिसले बताएका छन् । विभिन्न युट्युब तथा टेलिभिजनहरुमा अन्तरवार्ता दिँदै हिड्ने शाहीले नेल्सन नेपालको सगरमाथा क्षेत्र आएको अवसरमा अन्तरवार्ता दिएका थिए ।
विभिन्न नेपाली मिडिया र युट्युब च्यानल हेरेर धारणा बनाएका नेल्सनले बिजय शाहीको स्मरणशक्तिको प्रशंशा गर्दै दुई भिडियो बनाएका थिए । सबैभन्दा सुरुमा अप्रिल १९ (वैशाख ६) मा उनले बनाएर अपलोड गरेको १९ मिनेट ५७ सेकेन्डको भिडियो डेढ लाखले हेरेका छन् । उनले जुलाइ १४ (असार ३०) मा बनाएर अपलोड गरेको भिडियो त झन्डै दश लाखले हेरेका छन् । बिजय शाहीको अन्तरवार्ता र उनले स्मरण गरेको कुरा राखेर भिडियो हालिएको छ । १ घन्टा १६ मिनेट ३९ सेकेन्डको उक्त भिडियो अत्यधिक चल्यो ।
लगत्तै डेलिसले हालसालै शनिवार साँझ २१ मिनेट २८ सेकेन्डको भिडियो हालेका छन् । जसमा उनले बिजयले आफूलाइ मुर्ख बनाएको स्विकार गरेका छन् । आफूलाई शाहीले बिगत दुई वर्षबाट स्मरणशक्ति बढेको भन्दै ठगेको डेलिसले बताएका छन् । डेलिसले यसो भन्नु अगाडि मिसगाइडेड नेपाल नामक एक युट्युब च्यानलले शाहीले गरेको ठगीको एक-एक कारण र तर्कसहित भिडियो सार्वजनिक गरेको थियो । जुलाइ १७ (साउन २) मा हालिएको उक्त भिडियो ८ लाख ६६ हजार बढिले हेरेका छन् ।
बिजय शाहीको स्मरणशक्ति बकवास भएको भन्दै आएकाहरुले डेलिसको भिडियो आएपछि आलोचना बढाएका छन् । नेपालको बेइज्यत गरेको भन्दै आलोचना भएको छ । सबैभन्दा सुरुमा युट्युबर भाग्य न्यौपानेले सार्वजनिक गरेका शाहीको अन्तरवार्ता ऋषि धमला लगायत थुप्रै टेलिभिजन प्रस्तोताहरुले लिएका छन् ।
उनी नेपाललाई ‘शिक्षित बनाउने’ भन्दै विभिन्न सेलिब्रेटीहरुसँग पुग्दै आफ्नो अद्भूत स्मरणशक्ति भएको दावी गर्दै आएका थिए । युट्युब अन्तर्वार्ता दिदै हिँड्ने पुन्य गौतमहरुको समुहले भने शाही फेक भएको सुरुबाटै बताइरहेका थिए ।
नेल्सन डेलिस अमेरिका र विश्वभरमा मेमोरी ग्रान्ड मास्टर्सदेखि मेमोरी एथलेटको नाममा चिनिन्छन् । उनी चारपटक अमेरिकाको मेमोरी च्यापिम्पयन भएका थिए । उनी पब्लिक स्पिकर, लेखक र आरोही पनि हुन् ।