एमसीसीः सुनसँग नुन साट्ने प्रोजेक्ट
नेपाल खनिजलगायत विभिन्न प्राकृतिक स्रोत साधनले सम्पन्न मुलुक हो । खनिजको उत्खनन् र प्रयोगविना कुनै पनि राष्ट्रको औद्योगीकरण र समृद्धि सम्भव छैन । यसर्थ खनिजको सर्वेक्षण, उत्खनन्, प्रशोधन एवं उपयोग गर्ने देशको मूल नीति हुनुपर्छ ।
नेपालमै पहिलोपटक भूमि उत्खनन गरी २०१५ सालमै पर्वतमा फलामखानी सञ्चालन भएको थियो । सन् १९२१ मा भोटसँग युद्ध गर्न रामेछापको ठोँसेमा राणा प्रधानमन्त्री देव शमशेरले युद्धका लागि हतियार बनाउने कारखाना खोलेका थिए ।
त्यसबेला त्यहाँ १८ वटा ठाउँबाट खनिज निकालेर प्रशोधन गरी ठोँसेको मेक्चेनमा दैनिक ९ नाल बन्दुक तयार गरिन्थ्यो । सन् १९५० अगाडि राणाकालीन समयमा भौगर्भिक ज्ञान भएका जनशक्ति नेपालमा थिएनन् र विदेशीलाई पनि अध्ययन अनुसन्धान गर्न अनुमति दिँइदैनथ्यो, तर नेपालमा राणा ब्रिटिसको सम्बन्ध राम्रो भएकोले ‘जिओलोजिकल सर्वे अफ इन्डिया’का भूगर्भविद्मध्ये नेपाल आउने पहिलो भूगर्भविद् जे.डी. हुकरले अनुसन्धान गरेका थिए । राणा शासन अन्त्यपछि विश्वका विभिन्न देशबाट नेपालमा अध्ययन हुन थाल्यो ।
सन् १९६१ मा सरकारले खानी अड्डालाई विस्तार गरी खानी ब्युरोमा परिवर्तन गरेर सन् १९६७ मा नेपाल भौगर्भिक सर्वेक्षण संस्थाको स्थापना गरियो । सन् १९७७ अर्थात् २०२४ सालमा खानी ब्युरो र भौगर्भिक सर्वेक्षण संस्था एकत्रित गरी खानी तथा भूगर्भ विभाग स्थापना भयो । सन् १९६७ मा नै त्रिभुवन विश्वविद्यालयको स्नातक तह र सन् १९७६ देखि स्नाकोत्तर तहमा भूगर्भ शास्त्र विषयको अध्यापन थालियो ।
ढुङ्गा, गिट्टी, बालुवा, युरेनियम, पेट्रोलियम पदार्थ, दुर्लभ धातु, ग्याँस, कोइला, शृङ्गारिक रत्नपत्थर, जिंक, फलाम, तामा, अभ्रख, सीसा, चुनढुङ्गा, मार्बल जस्ता खनिज एवंं जलस्रोत जस्ता अथाह प्राकृतिक स्रोत साधनले भरिपूर्ण मुलुक भएर पनि उचित खोज, अनुसन्धान अन्वेषण तथा प्रविधिको अभावले नेपाल ‘माल पाएर चाल नपाएको’ जस्तो भएको छ ।
खानी तथा भूगर्भ विभाग तथा त्रिभुवन विश्वविद्यालयको अध्ययन अनुसार नेपालमा कम्तिमा २१ प्रकारका खनिज धातु, २३ प्रकारका औद्योगिक खनिज, ६ प्रकारका रत्न खनिज, ४ प्रकारका इन्धन खनिज र ९ प्रकारका निर्माण खनिज गरी ६३ प्रकारका खनिज छन् । जसमध्ये कतिपय खनिजको विस्तृत अध्ययन भइ परिणामसमेत यकिन भइसकेको छ भने कतिपय ठाउँमा खनिजमा आधारित केही उद्योगहरु स्थापना भइसकेका छन् ।
२०३३ सालमा पहिलोपटक काठमाडौंको चोभारमा चुनढुङ्गामा आधारित हिमाल सिमेन्ट कम्पनीको स्थापनापछि कृषि चुन उद्योग, हेटौंडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग, नेपाल ओरेण्ट म्याग्नेसाइट, नेपाल मेटल कम्पनी जस्ता उद्योगहरु स्थापना भए । तर अहिले केही उद्योग मात्रै संचालित छन् ।
खानी तथा भूगर्भ विभागल विभिन्न खनिजको सर्वेक्षण गर्न ५०० भन्दा बढी कम्पनीलाई खोजतलास र उत्खननको अनुमति दिएको दिएको छ । अनुमतिको दिएको तुलनामा खनिज उद्योगको स्थापना नगण्य मात्रामा भएको छ । स्थापित उद्योगहरु पनि खस्किँदै विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तथा प्रशासनिक र प्राविधिक निहुँमा बन्द भएका छन् ।
सन् १९८० मा नै विश्व बैंक तथा क्यानेडियन सरकारको सहयोगमा सम्पूर्ण तराई र चुरे पर्वत शृङ्खलामा अन्वेषण गदा पेट्रोलियम खानी फेला परेको थियो ।
