सैनामैनामा एकैदिन तीन योजनाको शिलान्यास
बजेट अभाव हुन नदिने पूर्व अर्थमन्त्री पौडेलको प्रतिवद्धता
रुपन्देही । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्रमा शनिबार एकैदिन तीन ठूला परियोजनाको शुभारम्भ भए ।
रुपन्देहीको क्षेत्र नं २ अन्तर्गत सैनामैना नगरपालिकामा एकैदिनमा ठूला लगानीका योजना शिलान्यास गरिएको हो ।
सरकारमा भए पनि नभए पनि महत्वाकांक्षाका योजना अगाडि सार्ने पहिचान बनाएका नेता पौडेलले शनिबार पनि यसै गरे । सैनामैना नगरपालिकामा निर्माण हुने निजी क्षेत्रको विद्युतीय ४ पांग्रे गाडीको एसेम्बल गरिने कम्पनी, मुर्गियामा निर्माण गर्न लागिएको १५ शय्याको अस्पताल र पशुपतिनाथ पछि ठूलो शिव मेला लाग्ने बोलबम धामको नयाँ गुरुयोजना अनुसार मन्दिर निर्माणको काम सुरुवात शनिबार एकैदिनमा भएको हो ।
महत्वाकांक्षी ती परियोजनाको नेता पौडेलले भर्चुअल रुपमा शुभारम्भ गर्दै सबैको साझा पहलबाट मात्रै विकास सम्भव भएको र विकासमा सैनामैनाले फड्को मारेको भन्दै स्थानीय जनप्रतिनिधि तथा सहभागीको मन जित्ने प्रयास गरे ।
नेता पौडेलले यसरी शुरु गरिएका योजना निर्धारित समयमा पूरा गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने निश्चित गर्दै स्थानीय जनप्रतिनिधि र टेकेदारलाई समयमै काम पूरा गर्ने प्रतिवद्धता गराएका थिए ।
पौडेलले अबको विकास विकासउन्मुख सहरको रुपमा रहेका बस्तीमा आवश्यक रहेको बताउँदै गाउँ गाउँमा विकास केन्द्रीत गर्न आवश्यक रहेको बताएका थिए ।
यो क्षेत्रमा बोलबम धाम नमुना धार्मिक पर्यटकीय गन्तव्यमा विकास हुने भन्दै उनले यसको लागि नयाँ योजनासहितको गुरुयोजना ल्याइएकाले समयमै निर्माणलाई अगाडि बढाउन आग्रह गरे ।
बोलबम प्रदेशकै प्रमुख धार्मिक पर्यटकीयस्थल बनाइने
रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धाम पशुपतिनाथपछिको ठूलो शिव मेला लाग्ने स्थानको रुपमा परिचित छ । धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीयस्थल बनाउने लक्ष्यसहित गुरुयोजना अनुसारको मन्दिर शिलन्यास गरिएको नेता पौडेलको भनाइ छ ।
मन्दिरको अग्रभागमा गणेश र कुमारले जलार्पण गरेको मूर्ति र हनुमानको मूर्ति धामको आकर्षण हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले बताए ।
धाममा प्यागोडा शैलीमै कलात्मक अग्निशाला, दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलात्मक शैलीमा बनाउने गुरुयोजनामा रहेको चौधरीले बताए । मन्दिर बनाउन नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा संघीय सरकारको सशर्त अनुदानको रकम खर्च हुनेछ ।
सैनामैना नगरपालिकाले बनाएको गुरुयोजना अनुसार धाममा मूल मन्दिरसहितका संरचनाहरु निर्माण गर्न १४ करोडभन्दा बढी लागत लाग्ने छ । पहिलो चरणमा धाममा प्यागोडा शैलीमा तामाको छानोसहित दुईतल्ले मूल मन्दिर बनाउन ६ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ ।
चारवटा ढोकासहितको मूल मन्दिरको छानो ५१ फिट लम्बाइको हुनेछ, जुन काठमाडौंको पशुपतिनाथ मन्दिरभन्दा ठूलो हो । मूल मन्दिरको चारै कुनामा दुईतल्ले प्यागोडा शैलीका पाञ्चायन मन्दिर बनाइने छ भने मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल रहनेछन् ।
करिब ५ सय किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाई त्रिशूल र डमरु रहने मन्दिरमा साढे ५ फिटको मूल गजुर रहने नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेले बताए ।
मूल मन्दिरको पूर्वमा आकर्षक मूल प्रवेशद्वार र पश्चिममा पूजापाठ गर्ने कलात्मक गृह बनाइने र विभिन्न देवीदेवताका मूर्तिहरुलाई मूल मन्दिरबाट उत्तरमा आकर्षक मन्दिर बनाई व्यवस्थित गरिने गुरुयोजनामा रहेको न्यौपानेले बताए । यस्तै हालको साधुसन्त आश्रमलाई सबलीकरण गरी पुरातात्विक रुपमा मर्मत सुधार गर्ने, महिला तथा पुरुषका लागि पर्याप्त शौचालय बनाइने छ ।
मन्दिर र मन्दिरसम्म पुग्ने सडकलाई हरियाली र आकर्षक बिजुली बत्तीको व्यवस्थापन गरी सौन्दर्यीकरण गर्ने, ढल तथा वर्षे पानी निकासको व्यवस्था गर्ने र मन्दिरको आम्दानी वृद्धिका लागि ११ वटा कलात्मक पसल घर बनाइने गुरुयोजनामा समेटिएको छ । हिन्दू धर्मालम्बीहरुको आस्थाको स्थलको रुपमा परिचित पर्रोहा धामलाई पश्चिम नेपालको पशुपतिनाथका रुपमा विकास गरी धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित गुरुयोजना बनाएर काम थालिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।
मूल मन्दिर निर्माणको पहिलो चरणको काम २०७९ मंसिर मसान्तमा पूरा हुने र दोस्रो चरणमा ८ करोड बढीको पूर्वाधारहरु बनाइने कार्कीले बताए । नगर प्रमुख कार्कीले नयाँ गुरुयोजना अनुसार २ बर्षमा पहिलो चरणको मन्दिर निर्माण पुरा गर्ने र दोस्रो चरणमा अन्य विकास निर्माणका काम गरिने बताएका थिए ।
विद्युतीय सवारी प्लान्ट
सुन्दर यातायातले विद्युतीय सवारीसाधन निर्माणका लागि सैनामैना नगरपालिकामा एसेम्बल प्लान्ट निर्माण गर्ने भएको छ । जसको शनिवार शिलन्यास गरिएको छ । नेपाल सरकारले विश्वका १० उत्कृष्ट विद्युतीय गाडी निर्माताहरु नेपाल आएमा सहयोग गर्ने घोषणा गरेसंगै सुन्दर ट्रेडर्सले चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनीसंग सहकार्य गरेर नेपालमै एसेम्वल प्लान्ट राख्ने योजना वनाएको हो । नेपालमा पहिलोपटक एसेम्वल प्लान्ट स्थापना सैनामैनामा हुनेछ ।
जग्गाको अभावमा सुन्दर यातायातले चाहेर पनि यस्तो उद्योग स्थापना गर्नसकेको थिएन । प्लान्ट स्थापनाका लागि सैनामैना नगरपालिकाले करिव १० विगाहा जग्गा उपलब्ध गराउने छ । प्लान्टमा प्रत्यक्ष रूपमा ३ सय जनाले रोजगारी पाउने, जसमा २ सय ५० जना नेपाली कामदार हुने बताइएको छ ।
बजार नजिकै १५ शय्याको अस्पताल
सैनामैना नगरपालिकामा १५ सैयाको आधारभूत अस्पताल निर्माण हुने भएको छ । हाल नगरपालिकाको पशु विकास शाखा रहेको मुर्गिया बजार नजिकैको सैनामैना ४ मा उक्त अस्पताल बन्ने भएको हो । नयाँ बन्ने अस्पतालको भौतिक पूर्वाधार निर्माणको लागि ठेक्का सम्झौता भई शनिवार शिलान्यास गरिएको छ ।
नगर प्रमुख चित्रबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, योजना प्रमुख सुरज न्यौपाने लगायतको सहभागितामा ठेकेदार कम्पनी श्याम सुन्दर एण्ड बि जेभीका प्रतिनिधिको रोहवरमा शिलान्यास गरिएको हो । नगर प्रमुख कार्कीका अनुसार निर्माण हुने अस्पताल भवनभित्र बहिरङ्ग विभाग अन्तरङ्ग विभाग( ओपिडी, अपरेशन थियटर, इमरजेन्सी, प्रसुति सेवालगायतका इकाई रहनेछन् ।
सम्झौता कार्यक्रममा नगर प्रमुख कार्कीले हालको संक्रमणकालीन अवस्थाले धरै पाठ सिकाएको भन्दै जनताको स्वाथ्यलाई प्रमुख हितमा राखेर काम गरिने बताए । नगर प्रमुख कार्कीले ५० शय्याको अस्पताल सञ्चालन गर्नका लागि उपकरण अहिले नै जुटिसकेको भन्दै यसको लागि अहिलेबाट नै तयारी थालिएको जानकारी गराए ।
प्राकृतिक चिकित्सालयलाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने योजना रहेको भन्दै विशेष सेवासहितको ५० बेडको अस्पताल सैनामैनामा आवश्यक रहेको भन्दै जसलाई निकट भविश्यमा नै पूरा गर्ने उनले जानकारी दिए । २ बर्षभित्र निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीको बीचमा सम्झौता भएको हो । ठेकेदार कम्पनीले समयमा नै पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
अस्पताल निर्माणको कुल ठेक्का कुल ११ करोड ३६ लाख रहेको छ । यसको पुर्वधार भने ५० शय्याको अस्पतालको क्षमता अनुसारको निर्माण गरिने नगरपालिकाले जनाएको छ ।