नेपालमा आफैंले उत्पादन गरेर होस् वा विदेशबाट आयात गरेर खनिजको उपयोग दिनदिनै बढिरहेको छ । नेपालको गुणस्तरीय उत्पादित सामानले अन्तर्राष्ट्रिय मान्यता र ख्याति पाएपछि विविध निहुँ पारेर प्राविधिक तथा अन्य कर्मचारीको हडताल, बन्द जस्ता गतिविधिले खनिज उद्योग बन्द भएका छन् । र, हरेक वर्ष खनिज आयातमा नेपालको कुल बजेटको एकतिहाई रकम विदेशिएको छ ।
विश्वको व्यापार तथा राजनीतिक इतिहासमा खनिजका कारण ठूल्ठूला द्वन्द्व भएका छन् । सुडानमा भएको पेट्रोलियम पदार्थका कारण द्वन्द्व भइ विभाजित हुन पुग्यो । कंगोको गृहयुद्धमा कोल्टन र हिराजस्ता खनिजले भूमिका खेलेको थियो भने विभिन्न पृथकतावादी युद्ध पनि खानीकै कारण भएका छन् ।
सन् १९९८ मा अक्सफोर्डका प्राध्यापक पल कोली र एन्क होलरले प्राकृतिक स्रोतको सम्पन्नताले युद्धको खतरा निम्त्याउँछ भनेका छन् । जहाँ प्राकृतिक स्रोत छैन, त्यहाँ युद्ध हुने सम्भावना ०.५% मात्र हुन्छ, प्राकृतिक स्रोतबाट राष्ट्रिय कुल ग्रार्हस्थ उत्पादनमा २६% भन्दा बढी योगदान भएको देशमा २३% भन्दा बढी युद्ध हुने सम्भावना हुनेसमेत उनले भनेका छन् ।
अब विश्वमा अरु देश र त्यहाँको प्राकृतिक स्रोतमाथि हैकम र कब्जा गर्न पूर्णतः निषेध गरिएको छ । यस्तो अवस्थामा अमेरिकाको पुँजीपतिहरुको निर्देशनमा अमेरिकी सेनाको प्रत्यक्ष उपस्थिति तथा निगरानीमा विकासोन्मुख देशलाई आर्थिक सहगोग गर्ने बहानामा तयार भएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता भएको देशका सम्पूर्ण प्राकृतिक तथा वौद्धिक सम्पत्तिमा अमेरिकाको रजाइँ हुने प्रष्ट प्रावधान नै छ ।
नेपालमा सन् १९६७ मा नै त्रिविको स्नातक तहमा र सन् १९७६ देखि स्नाकोत्तर तहमा भूगर्भ शास्त्र विषयको अध्यापन थालनी भएपछि केही मात्रामा भए पनि अन्वेषण, उत्खनन, प्रशोधन तथा प्रयोगशालासम्बन्धी चासो बढ्यो । तर विस्तृतकृत पढाइ नहुँदा त्यहाँबाट उत्पादित जनशक्तिले भौगर्भिक नक्सांकनबाहेक अरु केही गर्न सकेका छैनन् ।
नेपालमा अझै खनिज अन्वेषण, उत्खनन, प्रशोधन तथा प्रयोगशालालाई आवश्यक पर्ने माईनिज ईन्जिनियरिङ, मेटालुर्जिकल ईन्जिनियरिङ, जियोफिजिक्स, जियो केमेस्ट्री, रिमोट सेन्सिङ जस्ता विषयको अध्यापन हुन सकेको छैन । सरकारले उद्योग र शैक्षिक संस्था एक अर्काको परिपूरक हुन् भन्ने कुरालाई आत्मसाथ गर्न सकेको छैन ।
विद्यालयस्तरका कक्षामा खनिज पदार्थको उपलब्धताबारे जानकारीमूलक अध्यापन गरे पनि कक्षा ११–१२ तथा विश्वविद्यालयको शिक्षामा खनिजसँग सम्बन्धित विशेषज्ञ तथा जनशक्ति उत्पादनलाई प्राथमिकता दिन सकेको छैन । र नेपालमा उपलब्ध खनिजको अध्यापन नभए पनि विदेशमा खनिज विषयको अध्ययनका लागि विशेष छात्रवृत्तिको व्यवस्था दिएर नेपालमा विस्तारै खनिजको विशेषज्ञ तयार गरिनुपर्छ ।
यसर्थ सरकारले एमसीसी सम्झौताको भरोसा नगरी विकल्प खोज्नु पर्छ । नेपालमा उपलब्ध खनिजको वैज्ञानिक तरिकाले भरपूर प्रयोग गरी सुखी नेपाली र समृद्ध राष्ट्र निर्माणका लागि खनिजसँग सम्बन्धित माईनिङ ईन्जिनियरिङ, मेटालुर्जिकल ईन्जिनियरिङ, जियोफिजिक्स, जियो केमेस्ट्री, रिमोट सेन्सिङ जस्ता विषयका ईन्जिनियर उत्पादन गर्नु पर्दछ ।
नयांपस्ता पुस्ताले यो परीस्थिती बुझेर अरूलाई बुझाउन भरपुर कोशिस गर्नोस् अबश्य चेतनाकै माध्यमबाट बुझाउन र बिकृति बिरूद्घ लडेर सुधारको बाटो पहील्याउन सकिन्छ।